संकलित भेटीबाट विन्ध्यवासिनी मन्दिरद्वारा कोरोना रोकथाम तथा राहत कोषमा १० लाख
पोखरा — परेवाका बथानलाई दाना दिन अचेल विन्ध्यावासिनी मन्दिरको प्रांगणमा कोही आउँदैन । मन्दिर वरिपरि प्रदक्षिणापथ खाली छ । टिङटिङ बजिरहने घण्टको आवाज नसुनेको तीन साता हुनै लाग्यो । लकडाउनपछि ‘भगवान्’ ले भक्त पाएका छैनन् ।
सरकारले चैत १० को साँझ लकडाउन घोषणा गर्दा पोखराको विन्ध्यवासिनी मन्दिर भने सोही दिन बिहानैदेखि बन्द थियो । कोभिड–१९ को सन्त्रासले चैत महिनाभर विन्ध्यवासिनीमा भक्तजनको प्रवेशमा रोक लगाइएको थियो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले हाल सरकारले लकडाउन लम्ब्याउँदासम्म मन्दिर बन्द गर्ने सूचना जारी गरिसकेको छ ।
लकडाउनअघि नै मन्दिरमा भक्तजन पातलिँदै गएका थिए । मन्दिर पुग्ने भक्तजन घरभित्रै छन् । विपन्न र दैनिक ज्यालादारी गरेर जीवन गुजार्नेलाई गाह्रो छ । अरू बेला मन्दिर सम्झिएर पुग्ने भक्तलाई यतिखेर मन्दिरले सम्झिएको छ । भक्तले भेटीबापत चढाउने रकमबाटै मन्दिरले कोरोनाविरुद्धको राहत कोषमा सहयोग गरेको छ । चैत १८ मा समितिले गण्डकी प्रदेश सरकारलाई ५ लाख रुपैयाँ सहयोग गर्यो । आइतबार पोखरा महानगरपालिकाले स्थापना गरेको कोषमा थप ५ लाख रुपैयाँ जम्मा गर्यो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्र रेग्मीले आइतबार उक्त रकम बराबरको चेक महानगर प्रमुख मानबहादुर जीसीलाई हस्तान्तरण गरेका हुन् ।
समितिका सचिव तीर्थ श्रेष्ठ उक्त राहत वास्तविक पीडितकोमा पुग्नेमा आशावादी छन् । ‘कोरोना भाइरसबाट प्रभावित पनि विन्ध्यवासिनीका भक्त थिए होलान्, मन्दिर आएर पूजाआजा गरे होलान्,’ उनले भने, ‘उनीहरूले नै चढाएको भेटी यो संकटको बेला उनीहरूसम्मै पुगोस् ।’ उनका अनुसार भक्तले चढाउने भेटीबाट मात्रै मासिक सरदर २५ लाख रुपैयाँ संकलन हुन्थ्यो । लकडाउनपछि मन्दिरको आम्दानी शून्य छ ।
मन्दिरमा नित्य पूजा भने चलिरहेको छ । विश्व शान्तिको कामनासहित चण्डीपाठ र नित्य हवन भइरहेको छ । ६ जना आवासीय पुजारी, ६ जना शिक्षक र १२ जना बटुक मन्दिरमै बसिरहेका छन् । विन्ध्यवासिनी वैदिक विद्याश्रममा पढ्ने नजिकका विद्यार्थी घर गए पनि जुम्ला, कालिकोट, अछामलगायतका भने यहीँ छन् । मन्दिरको आम्दानीको स्रोत घटेपछि पुजारी र कर्मचारीलाई बचतबाट तलब खुवाउन परिरहेको सचिव श्रेष्ठले बताए । मन्दिरले सटर भाडामा समेत चैत महिनामा ६६ प्रतिशत छुट दिएको छ ।
मुख्य पुजारी रुद्रनाथ पौडेलका अनुसार दैनिक सात सयदेखि एक हजार भक्तजन मन्दिर आउँथे । मंगलबार र शनिबार त चार हजारसम्म दर्शनार्थी हुन्थे । दसैंको घटस्थापनादेखि पूर्णिमासम्म दैनक १० हजारसम्म दर्शनार्थी पुग्ने गरेको उनी बताउँछन् । विन्ध्यवासिनी मन्दिर भारतीय पर्यटकसमेत अत्यधिक पुग्ने धार्मिकस्थल हो । मन्दिरको भेटी २०७४ भदौअघिसम्म झन्डै तीन सय वर्ष पुजारीको कब्जामा थियो । देशभरका मठ, मन्दिर तथा धार्मिकस्थलको भेटी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले भेटी निर्देशिका जारी गरेपछि विन्ध्यवासिनीको भेटी विकास समिति मातहत आएको थियो । गत भदौदेखि मन्दिरले पुजारीलाई करारमा राख्यो ।
कोरोना भाइरसको महामारी नियन्त्रण र प्रभावितलाई राहत दिन पोखरा महानगरले स्थापना गरेको कोषमा जनस्तरबाट सहयोग जुट्ने क्रम बढ्दो छ । महानगरमा रहेका विभिन्न संघसंस्था, व्यवसायी, सहकारी र स्थानीयले हालसम्म २७ लाख ८२ हजार ७ सय रुपैयाँ सहयोग गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।
यसअघि महानगरले २ करोड, कर्मचारीबाट संकलित ४८ लाख ५० हजार र गण्डकी प्रदेशबाट प्राप्त १ करोड रुपैयाँ कोषमा जम्मा गरेको थियो ।
