काठमाडौँ — गण्डकी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरीका सार्वजनिक यातायात चलाएका छैनन् । सार्वजनिक सवारी साधान नचल्दा एकातिर यात्रुहरुले सास्ती भोग्नु परेको छ भने अर्कोतिर अरुबेला अस्तव्यस्त हुने सडकहरु खुला खुला देखिएका छन् ।
काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सर्वजनिक सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकमा साझा यातायात, निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु मात्र चलेको देखिन्छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार सार्वजनिक बस, माइक्रो बस र टेम्पो चलेका छैनन् । घोषित कार्यक्रम अनुसार नै व्यवसायीले कालो नम्बर प्लेटका सवारी साधन नचाएपछि सधैं व्यस्त हुने काठमाडौंका सडक बिहानैदेखि सुनसान देखिन्छन् । ‘अप्रिय घटनाहरु नहोस् भनेर हामीले ७ सय बढी ट्राफिक प्रहरी काठमाडौंको सडकमा खटिएका छन् । बन्दकर्ताहरु सडकमा देखिएका भने छैनन्,’ गिरीले भने,‘कुनै पनि भाडाका सार्वजनीक सवारी साधनहरु सडकमा देखिएको छैनन् ।’ यद्यपि काठमाडौंका बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतीक्षा गरिरहेको देखिन्छ । कोही पठाओ, इन्ड्राइभ लगायतका राइड सेयरिङमा र कोही हिँडेरै गन्तव्यमा गइरहेका छन् ।
![When public transport does not run [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sadak-sunsan-21-0262025065807-1000x0.jpg&w=1001&h=0)
![When public transport does not run [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sadak-sunsan-22-0262025065814-1000x0.jpg&w=1001&h=0)