बजारमा पालना, गाउँमा उल्लंघन

निषेधाज्ञा अटेर गर्दै हाटबजार र पसलमा भीडभाड

जेष्ठ २, २०७८

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा समुदाय स्तरमा फैलिएको कोरोना संक्रमण ‘ब्रेक’ गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णयअनुसार स्थानीय प्रशासनले शुक्रबार रातिबाट निषेधाज्ञा थप गरेको छ । प्रशासनले १० दिन निषेधाज्ञा थपेको हो ।

जिल्लाका मुख्य बजारहरूमा निषेधाज्ञा लागू भए पनि ग्रामीण क्षेत्रमा भने पालना हुन सकेको छैन । ती क्षेत्रमा अझै पनि हाटबजार र पसल खुलेकै छन्, जहाँ सर्वसाधारणको अत्यास लाग्दो भीड लाग्ने गरेको छ ।

सदरमुकाम मलंगवासहित जिल्लाको उत्तरी क्षेत्रका बजारहरूमा निषेधाज्ञा पालना गरिए पनि ग्रामीण भेगमा उल्लंघन हुने गरेको छ । स्थानीयले कोरोनाबाट जोगिन मास्क, सेनिटाइजर प्रयोग र भौतिक दूरीको ख्याल नगरेको कविलासी नगरपालिका–१ का उपेन्द्र साहले बताए । ‘गाउँका पसलहरू दिनभरि खुलेकै छन्, साप्ताहिक रूपमा लाग्ने हाटबजार पनि लागेकै छन्,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा निषेधाज्ञाको कुनै प्रभाव परेको छैन ।’ 

ग्रामीण क्षेत्रमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी घरघरै छन् । तर उनीहरू मौसमी रोग भन्दै गाउँकै औषधि पसलमा उपचार गराइरहेका छन् । कतिपय ज्वरोले थलिएको दुई साता भइसक्दा पनि सदरमुकाम जान सकेका छैनन् । यहाँ अन्तिम समयमा मात्र अस्पताल भर्ना हुने चलन छ । रोजगारीका क्रममा बाहिर गएकाहरू पनि गाउँ फिरेपछि समूहमै मनोरन्जनका लागि भन्दै तास खेल्न व्यस्त छन् । उनीहरू मास्कसमेत नलगाई समूहमा बसेर दिनभरि रमाइलो गर्ने गरेको स्थानीय रामएकवाल रायले बताए । ‘प्रहरी, प्रशासन र स्थानीय तहले निषेधाज्ञा पालनाका लागि कुनै चासो नै देखाएको छैनन्,’ उनले भने ।

पालिका प्रमुखहरूले स्थानीयलाई जागरुक बनाउन लागिरहेको दाबी गरे । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले गाउँघरमा समान्य ज्वरो र रुघाखोकीका बिरामी बढेको तर कोरोनाको लक्षण भएका बिरामी नदेखिएको बताए । उनले सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए । ग्रामीण क्षेत्रका हाटबजार बन्द गराए पनि पूर्ण रूपमा निषेधाज्ञा लागू हुन नसकेको उनको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञा प्रभावकारी भए, नभएको निगरानी गर्न स्थानीय तहले पनि चासो लिनुपर्ने बताए । उनले निषेधाज्ञा पालना गर्न प्रहरी खटिए पनि जनशक्ति अभावले ग्रामीण बस्तीमा पुग्न नसकेको जानकारी दिए । जिल्लामा शनिबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय ४६ छ भने मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कोरोना खोपकोरोना भाइरस

ओमप्रकाश

Link copied successfully