बारीमै कुहिन थाल्यो तरकारी

जेष्ठ २, २०७८

प्रताप विष्ट

हेटौंडा — निषेधाज्ञाका कारण तरकारी बिक्री नहुँदा बारीमै कुहिन थालेको छ । थाहा नगरपालिका र मनहरी गाउँपालिकाका किसानहरूले तरकारी बिक्री गर्न नपाउँदा मर्कामा परेको बताए । ‘अलिअलि त बिक्री भएको छ तर निकै सस्तोमा,’ थाहा—९ का किसान सुन्दरराज बलामीले भने, ‘निषेधाज्ञाअघि प्रतिकेजी ५० रुपैयाँमा बेचेको काउलीको मूल्य अहिले १० रुपैयाँ पनि छैन ।’

थाहा विसिङखेलका तरकारी व्यापारी उत्तम सुवेदीका अनुसार काठमाडौंमा तरकारी खपत नै हुन छाडेको छ । ‘यसअघि दैनिक १०–१२ वटासम्म पिकअप गाडी तरकारी काठमाडौं जाने गरेकामा अहिले २ वटासम्म पनि जाँदैन । कालीमाटीमा तरकारी बिक्री नभएर कहिले त फालेर आउने गरेका छौं,’ उनले भने ।

यहाँ उत्पादित तरकारीको मुख्य बजार काठमाडौं हो । थाहाको विसिङखेल, चित्लाङका उत्पादित काउली सस्तो मूल्यमा थोरै भए पनि व्यापारीले खरिद गरेर लगेका छन् । तर थाहा—६ बज्रबाराहीका किसानले ५ रुपैयाँमा पनि काउली नबिकेपछि उखेलिदिएका छन् । साढे दुई रोपनीमा लगाएको काउली नबिकेपछि उखेलेर फालेको स्थानीय निर्मला बिडारीले बताइन् । अहिले उनले उक्त जग्गामा अकबरे खुर्सानी लगाएकी छन् । जतिमा बिक्छ लैजाऊ भन्दा पनि व्यापारीले नकिनेको बताउँछन् अर्का किसान अशोक लामा । उनले पनि निर्मलाले जस्तै काउली उखेलेर फालेको बताए । ४ रोपनीमा काउली लगाएकामा उनले करिब साढे एक रोपनीको भने प्रतिकिलो ५० रुपैयाँ बिक्री गरेका थिए । तर निषेधाज्ञापछि अरू बिक्री भएन ।

निषेधाज्ञाका कारण मनहरी हाँडीखोलाका किसान पनि समस्यामा परेका छन् । उत्पादित तरकारी बजारमा खपत नभएकाले बारीमै कुहिएर जाने अवस्था आएको किसानहरू बताउँछन् । उत्पादनको थोरै मात्र बजारमा खपत हुने गरेको हाँडीखोला–३ का उत्तम उप्रेतीले बताए । यस क्षेत्रमा अहिले काउली, भन्टा, बन्दा, काँक्रो, गोलभेंडा र करेला उत्पादन भइरहेको छ । ‘तर बजार नखुलेकाले तरकारी खपत हुनै सकेको छैन,’ उनले भने । यहाँ उत्पादित तरकारी काठमाडौं, नारायणघाटलगायत बजारसम्म पुग्ने गरेकामा अहिले सीमित परिमाण हेटौंडामा मात्र बिक्री हुने गरेको छ ।

कोरोना भाइरस

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully