परीक्षण गरिएका सबैमा संक्रमण

जेष्ठ २, २०७८

नगेन्द्र अधिकारी, अनिश तिवारी

काभ्रे/सिन्धुपाल्चोक — जिल्लाका ग्रामीण भेगमा संक्रमण दर उच्च देखिएको छ । केही पालिकामा परीक्षण गरिएकामध्ये शतप्रतिशतमा संक्रमण पाइएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि बेलैमा परीक्षण नगर्दा र पालिकाले पनि चासो नदिँदा संक्रमण व्यापक बनेको हो ।

शुक्रबार तेमालका १७ जनाको स्वाब परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भयो । खानीखोलामा परीक्षण गरिएका १७ मध्ये १६ जनामा संक्रमण पाइयो । महाभारतका विभिन्न वडामा १८ स्वाबको नमुना संकलन गरिएकोमा १३ जना संक्रमित भेटिए । हाल ती क्षेत्र सिल गरिएको छ ।

शनिबार धुलिखेल–१ देवीटारका ९२ नमुनाको परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख सन्दीप केसीले जनाए । ‘बजारमा भन्दा गाउँमा संक्रमण दर बढी देखिन्छ । समुदायस्तरमा कोरोना फैलिएको आशंकामा परीक्षण गर्दा यस्तो नतिजा आएको हो,’ उनले भने, ‘पाँच वर्षमुनिका ४ बालिका र २० वर्षमुनिका ११ जनामा पनि संक्रमण भएको छ ।’

विवाह, व्रतबन्ध, सप्ताहजस्ता धार्मिक कार्य तथा सभा, समारोहबाट संक्रमण तीव्र भएको हुन सक्ने डीसीसीएमसीको अनुमान छ । पछिल्लो पटक थपिएका संक्रमितहरू त्यस्तै जमघटमा सहभागी भएमध्येकै छन् । शनिबारसम्म जिल्लामा सक्रिय संक्रमित १ हजार ८ सय ११ जना छन् । तीमध्ये सबैभन्दा धेरै बनेपामा ६ सय ६४ जना छन् । कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बेलैमा परीक्षण नगरिएकाले संक्रमण फैलिएको दाबी गरे । ‘लक्षण देखिएकाहरू पनि लुकाएर बस्नुभयो, केही ठाउँमा चाहेर पनि परीक्षण हुने अवस्था पनि थिएन,’ डा. झाले भने, ‘समयमै कन्ट्याक्ट ट्रेसिङ नथाल्दा पनि संक्रमण फैलिएको देखिन्छ ।’ उनले कन्ट्याक्ट ट्रेसिङलाई सबै पालिकाले प्रभावकारी बनाई ‘मास टेस्टिङ’ गर्नुपर्ने सुझाए ।

संक्रमित खोज्न घरदैलो

अघिअघि जनप्रतिनिधि । पछाडि पीपीई पहिरिएका स्वास्थ्यकर्मीको टोली । हरेक दिन बिहान कार्यालयबाट निस्कने यो टोली घण्टौं हिँडेर स्थानीयको घरदैलोसम्म पुग्छन् । परिवारका सबैको स्वास्थ्य समस्याबारे सोधपुछ गर्छन् । आवश्यकलाई औषधि दिन्छन् । कोरोना शंकास्पदको स्वाब संकलन गर्छन् ।

संक्रमण फैलन नदिन हेलम्बु र इन्द्रावती गाउँपालिकाले सातायता घरदैलो अभियान गरिरहेका हुन् । स्वास्थ्य संस्थाहरू बस्तीभन्दा टाढा भएको र उपलब्ध जनशक्तिको भरमा संक्रमित पहिचान गर्न कठिनाइ भएपछि पालिकाबाटै स्वास्थ्यकर्मीको टोली खटाउन थालिएको हो । यस क्रममा प्रसूति, रक्तचाप, दम, ढाड र पेट दुख्ने तथा दीर्घ रोग भएका धेरै पाइएको स्वास्थ्यकर्मीको भनाइ छ ।

हेलम्बु अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार पालिकाका करिब ५ हजार घरधुरीमध्ये तीन हजार घरमा स्वास्थ्यकर्मी पुगेर परीक्षण र शंकास्पद व्यक्तिको स्वाब संकलन गरेका छन् । ‘अझै केही बस्तीमा स्वास्थ्यकर्मी पुग्दै छन्,’ शेर्पाले भने ।  शनिबारसम्म सय जनाको स्वाब संकलन गरिएको छ । यस्तै, इन्द्रावतीका दुई दर्जन स्वास्थ्यकर्मी पनि एक सातादेखि घरदैलो अभियानमा व्यस्त छन् । गाउँपालिका अध्यक्ष वंशलाल तामाङले २८ हजारभन्दा बढी जनंसख्या भएको पालिकाका सबै वडामा यो अभियान जारी छ ।

कोरोना खोपकोरोना भाइरस

नगेन्द्र

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully