प्रतिसिलिन्डर १५ हजार रूपैयाँ सहयोग उठाई झापामा ल्याउन लागिएको हो
बिर्तामोड — झापाका कोभिड संक्रमितका लागि चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर खरिद गरी ल्याउने प्रक्रिया सुरु गरिएको छ । जिल्लास्थित ‘एकका लागि एक’ अभियानले उक्त सिलिन्डर खरिद गरी ल्याउन लागेको हो ।
गत वर्षदेखि सुरु भएको अभियानले दोस्रो चरणअन्तर्गत जिल्लामा अक्सिजन सिलिन्डर बैंक स्थापना, कोभिड बिरामीका लागि एक्स–रे मेसिन खरिद तथा कोभिड संक्रमित विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्ने कार्यक्रम सुरु गरेको छ ।
अभियानले ‘एक व्यक्ति, एक सिलिन्डर’ कार्यक्रममार्फत अक्सिजन सिलिन्डर खरिदका लागि सहयोग रकम जुटाउन थालेको हो । एक सिलिन्डर बापत १५ हजार रुपैयाँका दरले सहयोग संकलन थालिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
४ सय थान सिलिन्डरका लागि ढुवानीसहित करिब ६० लाख रुपैयाँ खर्च हुने अभियानको अनुमान छ । ती सिलिन्डर एयर कार्गोमार्फत काठमाडौं हुँदै झापा ल्याइने संयोजक गिरीले बताए ।
सिलिन्डर बैंक, एक्स–रे मेसिन र खाद्यान्न सहयोगसहितको पहिलो चरणमा एक करोड रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम सुरु गरेको गिरीको भनाइ छ । अभियानलाई बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र अन्तर्राष्ट्रिय झापाली समाजले एक–एक सय थान सिलिन्डर सहयोग गर्ने भएका छन् ।
अभियानलाई देश–विदेशमा रहेका संघसंस्था तथा व्यक्तिले अक्सिजन सिलिन्डरबापतको रकम सहयोग गरिरहेका छन् । चिनियाँ कम्पनीसँग सिलिन्डर खरिद गरी तत्कालै झापा ल्याउने गरी प्रक्रिया अघि बढाइसकेको अभियानका नवीन गट्टानीले जानकारी दिए ।
अभियानले जिल्लामा एक्स–रे मेसिन खरिद गरी स्थापना गर्ने प्रक्रियासमेत अघि बढाएको छ । जिल्ला सहकारी संघसँगको सहकार्यमा अभियानले करिब २५ लाख रुपैयाँको खर्चमा एक्स–रे मेसिन स्थापना गर्न लागेको हो ।
उक्त रकम सहकारी संघको अगुवाइमा जिल्लाका सहकारीहरूबाट जुटाइने संघका अध्यक्ष गणेश ढकालले बताए । जिल्लामा कोभिड संक्रमितलाई एक्स–रे परीक्षण गर्न कठिनाइ भएपछि अभियानले मेसिन नै खरिद गरी ल्याउन लागेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । उनका अनुसार अभियानले कोभिड संक्रमितका लागि डाक्टर परामर्श सेवासमेत दिनेछ ।
अघिल्लो वर्ष चैतमा लकडाउन सुरु भएपछि खाद्यान्न संकटमा परेका विपन्न परिवारलाई सहयोग गर्नका लागि जिल्लामा एकका लागि एक अभियान सुरु गरिएको थियो । अभियानले उक्त वर्ष करिब १० हजारलाई खाद्यान्न सहयोग गर्नुका साथै एक करोडभन्दा बढीको लगानीमा पीसीआर ल्याब स्थापना गरेको थियो ।
