कास्की — राइड सेयरिङलाई मान्यता दिन गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले जेठ १६ शुक्रबारदेखि प्रदेशभित्र सवारी नचलाउने घोषणा गरेका छन् ।
यातायात व्यवसायी र मजदुर संलग्न सार्वजनिक यातायात बचाउ संघर्ष समिति २०८२ ले पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर ३ बुँदे माग पूरा नभए गाडी घर-ग्यारेजमै थन्क्याउने घोषणा गरेको हो । नियमावली पूर्ण रूपमा खारेज हुनुपर्ने, सार्वजनिक सवारी संचालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने उनीहरूको माग छ ।
गण्डकीमा जेठ १६ देखि र केन्द्रीय कार्यक्रमअनुसार जेठ १९ देखि देशभर यातायात सेवा ठप्प पार्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदारप्रसाद पौडेलले बताए । गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । त्यसपछि यातायात व्यवसायीले नियमावली खारेज गर्न सरकारलाई ज्ञापन पत्र बुझाउँदै जेठ ८ मा एक हप्ताको अल्टिमेटम दिएका थिए ।
एक हप्ताभित्र माग पूरा नभए जेठ १५ देखि सेवा ठप्प पार्ने घोषणा गरेका थिए । बिहीबार गणतन्त्र दिवस परेकाले शुक्रबारदेखि यातायात सेवा अनिश्चितकालीन बन्द सुरू गरिने संयोजक पौडेलले बताए ।
