मतदाता रिझाउँदै उम्मेदवार

उम्मेदवारहरु आफ्ना एजेन्डासहित गाउँकेन्द्रित भए पनि मतदाताहरु उनीहरुप्रति विश्वस्त छैनन्

कार्तिक ६, २०७९

विप्लव महर्जन

सल्यान — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका नेता–कार्यकर्ता र उम्मेदवार मतदाता रिझाउँदै गाउँ पसेका छन् । दलका नेता–कार्यकर्ता अहिले गाडी दुर्घटनामा ज्यान गुमाएका, पहिरोपीडितलगायत समस्यामा परेकाका परिवारलाई समवेदना दिन, किसानलाई बाली भित्र्याउन सहयोग गर्नलगायत काममा पनि सहभागी हुन थालेका छन् ।

उम्मेदवारहरू आफ्ना एजेन्डासहित गाउँ केन्द्रित हुन थालेका छन् । मतदाताहरू भने उनीहरूप्रति विश्वस्त छैनन् । निर्वाचनका बेला भोट माग्नु उम्मेदवारको अधिकार भए पनि किसानकै खेतमा पुगेर धान काट्ने, धान चुट्नेलगायत देखावटी काममा पनि लाग्न थालेको कालीमाटी गाउँपालिका–२ पुतलीबजारका हिमबहादुर खत्रीले बताए । ‘भोट माग्ने निहुँमा नेता–कार्यकर्ताले एजेन्डाअनुसार काम गर्ने हो, तर नेताले एक भोटका लागि विभिन्न बहाना गर्न थालेका छन्, उनीहरूले १/२ घण्टा काम गरेर के किसानको सबै दुःख हट्छ ?’ उनले भने, ‘बरु जनतालाई सधैं सुविधा हुने काम गर्न नेताहरू नाटक प्रतिबद्ध हुनुपर्‍यो ।’ 

त्रिवेणी गाउँपालिका–१ काभ्राका वीरबहादुर ओलीले प्रतिनिधि अहिले गाउँमा कुनै न कुनै दलका उम्मेदवारहरू आइरहेको बताए । उनका अनुसार उम्मेदवारहरू अहिले कार्यकर्ता भेटघाट, घरदैलो, जनताका गुनासा सुन्नेलगायत काममा व्यस्त हुन थालेका छन् । ‘नेताहरू गाउँ पस्न थालेपछि चुनाव नजिकिएको आभास हुन थालेको छ,’ उनले भने, ‘साना दलका र स्वतन्त्र उम्मेदवार भने अझै गाउँ पसेका छैनन्, अहिले गाउँमा चुनावकै विषयमा छलफल र भेटघाट हुन थालेका छन् ।’ 

जितेर गएका नेताहरूले आफ्ना एजेन्डा भुल्दा अहिले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको उनको भनाइ छ । उनले ठूला दलका नेताहरूले वर्षौंदेखि एउटै आश्वासन देखाएर जनतालाई चुनावैपिच्छे ढाँटिरहेको उनको आरोप छ । अहिले सार्वजनिक स्थलहरू, चौतारो, चिया पसललगायत ठाउँमा पनि चुनावकै विषयमा कुराकानी हुने बन्गाडकुपिण्डे नगरपालिका–८ का निमबहादुर खत्रीले बताए । ‘नेताहरू पनि चाडबाडको बहानामा गाउँ पस्न थालिसकेका छन्,’ उनले भने, ‘दैनिकजसो हुने कार्यकर्ता भेटघाट, परिचालन, पार्टीका भेला, प्रशिक्षणलगायत कार्यक्रमले पनि गाउँको राजनीतिक माहोल तताएको छ ।’ उनले उम्मेदवारसँग एक घर, एक रोजगारीको व्यवस्था गर्न माग गरिएको बताए । 

सल्यानमा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला र एमालेका राजेन्द्रवीर राय मुख्य प्रतिस्पर्धी छन् । राप्रपाबाट नेत्रलाल श्रेष्ठ चुनावमा होमिएका छन् । प्रदेशसभा १(१) मा गठबन्धनबाट माओवादीका भीमप्रकाश शर्मा र एमालेका गुलावजंग शाह तथा 

१(२) मा गठबन्धनबाट कांग्रेसका सुरेश अधिकारी र एमालेका कुलबहादुर गिरीबीच प्रतिस्पर्धा छ ।

आमनिर्वाचन २०७९

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully