म्याग्दी — वर्षापछि आएको पहिरोले सडक बगाउँदा सदरमुकाम बेनीबजार यातायातबाट विच्छेद भएको छ । जिल्ला प्रहरीका अनुसार संघ तथा प्रदेश राजधानीसमेत सहर जोड्ने बेनी–पोखरा सडक सीमावर्ती पर्वतको जलजला गाउँपालिका–४ वारीवेनीमा आएको पहिरोले यातायात अवरुद्ध छ ।
त्यसैगरी सदरमुकाम बेनीबाट मुस्ताङसमेत उत्तरी भेगका रघुगंगा र अन्नपूर्ण गाउँपालिका जोड्ने बेनी–जोमसोम सडकमा दर्जन बढी पहिरोले छियाछिया हुँदा यातायात अवरुद्ध छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा मात्र जलेश्वर, सेतीपहिरो, गलेश्वर, तिल्केनी, बैसरी, बेगखोला, गुइँठे, रुप्से खोला, काप्रे र बाँदरजुङ भीरमा समेत ९ स्थानमा पहिरोले सडक भासिएपछि यातायात मात्र होइन, पैदल मार्गसमेत अवरुद्ध भएको छ ।
बेनी–गलेश्वर ३ किमि खण्डमा मात्र ३ स्थानमा पहिरोले सडक भत्काएको छ । पैदल यात्रु गलेश्वरबाट झोलुंगे तरेर पर्वत जलजलाको बगरफाँट हुँदै बेनी कालीपुलबाट झोलुंगे पुलबाट सदरमुकाम आउने गरेका छन् । त्यसैगरी पश्चिम मंगला, मालिका र धवलागिरि गापा जोड्ने बेनी–दरवाङ–मुना सडकमा पनि आधा दर्जन पहिरोले यातायात पूर्ण अवरुद्ध भएको छ । बेनी–दरवाङ सडकको बेनी–४ फापरखेत पहिरो र मालिका–६ बाङ्गेपहिरोमा ठूलो पहिरो गएको छ । प्रहरीका अनुसार बेनी–रत्नेचौर–बागलुङ सडकको खवरा, रानीवन क्षेत्रमा पहिरोले यातायात अवरुद्ध छ ।
बेनीबाट अर्थुङ्गे–पुलाचौर र पाखापानी जाने सडक पनि पहिरोले अवरुद्ध छ । ‘सदरमुकाम बेनी पूर्ण रूपमा सडक यातायातबाट विच्छेद भएको छ ।बेनीमै पनि बाढी र पहिरोले वितण्डा मच्चाएको छ,’ प्रहरी नायब उपरीक्षक श्याम राईले भने, ‘बाढीपहिरोले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।’ यसैबीच बाढीपहिरोले घरमा क्षति पुर्याउँदा मंगला–५ छिस्वाङका ६ र मालिकाको दुखुमा ३ घरपरिवारका ११ महिलासमेत २६ जना विस्थापित भएका छन् ।
