आईसीयू नहुँदा ज्यान गुमाउँदै कोरोना संक्रमित

अधिकांश बिरामीको अस्पताल खोज्दाखोज्दै मृत्यु, भेन्टिलेटर नहुँदा समस्या उस्तै

जेष्ठ २, २०७८

आश गुरुङ

लमजुङ — एक साताअघि मर्स्याङ्दी गाउँपालिका–६ का ६५ वर्षीय कोरोना संक्रमितको उपचारका लागि बेंसीसहरबाट पोखरा लाने क्रममा तनहुँको दमौलीमा मृत्यु भयो ।

कोरोना संक्रमणपछि आईसीयूमा राखेर उपचार गराउनुपर्ने भएकाले जिल्ला अस्पतालले रेफर गर्‍यो । आफन्तले उपचारका लागि चितवन लगेकोमा बेड नपाएपछि फर्काइयो । भेन्टिलेटरसहितको आईसीयू बेड पोखराको चरक अस्पतालमा फेला परेपछि लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो । जिल्ला अस्पताल लमजुङका अस्पताल प्रशासक हेमन्त श्रेष्ठका अनुसार आईसीयूमा राख्नुपर्ने बिरामी यता र उता भयो । 

चैत दोस्रो साता मर्स्याङ्दी गाउँपालिका–१ कै कोरोना संक्रमित एक पुरुषलाई आफन्तले उपचारका लागि अस्पताल ल्याए । आईसीयूमा राख्नुपर्ने बिरामी भएपछि उनलाई पोखरा लगियो । पोखराबाट थप उपचारका लागि काठमाडौं पुर्‍याइयो । उनको त्यहीं निधन भयो । वडाध्यक्ष रुद्रमान गुरुङका अनुसार आईसीयू भएको भए बिरामीलाई डुलाएर हिँड्नुपर्ने थिएन । ‘घरबाट बेंसीसहर, बेंसीसहरबाट पोखरा, पोखराबाट काठमाडौं गर्दागर्दै बित्नुभो’ उनले भने ।

राइनास नगरपालिका–७ का ४० वर्षीया एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा वैशाख १७ मा काठमाडौंमा मृत्यु भयो । १२ गते धमिलीकुवास्थित सहोदर अस्पतालमा भर्ना भएकी उनलाई १५ गते चितवन मेडिकल कलेज रेफर गरिएको थियो । स्थानीय लक्ष्मीप्रसाद चिलुवालका अनुसार जिल्लामा भेन्टिलेटर नहुँदा कोरोना संक्रमित जटिल अवस्थाका बिरामीलाई काठमाडौं, पोखरा, चितवन लानुपर्ने बाध्यता छ ।

यी केही उदाहरण हुन् । कोरोना संक्रमित तथा कोरोनासहित अन्य रोगबाट ग्रसित बिरामीले पनि जिल्लामा भेन्टिलेटरसहितको आईसीयू पाएका छैनन् । भेन्टिलेटर खोज्दाखोज्दै ढिलो गरी पुग्ने समस्याले बिरामीको ज्यान जाने गरेको छ । जिल्ला अस्पताल प्रशासक श्रेष्ठले जिल्लामै भेन्टिलेटरसहितको आईसीयू सेवा नहुँदा कोरोना संक्रमित तथा अन्य बिरामीसमेत बाह्य जिल्ला जान बाध्य भएको बताए । सुविधा सम्पन्न भन्दै ठूला सहरका अस्पतालमा ढिला गरी पुग्दा कतिपयको ज्यान जाने गरेको छ । अहिले अस्पतालको आइसोलेसनमा ११ जना संक्रमित रहेकोमा ४ जनालाई अक्सिजन दिएर राखिएको र १ जनालाई आईसीयूको आवश्यक रहेको उनले बताए ।

जिल्ला अस्पतालका लागि गण्डकी प्रदेश सरकारले एनेस्थियोलोजिस्ट, फिजिसियन र एक जना मेडिकल अफिसरको माग गर्दै विज्ञापन गरिसकेको छ । जिल्ला अस्पतालले प्रदेश सरकारकै सहयोगमा २ जना नर्स भर्ना गरिसकेको छ । ‘प्रदेशबाट केही दिनमै चिकित्सकको टोली आउनेछन् । त्यसपछि हामी आईसीयू चलाउँछौं,’ उनले भने । 

गण्डकी प्रदेश सरकारले अस्पतालमा आईसीयू कक्ष सञ्चालन गर्न भेन्टिलेटरका लागि गत वर्ष जेठ ६ गते बजेट विनियोजन गरेको थियो । असोजमा जडान गर्ने भनिएको सामग्री व्यवसायीले ढिला गर्दा मंसिरमा मात्र जडान भयो । प्रदेश सरकारले २ भेन्टिलेटरसहित ५ बेडको आईसीयू निर्माण गर्न १ करोड ६९ लाख रुपैयाँ पठाएको थियो । अस्पतालले मौजुदा कोठामा भेन्टिलेटर जडान गरे पनि अझै सञ्चालनमा आउन सकेको छैन । 

कोरोना खोपकोरोना भाइरस

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully