संक्रमितको संख्या तनहुँमा १ हजार ४ सय ६६ पुगिसकेको छ, जसमध्ये सबैभन्दा धेरै आाबुखैरेनी गाउँपालिकामा १ हजार ७४ जना छन् । शुक्लागण्डकी नगरपालिकामा १ सय ६८, व्यास नगरपालिकामा १ सय १८, बन्दीपुर गाउँपालिकामा ७८, म्याग्दे गाउँपालिकामा ८, भानु नगरपालिकामा ८, भिमाद नगरपालिकामा ६, रिसिङ गाउँपालिकामा ३ र देवघाट गाउँपालिकामा ३ जनामा डेंगी संक्रमण पुष्टि
तनहुँ — तनहुँको आँबुखैरेनी बजार क्षेत्र डेंगी संक्रमणको ‘हटस्पट’ छ । गत जेठ ३१ मा पहिलो डेंगी संक्रमित भेटिएको आँबुखैरेनीमा अहिले दैनिकजसो कम्तीमा २०–३० जनामा संक्रमण देखिन थालेको हो । डेंगी संक्रमणकै कारण व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालमा बिहीबार मात्रै डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिएका सय जनाभन्दा बढीको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको अस्पतालका प्रमुख डा. डीबी क्षेत्रीले बताए । गत वर्ष तनहुँकै व्यास नगरपालिकामा डेंगी संक्रमण महामारीकै रूपमा देखिएको थियो । करिब ८ हजार जनामा संक्रमण पुष्टि र डेंगीकै कारण ५ जनाले ज्यान गुमाएका थिए । यस वर्ष भने आँबुखैरेनी–३ बजार क्षेत्रमा डेंगी महामारीकै रूपमा फैलिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, तनहुँको बिहीबारसम्मको तथ्यांकअनुसार जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ६६ पुगिसकेको छ, जसमध्ये सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा १ हजार ७४ जना छन् । शुक्लागण्डकी नगरपालिकामा १ सय ६८, व्यास नगरपालिकामा १ सय १८, बन्दीपुर गाउँपालिकामा ७८, म्याग्दे गाउँपालिकामा ८, भानु नगरपालिकामा ८, भिमाद नगरपालिकामा ६, रिसिङ गाउँपालिकामा ३ र देवघाट गाउँपालिकामा ३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
आँबुखैरेनी अस्पताल १५ शय्याको मात्रै रहेकाले संक्रमितको उपचार कठिन हुन थालेको अस्पताल प्रमुख क्षेत्रीले बताएका छन् । ‘१२ जना संक्रमितलाई वार्डमा राखेका छौं,’ उनले भने, ‘इमर्जेन्सीमा पनि उत्तिकै चाप छ । बेड नपाएर संक्रमितहरू भिजिटर बेडमा बसेर उपचार लिन बाध्य हुनुहुन्छ ।’ ६ शय्याको इमर्जेन्सी कक्ष अहिले १७ शय्याको बनाइएको पनि उनले बताए ।
एक जना प्रमुख कन्सल्टेन्ट र ३ जना मेडिकल अफिसरसहित ४० जना स्वास्थ्यकर्मी/कार्यालय सहयोगीले संक्रमितको उपचार गरिरहेका छन् । अस्पतालका १२ जना कर्मचारीलाई समेत डेंगी संक्रमण भएको डा. क्षेत्रीले बताए । ‘एक जना मेडिकल अफिसर, एक जना हेल्थ असिस्टेन्ट र एक नर्सिङ स्टाफ बिरामी बिदामा हुनुहुन्छ,’ उनले भने, ‘अरु निको भएर नियमित काममा फर्किसक्नुभएको छ ।’
यस्तै, प्लेटलेट्स कम हुँदै गएका बिरामीलाई चितवन, पोखरा, काठमाडौंलगायतका अस्पतालमा रेफर गरिएको उनले बताए । ‘हामीसँग रगत छुट्याउने मेसिन नभएकाले प्लेटलेट्स घटेका र आईसीयूसहितको उपचार आवश्यक पर्ने खाले १५ जना बिरामीलाई रेफर गरेका छौं,’ उनले भने । जिल्ला अस्पताल दमौली, शुक्लागण्डकीस्थित जीपी कोइराला अस्पतालमा समेत रगत बैंकको सुविधा नभएकाले प्लेटलेट्स कम भएका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे । दैनिक एक सय देखि १५० जनासम्म ओपीडी सेवा लिन आउने गरेको अस्पताल प्रशासनले बताएको छ ।
यस वर्ष देशभर डेंगी संक्रमितको संख्या झन्डै ५ हजार पुगेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७४ जिल्लामा डेंगी फैलिएको छ भने भदौ ३ सम्म ४ हजार ९७ संक्रमित पुष्टि भइसकेको छ । तनहुँमा र नवलपुरमा गरेर दुई जनाको डेंगी संक्रमणकै कारण मृत्यु भएको छ ।
ईडीसीडीको सोमबारसम्मको तथ्यांकअनुसार डेंगी संक्रमण देखिएको १० मुख्य जिल्लामध्ये सबैभन्दा बढी तनहुँमा ७ सय ८१ जना, काठमाडौंमा ३ सय ८०, कास्कीमा ३ सय ५१, पर्वतमा एक सय ७७ र चितवनमा १ सय ५७ जना संक्रमित छन् । झापामा १ सय ४९, गोरखामा ९९, मकवानपुरमा ९४, पाल्पामा ८५ र भोजपुरमा ८४ जना संक्रमित भइसकेका छन् ।
यस्तै, काभ्रेमा पनि डेंगी संक्रमित बढेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार, हालसम्म जिल्लामा ८० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिका, भुम्लु, रोशी र तेमाल गाउँपालिकामा डेंगी संक्रमित फेला परेका छन् । कार्यालयका अनुसार, हालसम्म जिल्लाको मण्डनदेउपुर नगरपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र चौंरीदेउराली गाउँपालिकामा डेंगी संक्रमित भेटिएका छैनन् ।
संक्रमितहरूको धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, मेथिनकोट अस्पताललगायतमा उपचार भइरहेको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत सृजना अधिकारीले जानकारी दिइन् । एक महिनायता धुलिखेल अस्पतालमा डेंगी संक्रमितको संख्या बढेको अस्पतालका संक्रामक रोग विभागका चिकित्सक डा. प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार बुधबार ४ संक्रमित भर्ना भएका छन् । बनेपास्थित शिर ममोरियल अस्पतालमा १ संक्रमित उपचाररत रहेको अस्पतालकी मेडिकल निर्देशक डा. एन्जिला बस्नेतले जानकारी दिइन् ।
पछिल्लो समय बागलुङ र पर्वतमा पनि डेंगी संक्रमित बढेका छन् । बागलुङमा ७० जना र पर्वतमा २ सय २६ संक्रमितको पहिचान भइसकेको छ । थप संक्रमित हुन नदिन प्रशासकदेखि विद्यार्थीसम्मलाई सचेतना दिँदै लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानमा लगाइएको छ ।
लुम्बिनीको रूपन्देहीमा डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या १ सय ६० पुगेको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका सूचना अधिकारी भेषराज शर्माले जानकारी दिए ।
डेंगी संक्रमण बढ्न थालेपछि देशभरकै स्थानीय तहले डेंगी संक्रमण फैलाउन सक्ने लामखुट्टे बस्ने सम्भावित ठाउँमा सरसफाइ र लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिएका छन् । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार वर्षात्का समयमा परेको पानी जम्न गई सोही स्थानबाट संक्रमण फैलाउने लामखुट्टेको विस्तार हुने भएकाले अहिले पालिकाभित्रका पानी जम्ने स्थानहरू सफा गरी औषधि छर्किने काम भइरहेको छ ।
ईडीसीडीका अनुसार पनि डेंगी नियन्त्रण गर्ने मुख्य हतियार भनेकै ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउने नै हो । यसका लागि संघीय सरकारले मात्रै नभएर प्रदेश तथा देशभरका स्थानीय निकायकै साथ आवश्यक हुन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोक प्रत्येक घरधुरी, टोल विकास समितिले यो अभियान चलाउनुपर्ने बताउँछन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठकमा खाल्डाखुल्डी पुर्न तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पनि भनिसकेको बताए । ‘सरकारी कार्यालयमा जमेका पानी सफा गर्न पनि सबै निकायलाई जानकारी गराइसकेका छौं,’ उनले भने ।
गत वर्षको पुस मसान्तसम्म देशभरमा गरेर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो । डेंगीका कारण गत वर्ष २० जनाको मृत्युसमेत भएको थियो । यसैलाई मध्यनजर गरेर ईडीसीडीले ‘डेंगी रोकथाम तथा नियन्त्रण कार्य योजना २०८१’ ल्याएको थियो । कार्ययोजनाअनुसार डेंगी बारे सचेतनाका लागि घरदैलो कार्यक्रम, चोक तथा रणनैतिक स्थानमा ब्यानर तथा पोस्टर प्रदर्शन तथा माइकिङ, भूमिगत पार्किङ स्थल, निर्माणधीन भवन, अव्यवस्थित ग्यारेज, कवाडी खानालगायत स्थानको सम्बन्धित निकायले निगरानी तथा नियमन गर्ने र खाल्डाखुल्डी, खानेपानी तथा ढल व्यवस्थापनका लागि सहरी विकास मन्त्रालय, सडक विभागलगायतलाई जिम्मेवारी बनाएको थियो ।
ईडीसीडीका निर्देशक डा.यदुचन्द्र घिमिरेले सम्बन्धित सबै निकायलाई कार्ययोजना कार्यान्वयन गर्न अनुरोध गरिसकिएको बताए । काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले डेंगीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । ‘सडकका खाल्डाखुल्डी पुर्न टेन्डर आह्वान गरेर सम्झौता भइसकेको छ,’ उनले भने, ‘झरी रोकिनेबित्तिकै काम थाल्छौं ।’
उनले संक्रमितलाई उपचारमा सहयोग गर्न र अन्यलाई सूचना दिन महानगरले कल सेन्टर पनि सञ्चालन गरेको उनले बताए । साथै, ललितपुर महानगरपालिका सूचना अधिकारी देवप्रसाद गुरागाईंले पनि डेंगीबारे सचेतना जगाउन घरघरमा पर्चा वितरण गर्ने तयारी भइरहेको बताए । ‘खाल्डाखुल्डी पुर्न २९ वडाका सचिवहरूलाई निर्देशन भइसकेको छ,’ उनले भने, ‘बजेट अभाव भएमा माग गर्न पनि भनिसकेका छौं ।’
डेंगी भाइरस एडिस जातको लामखुट्टेमार्फत फैलने गर्दछ । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने भएर टोक्ने गर्छ जसका कारण संक्रमण हुने सम्भावना बढ्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने डेंगीका प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट डेंगीबाहेक मलेरिया, औलो, चिकनगुनिया (डेंगीसँग मिल्दाजुल्दो) रोग पनि लाग्न सक्छ ।
(काठमाडौंबाट प्रशान्त माली, काभ्रेबाट ज्योति श्रेष्ठ, रूपन्देहीबाट सञ्जु पौडेल रबागलुङबाट प्रकाश बराल)
