१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मापदण्ड पूरा गरेर आइतबारदेखि काठमाडौं महानगरमा कक्षा सञ्चालन गर्न सकिने

पहिलो चरणमा माथिल्लो कक्षा मात्र सञ्चालन गर्न सकिने

काठमाडौँ — काठमाडौं महानगपालिकाको नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने जनाएको छ । बुधबार साँझ महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।

मापदण्ड पूरा गरेर आइतबारदेखि काठमाडौं महानगरमा कक्षा सञ्चालन गर्न सकिने

कक्षा सञ्चालन गर्नु अघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाएपछि मात्र विद्यालय सञ्चालन गर्न सकिने महानगरले जनाएको छ । ‘सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्छ । अनुगमन आए पालना गरौँला, नत्र आफ्नो अनुकूल हेरौंला भन्ने सोच राख्नु हुन्न,’ उनले भने, ‘विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोभिड १९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्छ । यदि कसैले लगाउन पाउनु भएको छैन भने हामी खोप उपलब्ध गराउँछौँ ।’

विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्ने महानगरले जनाएको छ । विभागका प्रमुख रामप्रसाद सुवेदीले असोज १० गतेदेखि माथिल्लो अर्थात कक्षा ८ देखि माथिका कक्षा मात्र सञ्चालन गर्न सकिने बताए ।

‘तीन दिनमा विद्यालयले कक्षा सञ्चालन गर्ने/नगर्ने भन्ने निर्णय गर्छ,’ उनले भने, ‘खोलिएका विद्यालयमा विभागले आइतबारदेखि अनुगमन गर्नेछ ।’ स्वास्थ्य मापदण्ड पालना गरेको अवस्था हेरेर अन्य कक्षाहरु क्रमशः खोल्दै जान सकिने उनले जानकारी दिए ।

विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्ने उनले बताए । ‘यसमा भौतिक दूरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामूहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजानेजस्ता विषयलाई मापदण्डमा कार्यान्वयन योजना हुनुपर्नेछ,’ उनले भने ।

प्रकाशित : आश्विन ७, २०७८ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?