सचिवालयले कात्तिक मसान्तभित्र सबै सदस्यलाई व्यक्तिगत विवरण र आवश्यक कागजात बुझाउन खबरदारी गर्दै ढिलाइ गर्दा समस्या आउने जनाएको छ।
कास्की — भदौ २३ र २४ को जेन–जी आन्दोलन र प्रदर्शनको क्रममा सबै कागजात जलेपछि गण्डकी प्रदेश सभा सचिवालयले सांसदसँग पुनः व्यक्तिगत विवरण माग गरेको छ।
कात्तिक मसान्तभित्र गण्डकी प्रदेश सभा नियमावली, २०८० को अनुसूची ६ अनुसारको ढाँचामा व्यक्तिगत विवरण फारम भरेर बुझाउन सचिवालयले मंगलबार सूचनामार्फत अनुरोध गरेको हो।
उक्त फारमबाहेक नेपाली नागरिकताको प्रतिलिपि, निर्वाचन आयोगले दिएको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो पनि बुझाउन भनिएको छ।
गण्डकी प्रदेश सभा ६० सदस्यीय छ। त्यसमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्।
मनाङ ‘ख’ बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा दोषी ठहर भएर कारागार चलान भएपछि उक्त स्थान ११ महिनादेखि रिक्त छ।
