सडक भासिएपछि एक महिनादेखि सवारीसाधन अवरुद्ध 

श्रावण २८, २०८१

माधव अर्याल

Traffic has been blocked for a month after the road was washed away

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–२ दोभानमा सडक भासिएपछि एक महिनादेखि सवारीसाधन अवरुद्ध भएको छ । दोभान–झ्याङला–हरियाली गाउँ जोड्ने सडकको जमुने र झ्याङला बीचको बन्चरे पहाडमा सडक भासिएपछि आधा दर्जन बढी बस्तीमा सवारीसाधन चल्न सकेको छैन । 

बन्चरे पहाडमा झण्डै ८० मिटर बढी सडक पहिरो गएर भासिएको स्थानीय शेरजंग थापाले बताए । उनका अनुसार एक महिनादेखि सवारीसाधन चल्न सकेको थिएन । ‘एक महिना अघिदेखि नै सडकमा सवारी साधन चल्न सकेको थिएन,’ उनले भने, ‘आइतबार दोभान खोला बढेपछि पहिरोको बेसको ढुंगा माटो बगाएपछि झन्डै १५ फिट तल भासिएको छ ।’ सडक भासिएपछि झ्याला, बगाहा, पाल्टाङ्गे, खुल्खुले, भुताहा, हरियालीगाउँ, हापुर, महापुर र हरियाली गाउँका बासिन्दालाई समस्या भएको थापाले बताए । 

स्थानीयका अनुसार पैदलसमेत हिँड्न मिल्ने अवस्था छैन । गाउँबाट झोलुङ्गेपुल तरेर खोलापारिको गाउँ गएर मात्र सानाठूला सवारीसाधनमा वडा तथा गाउँपालिका कार्यालय साथै बजारका लागि बुटवल जानुपर्ने बाध्यता रहेको थापाले बताए । ‘मान्छे हिँड्नसमेत भासिएको स्थानमा सिँढी लगाएर हिड्नुपर्छ,’ उनले भने, ‘सडक भासिएपछि पैदल हिँड्नसमेत समस्या भएको छ ।’ एक महिनाअघि पनि यहाँ सडक सामान्य भासिएपछि सवारीसाधन चल्न सकेका थिएनन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully