पर्सा — कोरोना संक्रमितको संख्या दिनदिनै थपिएसँगै पर्सा र बारामा मात्रै दैनिक करिब २ हजार अक्सिजन सिलिन्डरको माग छ । मागअनुसार अक्सिजनको आपूर्ति भइरहेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अस्थायी कोभिड अस्पताल, आइसोलेसन सेन्टर थपिएकाले अक्सिजको माग बढेको बताए । ‘ठूलो संख्यामा संक्रमित होम आइसोलेसनमा पनि बसेका छन्, बिभिन्न स्थानीय तहले केही दिनयता धमाधम अक्सिजन सिलिन्डरसहितको आइसोलेसन सञ्चालन गरेका छन । अक्सिजन सिलिन्डरको माग अत्यधिक बढेको छ,’ उनले भने ।
पर्सामा मात्रै हाल हिमाल, मधु र नेसनल गरी ३ वटा उद्योगले अक्सिजन उत्पादन गरिरहेको उनले जानकारी दिए । ‘हिमालले १० हजार बढी, मधुले ४ हजार २ सय र नेसनलले १ हजार ६ सय ५० अक्सिजन सिलिन्डर बजारमा वितरण गरेको छ,’ पौडेलले भने, ‘यस्तो अवस्थामा अक्सिजन सिलिन्डरको अभाव हुँदैन । उचित व्यवस्थापनको खाँचो छ ।’ दुवै जिल्लाको मागभन्दा बढी अक्सिजन पहिलादेखि नै उत्पादन गरिरहेकाले उनीहरूले देशका अधिकांश ठाउँमा अक्सिजन सिलिन्डर वितरण गरिरहेको पौडेलले बताए । एक सातामा पर्सा र बाराका उद्योगहरूबाट अक्सिजन सिलिन्डर फिर्ता गराउन थालिएको छ । करीब ४ सय अक्सिजन ग्यास सिलिन्डर सम्बन्धित अक्सिजन उद्योगहरूमा फिर्ता गराइसकेका छौं,’ उनले भने, ‘तत्काललाई दुवै जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुने अवस्था छैन र हालको भन्दा ५ गुणा संक्रमित भए मात्र व्यवस्थापनमा समस्या हुन्छ ।’
अस्पतालहरूबाट समयमा सम्बन्धित उद्योगहरूमा सिलिन्डर फिर्ता नजाने र ग्यास उद्योगहरूबाट अस्पताल तथा आइसोलेसन सेन्टरसम्म सिलिन्डर ल्याउने र पुर्याउने समस्या रहेको उनले बताए । उनले भने, ‘अक्सिजन नियमित उत्पादन र त्यसको चुस्त दुरुस्त वितरण प्रणाली भए यस भेगमै अक्सिजन सिलिन्डरको अभाव र बिरामीले अक्सिजनको अभावमा अकाल मृत्यु वरण गर्नुपर्ने अवस्था आउने छैन ।’
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगन्जले मारवाडी सेवा ट्रस्ट वीरगन्जसँगको सहकार्यमा २ साता यता निःशुल्क रूपमा बिरामीलाई घरघरमै अक्सिजन सिलिन्डर र औषधि वितरणको व्यवस्था मिलाएको छ ।
