‘यो घर बिक्रीमा छ’
Highlights
- मोरङको बयरवनबाट ३५ वर्षअघि लुम्बिनी आइपुगेका छत्रबहादुर डेढ वर्षयता दैनिक भिक्षाटनमा बस्नुपरेको छ । लुम्बिनी विकास कोषमा करिब ३० वर्ष सुरक्षा गार्डका रूपमा काम गरेर सेवा निवृत्त भएका छत्रबहादुर किन भिक्षु भए ? भिक्षाटनमा बस्नुपर्ने उनको रहर हो कि नियति ? यो कुरा बुझ्न उनको पूरै जीवनको उकाली–ओरालीका कथा सुन्नुपर्छ ।
- छत्रले छोराको उपचारमा के मात्रै गरेनन् ! १५ लाखमा खरिद गरेको पिकअप गाडी ७ लाख रुपैयाँमा बिक्री गरे । दुवै मोटरसाइकल बिक्री गरे । ६ धुरमा निर्माण गरेको घर धितो राखेर एउटा वाणिज्य बैंकबाट ३३ लाख रुपैयाँ ऋण निकाले ।
लुम्बिनी — हरेक दिन बिहान ७ नबज्दै ६४ वर्षीय छत्रबहादुर कार्की पर्सा बजारस्थित घरबाट चीवर लगाएर पुरानो साइकलमा निस्कन्छन् । एकैछिनमा पार गरिसकिने तीन किलोमिटरको दूरी छिचोल्दा पनि एकाबिहानैदेखिको हपक्क गर्मीले असिनपसिन भइसक्छन् उनी । मायादेवी मन्दिर परिसरको एक छेउमा उनी अन्य दर्जनौं भिक्षुहरूको लहरमा मिसिन्छन् । हातमा भिक्षापात्र लिएर शान्तसँग बस्छन् । उनको यस्तो बसाइ १० बजेसम्मै चल्छ ।
मोरङको बयरवनबाट ३५ वर्षअघि लुम्बिनी आइपुगेका छत्रबहादुरको डेढ वर्षयताको दैनिकी यसरी नै सुरु हुन्छ । लुम्बिनी विकास कोषमा करिब ३० वर्ष सुरक्षा गार्डका रूपमा काम गरेर सेवा निवृत्त भएका छत्रबहादुर किन भिक्षु भए ? दैनिक भिक्षाटनमा बस्नुपर्ने उनको रहर हो कि नियति ? यो कुरा बुझ्न उनको पूरै जीवनको उकाली–ओरालीको कथा सुन्नुपर्छ ।
छत्रबहादुरलाई एकाध वर्ष अघिसम्म कहिल्यै लागेको थिएन, ठीकठाक चलिरहेको जीवनको गाडी यसरी बिग्रेला र भिक्षाटनका निम्ति बस्नुपर्ला भनेर । उनलाई लागेको थियो, उमेर छउन्जेल गरेको संघर्ष सम्झेर अब बुढेसकालमा शान्तसँग बस्न पाइएला । तर छत्रले सोचेजस्तो भएन । त्यसो त नसोचेकै धेरै कुरा छत्रको जीवनमा दोहोरिएर आइरहेका छन् ।
मोरङको बयरवनबाट विरक्तिएर लुम्बिनी आइपुग्दा छत्रले अगाडिको जीवन कसरी चल्छ भनेर केही सोचेका थिएनन् । साथीभाइसँग मिलेर सुरु गरेको खाद्यान्नको व्यापारको डुंगा अचानक डुबेपछि उनको थाप्लोमा १८ लाख ऋण आइपरेको थियो । अनि घरजग्गा बेचीवरी सारा ऋण चुक्ता गरेर श्रीमती, नाबालक छोरा र छोरीलाई झापाको दमकस्थित ससुरालीकहाँ छोडेर उनी शान्तिको खोजीमा लुम्बिनी हान्निएका थिए । छत्रले सुनाए, ‘त्यतिबेला कहाँ जान्छु, के गर्छु भन्ने केही थाहा थिएन ।’
लुम्बिनी आइपुग्दा छत्रको साथमा थियो, जम्मा ३ सय २४ रुपैयाँ । कहाँ जाने, कसरी बस्ने, के गर्ने उनीसँग अनुत्तरित प्रश्नहरूको चाङ मात्रै थियो ।
हिजोआज छत्रको दैनिकी जस्तै नाम पनि बदलिएको छ । उनी छत्रबाट भिक्षु भन्तेशोक भएका छन् । लुम्बिनी विकास कोषले मायादेवी मन्दिरको दक्षिण छेउमा भिक्षाटनका लागि ठाउँ छुट्याएको छ । जहाँ आसपास गाउँबाट आएका भन्तेहरू भिक्षाटनका लागि बस्छन् । यो ठाउँमा बिहान ७ देखि १० बजेसम्म र अपराह्न ३ देखि ६ बजेसम्म भिक्षाटनका लागि बस्न पाइन्छ ।
लुम्बिनी आएका श्रद्धालुहरू लहरै भिक्षाटनका लागि बसेका भिक्षुहरूलाई दान दिन्छन् । यस्तो दान भन्तेशोकको भिक्षापात्रमा पनि केही न केही त परिहाल्छ । शान्तपूर्वक आँखा चिम्लेर उनी घण्टौंसम्म ध्यान मुद्रामा बस्छन् ।
आफ्नो विगत र वर्तमानको सम्झना उनको मनमा ओहोरदोहोर गरिरहन्छ्न । बिहानको भिक्षाटनको समय सकिएपछि अरू भिक्षुहरू घरतिर लाग्छन् । तर उनी भने मायादेवी मन्दिरबाट उत्तरतर्फको शान्तिदीप छेवैमा रहेको विश्राम घरमा पुग्छन् । यही घरको पूर्वपट्टि बस्छन् । अनि प्लास्टिकको थैलोमा पोको पारेर ल्याएको रोटी र तरकारी खाएर भोक मेट्छन् ।
भोजनपछि उनी आराधना गर्छन्, त्रिपिटक पाठ गर्छन् । उनलाई शान्तपूर्वक बसिरहेको देखेका मनकारीहरूले दान दिए भने स्विकार्छन् । अपराह्न ३ बजे फेरि उनी बिहानकै ठाउँमा पुग्छन् । अनि लस्करै बसेका भिक्षुहरूको लस्करमा मिसिन्छन् ।
जिन्दगी सोचेको र सम्झेको यात्रामा मात्रै चल्दैन भनेर बुझ्न छत्रबहादुरको जीवन काफी छ । किनकि साढे तीन दशकअघि लुम्बिनी आइपुग्दा उनलाई लागेको थिएन, जीवन आजको घुम्तीमा आइपुग्छ भन्ने । आफूसँग भएको पुग नपुग साढे तीन सय रुपैयाँले उनले लुम्बिनीको पडरियामा मासिक ५० रुपैयाँ तिर्ने गरी एउटा घुम्ती भाडामा लिए । एक वर्षजति उनले त्यहाँ पान पसल गरे ।
पान पसल गर्दागर्दै उनको चिनजान भयो, नजिकैको मायादेवी मन्दिरका सुरक्षागार्ड गजबहादुर गुरुङसँग । गजबहादुर त्यतिबेला सुरक्षा गार्डको प्रमुख थिए । यिनै गजले उनलाई सुरक्षा गार्डमा भर्ती गराइदिए । यसरी पान पसले छत्रबहादुर लुम्बिनी विकास कोषअन्तर्गतको सुरक्षा गार्ड भए । छत्रले उतिबेलाको सम्झनाको पोको फुकाउँदै सुनाए, ‘सुरुका ६ महिना पारिश्रमिकका रूपमा प्रतिदिन ५ किलो गहुँ, डेढ सय ग्राम मसुरोको दाल, डेढ सय ग्राम सोयाबिनको तेल र नगद ५ रुपैयाँ मिल्थ्यो ।’
जागिरे जीवनका सुरुवाती संघर्षहरू छत्रबहादुरको सम्झनामा नमेटिने गरी बसेका छन् । त्यसैले त उनले सुनाए, ‘२०४६ साउन ४ गते सुरक्षा गार्डमा अस्थायी नियुक्ति पाए । पाँच वर्ष काम गरेपछि २०५१ साउन १ मा स्थायी नियुक्ति भए ।’ सुरक्षा गार्डको जागिरपछि छत्रबहादुरलाई खासै पछाडि फर्केर हेर्न परेन । उनले यही बीचमा ससुरालीमा छोडेका छोरा, छोरी र श्रीमतीलाई आफूसँगै ल्याए । जीवनको सबै गति ठीकठाकसँग चलेको थियो ।
छोरीको बिहे गरीवरी जिम्मेवारी पूरा गरिसकेका थिए । हुर्किसकेको छोरा गोपालले पनि आफ्नै तरकारी व्यवसायको काम राम्रैसँग सुरु गरेको थियो । बुटवलबाट तरकारी ल्याएर लुम्बिनी आसपास र कपिलवस्तुसम्म पुर्याएर बेच्ने काम गरिरहेको छोराका लागि छत्रले १५ लाख रुपैयाँ खर्च गरेर पिकअप गाडी किनिदिएका थिए । अनि छोरा र नातिलाई ओहोरदोहोर सहज होस् भनेर दुई वटा मोटरसाइकल किनिदिएका थिए । छत्रले संघर्षका पुराना कथा पनि करिब–करिब बिर्सिसकेका थिए ।
उमेर ढल्किँदै गरेकाले होला, छत्रलाई श्वासप्रश्वाससम्बन्धी समस्या भने सुरु भएको थियो । तर, यस्तो समस्याले उतिसारो चापिसकेको भने थिएन । उनले सुनाए, ‘एक दिन छोराले बुबा बूढो हुनुभयो, अब छाड्नुस् भनेपछि मैले छोराको सल्लाह मानेर राजीनामा दिएँ ।’ लुम्बिनी विकास कोषमा करिब ३० वर्ष सेवा गरेर २०७६ असोजमा राजीनामा दिँदा उनको मासिक तलब रासनसहित २३ हजार रुपैयाँ पुगेको थियो ।
बुढेसकालको जिन्दगी शान्तपूर्वक बिताउँछु, छोरा–नातिसँग रमाएर बस्छु भन्ने सोच थियो छत्रको । तर, सोचेजस्तो कहाँ हुँदो रहेछ र ? एक दिन छोरा गोपाल बिरामी पर्यो । घाँटी र कम्मर दुख्ने बिराम प्रत्येक दिन बल्झिँदै बल्झिँदै गयो । समय क्रममा अवस्था यस्तो आयो कि, छोरा हल न चलका भए । उनले सुनाए, ‘२०७९ फागुनबाट त छोरा थला नै पर्यो ।’
छोरा बिरामी परिहाल्दा पनि छत्र उति आत्तिएका थिएनन् । केही बचत उनीसँग थियो । उपचार गरेर छोरा निको भइहाल्छ अनि फेरि व्यवसायको काम थालिहाल्छ भन्ने उनको विश्वास थियो । तर, उनले सोचेजस्तो भएन । चिकित्सकहरूले छोरालाई मेरुदण्डको नसा च्यापिएपछि समस्या सुरु भएको बताए । उनी छोराको उपचारका निम्ति कहाँ–कहाँ धाएनन् । भारतको गोरखपुरस्थित अस्पतालदेखि काठमाडौंका गिनेचुनेका सबै अस्पतालमा उनी बिरामी छोरा बोकेर तारन्तार धाए । महिनौंसम्मको अस्पतालको दौडधुप र खर्चपछि उनको बचत मात्रै सकिएन, उनी कर्जा काढेर छोराको उपचार गर्नुपर्ने अवस्थामा पुगे ।
यो बीचमा छत्रले छोराको उपचारमा के मात्रै गरेनन् । १५ लाखमा खरिद गरेको पिकअप गाडी ७ लाख रुपैयाँमा बिक्री गरे । दुवै मोटरसाइकल बिक्री गरे । ६ धुरमा निर्माण गरेको घर धितो राखेर एउटा वाणिज्य बैंकबाट ३३ लाख रुपैयाँ ऋण निकाले ।
छोरा बिरामी परेको आठौं महिनामा उनले काठमाडौंको एक निजी अस्पतालमा छोराको शल्यक्रिया गरेका थिए । चिकित्सकहरूले केही समयपछि फलोअपका लागि बोलाएका थिए । तर, अवस्था यस्तो भयो कि, उनी पैसाकै अभावमा फलोअपमा समेत जान सकेनन् । ४२ वर्षीय छोरा गोपालले पछिल्लो समय बुटवलको एक अस्पतालमा तीन महिना थेरापी गरे पनि थप थेरापीको काम पैसाकै अभावमा गर्न नसकेको बताए ।
हिजोआज गोपालको स्वास्थ्य झनै बिग्रेको छ । उनी ओछ्यानबाट आफैं उठ्न पनि नसक्ने अवस्थामा पुगेका छन् । शरीर पोलिराख्ने, खुट्टा काँपिराख्ने र जीउ काँप्दा खाटै हल्लिने समस्या भएपछि उनलाई बेलाबखत त परिवारले बाँधेर नै राख्ने गरेका छन् ।
हिजोआज छत्र बढ्दो बैंकको ब्याज र बिग्रँदो छोराको स्वास्थ्य अनि आफ्नो ढल्किँदो उमेर सम्झेर आत्तिन्छन् । उनले सुरुमा प्रतिमहिना ३३ हजार रुपैयाँ रहेको बैंकको किस्ता अहिले बढेर ४२ हजार पुगेको सुनाए । बैंकको बढ्दो ब्याज र चुलिँदो कर्जाबाट आत्तिएपछि छत्रले एक दिन घरसल्लाह गरे, घरजग्गा बेच्ने ।
अहिले उनले घरको भित्तामा एउटा सूचना टाँसेका छन् । जसमा लेखिएको छ, घरजग्गा बिक्रीमा छ । सबैतिर आर्थिक मन्दी छाएकाले पनि घरजग्गा भन्नेबित्तिकै बिक्री नभएको चिन्ताले पनि छत्रलाई झन्–झन् सताउन थालेको छ ।
मायादेवीको मन्दिरछेउ भिक्षापात्र राखेर बसिरहेका बेला छत्र पुराना दिनहरू अनायासै सम्झिन्छन् । सुरक्षा गार्डको काम सुरु गरेपछि पनि छत्र त्यतिमै चुप लागेर बसेका थिएनन् । फुर्सदको समयमा उनी कृषि उद्यममा खटिएका थिए । भारतबाट जर्सी गाई र मुर्रा जातका भैंसी भित्र्याएर पालेनन् कि, माछा पालन गरेनन् कि, कुखुरा र बाख्रा पालन गरेनन् ।
आम्दानीका अनेकन बाटो खोज्ने काम उनले सधै गरिराखे । हिजोआज एउटा मात्रै गाई भएको गोठ देख्दा छत्र एक समय गोठमा ४५ माउ जर्सी गाई र १० माउ मुर्रा भैंसी भएको समय सम्झिन्छन् । अनि थकथकाउँछन् ।
छत्रले जीवन भनेकै कर्मका भरमा चल्ने हो भन्ने मन्त्रलाई सधैं आत्मसात् गरिराखेका थिए । त्यही भएर त सुरक्षा गार्डको काम, पशुपालनका अलावा उनी कृषि उत्पादनमा पनि लागिपरेका थिए । भैरहवा–लुम्बिनी सडकको पारीपट्टि एक जना काठमाडौंका व्यक्तिको डेढ बिघा खेत कमाएर खाइरहेका छन् । छत्रले सुनाए, ‘त्यही खेतमा उब्जनी गरेर परिवारले खाद्यान्न जुटाइरहेको छ । अन्न किन्नुपरेको छैन ।’
छोराको बिग्रँदो स्वास्थ्यको चिन्तामाथि छत्रलाई बैंकको बढ्दो ब्याजको चिन्ता पनि थपिएको छ । उनलाई भनेकै समयमा घरजग्गा बेचेर कर्जा तिर्न नसकिए बैंकले घर नै लिलाम गरिदिन्छ कि भन्ने चिन्ता छ । ‘बैंकले घर लिलाम गरेका दिन परिवार लिएर रूखमुनि जानुको विकल्प छैन,’ उनले मधुरो स्वरमा सुनाए, ‘मोरङबाट बालबच्चा बोकेर यहाँ आएँ, अहिले फेरि त्यसरी सडकमा जाने अवस्था बन्यो ।’ उनले मधुरो स्वरमा सुनाए ।’
प्रकाशित : श्रावण १९, २०८१ ०९:१९