अमेरिकी ट्रायलअनुसार अस्ट्राजेनेकाको खोप ७४ प्रतिशत प्रभावकारी- स्वास्थ्य - कान्तिपुर समाचार

अमेरिकी ट्रायलअनुसार अस्ट्राजेनेकाको खोप ७४ प्रतिशत प्रभावकारी

६५ वर्षमाथिको जनसंख्यमा खोपको प्रभावकारिता ८३.५ प्रतिशत
रोयटर्स

अमेरिका — अस्ट्राजेनेकाको कोभिड -१९ खोप लक्षणसहित रोगको रोकथाममा ७४ प्रतिशत प्रभावकारी रहेको अमेरिकी अध्ययनमा देखिएको छ । यस्तै ६५ वर्षभन्दा माथिका व्यक्तिमा भने यसको प्रभावकारिता बढेर ८३.५ प्रतिशत पुगेको कम्पनीले बुधबार प्रकाशित अमेरिकी क्लिनिकल ट्रायलको नतिजामा जनाइएको छ ।

बेलायती औषधि निर्माता कम्पनीले प्रारम्भिक रुपमा खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको दाबी गरे पनि २६ हजार बढी स्वयंसेवकहरुको संलग्नतामा गरिएको ट्रायलमा भने समग्र प्रभावकारिता ७४ प्रतिशतमात्रै देखिएको हो । हाल गरिएको अध्ययनमा भने संयुक्त राज्य अमेरिका, चिली र पेरूका २६ हजार बढी व्यक्तिको सहभागिता रहेको थियो । जसले एक महिनाको अन्तरालमा दुई डोज खोप प्राप्त गरेका थिए । यो ट्रायलको रिपोर्ट न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित गरिएको छ ।

खोप लगाएका १७ हजार ६०० सहभागिमा कोभिड-१९ को गम्भीर प्रकारको कुनै लक्षण देखिएन तर प्लेसाबो प्राप्त गरेका ८ हजार ५ सयमध्ये ८ जनामा गम्भीर लक्षण देखिएको थियो । खोप प्राप्त गरेका कसैको पनि मृत्यु नभए पनि प्लेसाबो पाएका समूहका दुई जनाको निधन भएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयको खोप अनुसन्धानकर्ता तथा अध्येता डा. अन्ना डर्बिनले खोपको प्रभावकारिताबाट आफू आश्चर्यमा परेको प्रतिक्रिया दिइन् । 'खोपले गम्भीर रोग र अस्पताल भर्नाविरुद्ध धेरै सुरक्षा दिएको देखियो,' उनले भनिन् ।

अध्ययनको क्रममा थ्रोम्बोसाइटोपेनियाको साथ थ्रोम्बोसिस भनिने दुर्लभ तर गम्भीर प्रकारको रगत जम्ने साइडइफेक्टका कुनै केस पनि नभेटिएको बताइएको छ ।

कम्पनीले हाल बुस्टर डोजका लागि अनुसन्धान गरिरहेको छ । बुस्टर डोज पहिले नै यो खोपको दुई डोज लगाएका वा फाइजरका साथै मोडर्नाको खोप लगाएकाहरुलाई समेत दिन मिल्ने गरी उत्पादन गर्न अनुसन्धान भइरहेको छ ।

प्रकाशित : आश्विन १४, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

सुनकोसी २ का विरुद्ध माझी समुदायको प्रदर्शन

टीकाप्रसाद भट्ट

रामेछाप — जलाशययुक्त सुनकोसी–२ जलविद्युत् आयोजना खारेजीको माग गर्दै बिहीबार रामेछापका माझी समुदायले सदरमुकाम मन्थलीमा प्रदर्शन गरेका छन् । माझी उत्थान संघको आयोजनामा भएको विरोध कार्यक्रममा जिल्लाका विभिन्न गाउँका माझी समुदायको सहभागिता थियो । उनीहरुले जातीय पहिचान संकटमा पर्ने भन्दै सुनकोसी–२ आयोजना निर्माण गर्न नहुने जिकिर गरेका थिए ।

सुनकोसीमा बाँध बाँधेर आयोजना निर्माण गर्दा नदीको प्राकृतिक जीवनमा असर पर्ने, नदीको सभ्यतासँग जोडिएका आदिवासी माझीको संस्कृति, पहिचान र बस्ती नै विलय हुने उनीहरुको भनाइ छ । आयोजना निर्माण हुन नदिन माझी र अन्य समुदायका गरी ६ हजार जनाको दस्तखतसमेत बुझाइएको छ । माझी समुदायलाई नै समाप्त पार्ने, घरजग्गा, जमिन र आयआर्जनबाट विस्थापित गराउने यो आयोजना खारेजीको एक मात्र माग रहेको वाग्मती प्रदेशसभाकी सांसद् रीता माझीले बताइन् । ‘हाम्रो धर्म, संस्कृति र जातीय पहिचान नदीसँग जोडिएकोले त्यसलाई सरकारले अर्बौंमा पनि खरिद गर्न सक्दैन,’ माझीले भनिन्, ‘त्यसैले यो आयोजनाले जति नै पैसा दिए पनि हामी निर्माण गर्न नदिने अडानमा छौं ।’

मादल बजाउँदै डुंगा, माछा अंकित ब्यानरसहित सेतो फेटामा प्रदर्शनमा उत्रिएका माझीहरुले मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि बस्नेतले माझी समुदाय र सदरमुकामकै भविष्य अन्योल बनाउने उक्त आयोजनाका विषयमा स्थानीय सरकार गम्भीर रहेको बताए ।

विद्युत् विकास विभागले सिन्धुली र रामेछापको सीमा भएर बग्ने सुनकोसी नदीमा उच्च बाँध निर्माण गरी ९ सय ७८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजना निर्माण गर्न लागेको छ । उच्च बाँध निर्माण गर्दा रामेछाप, सिन्धुली र काभ्रेको ४ हजार ५ सय हेक्टर जमिन डुबानमा पर्नेछ । यसअघि पनि उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनका विषयमा छलफल गर्न आयोजित कार्यक्रम माझी समुदायको विरोधका कारण प्रभावित भएको थियो ।

रामेछापको हर्दिनी, टार, भोटटार, नबुघाट, सेलेघाट, कुनाउरी, हात्तीटार, मसान्टार, रजगाउँ, मन्थली, गाईखुरा, जखनिटार, पन्थली, जुजार, हलेदेलगायतका स्थान सुनकोसी–२ आयोजना निर्माणको क्रममा डुबानमा पर्नेछन् । बीपी राजमार्ग, रामेछाप विमानस्थललगायतका संरचना पनि डुब्ने आयोजनाको प्रस्तावमै उल्लेख छ ।

प्रकाशित : आश्विन १४, २०७८ १६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×