सार्वजनिक सवारी बन्दको असर : बढी मारमा बिरामी, ट्याक्सीमा मनपरी भाडा

जेष्ठ १९, २०८२

आरती पौडेल

Impact of public transport shutdown: more deaths, sick people, arbitrary fares in taxis

काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर चल्ने छोटा, मध्यम र लामा दुरीका सवारीसाधन ठप्प पारेपछि त्यसको सोझो मार सर्वसाधारणलाई परेको छ । अस्पताल हिँडेका, विद्यार्थी र ज्यालामजदुरी गरेर छाक टार्नेहरु बन्दको बढी मारमा परेका छन् ।

मुटुसम्बन्धी समस्या देखिएर तीन दिनअघि चितवनबाट काठमाडौं आएका ७५ वर्षिय हिरलाल कँडेल महाराजगन्जस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहेका छन् । बागबजारको एक होटलमा बसेका उनी हिजोअस्ति सार्वजनिक सवारी चढेर अस्पताल आउनेजाने गरिरहेका थिए । तर आज बिहान उनलाई अस्पताल जान कम्ता आपत परेन ।

एकैछिन त उनले ट्याक्सी पनि भेटेनन् । धेरैबेर पर्खेपछि ट्याक्सी त भेटे तर भाडा अचाक्ली महँगो । ‘असाध्यै चर्को भाडा तिर्न बाध्य भएँ । यो चर्को घाममा अर्को दुःख आइलाग्यो,' उनले गुनासो गरे । महँगो भाडा तिरेर अस्पताल पुगेका उनी जाँचपछि कसरी होटलसम्म फर्किने भन्ने चिन्तामा अस्पताल प्रांगणमा यताउति गरिरहेका थिए ।

कँडेलकै जस्तो समस्या थियो, सिरहबाट मुटुरोगको उपचार गर्न रात्रिकालीन बस चढेर आज बिहान झिसमिसेमै बसपार्क ओर्लेकी कविता यादवको । हिजो साँझ गाडी चढ्ने बेलासम्म कवितालाई आज देशभर सार्वजनिक सवारी बन्द छ भन्ने थाहा थिएन ।

बसपार्क झरेपछि अस्पतालसम्म जान गाडी नपाउँदा एकैछिन त उनी अत्तालिइन् । पहिलोपटक काठमाडौं आएको बताउने कविताले भनिन्, ‘बन्द भन्ने थाहा पाएकाे भए त काठमाडौं नै आउने थिइनँ ।’

धेरैबेर कुर्दा पनि गाडी नभेटेपछि उनले ट्याक्सी खोजिन् । तर ट्याक्सीले असाध्यै चर्को भाडा लियो । १३ सय रुपैयाँ तिरेर काठमाडौं आएकी उनी बसपार्कबाट अस्पताल जाँदा नै ७ सय रुपैयाँ ट्याक्सी भाडा तिर्न बाध्य भइन् । कान्तिपुरसँग कुरा गर्दै उनले भनिन्, ‘भोलिपर्सि पनि यस्तै रहृयो भने त पैसाजति भाडा तिर्दैमा सकिन्छ होला ।’

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलित बनेका छन् । गण्डकी प्रदेशमा त चार दिनदेखि सार्वजनिक यातायात ठप्प छन् ।

यातायात व्यवसायीहरु सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिएपछि सरकारले उनीहरुकाे समस्या समाधान गर्न पूर्वाधार निर्माण तथा यातायात महाशाखाका सहसचिव इन्जिनियर कृष्णराज पन्थको नेतृत्वमा १० सदस्यीय वार्ता समिति गठन गरेको छ ।

सरकार र यातायात व्यवसायीबीच साेमबार बिहान वार्ता भएको थियो । जसमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारका अनुसार वार्ता कमिटीमा सरकारका तर्फबाट ७ र यातायात व्यवसायीका तर्फबाट ४ जना सहभागी थिए । दोस्रो चरणको थप वार्ता पनि केहीबेरमा बस्नेछ ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully