माओवादीका दुई जना घाइते
गोरखा — अजिरकोट गाउँपालिका–१ घ्याच्चोकमा बुधबार राति कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ता घाइते भएका छन् । कुटपिटबाट ३४ वर्षीय बेलबहादुर गुरुङ र ३० वर्षीय विष्णु भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो सर्वदलीय बैठकका बेलादेखि नै दुई पक्षबीच विवाद भएको र राति भनाभनपछि कुटपिट भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
बिना कारण आफ्ना कार्यकर्तामाथि कुटपिट भएको भन्दै नेकपा माओवादी केन्द्रका अजिरकोट गाउँपालिका अध्यक्ष सनिल परियारले दाबी गरे । ‘उम्मेदवार सहितको हाम्रो टिम खाना बनाएर खान लाग्दा कुटपिट भएछ, एक्कासि कुटपिट भएको हो,’ उनले भने ।
कांग्रेसले भने बुधबार दिउँसै देखि नै माओवादी कार्यकर्ताले आतंकित बनाउने काम गरेको बताएको छ । ‘दिउँसोदेखि घरमा ढुङ्गा हान्ने, आतंकित बनाउने काम गरे,’ कांग्रेसको तर्फबाट अजिरकोट गाउँपालिका अध्यक्षका उम्मेदवार गोविन्द गुरुङले भने, ‘राति पनि सोही क्रम दोहोरियो हाम्रा दुईतीन जना कार्यकर्ता पनि घाइते छन् ।’
