काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ मा हुने निर्वाचनले देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा गति दिने अथवा फेरि प्रतिगमनतर्फ धकेल्ने भन्नेबारे निर्णय लिने दाबी गरेका छन् । निर्वाचनको मौन अवधि सुरू हुनुअघि बिहीबार लोकतान्त्रिक वाम गठबन्धनले काठमाडौंको जडिबुटीमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मतदाताले प्रतिगमनकारीहरूको जालसाजीबाट बचेर सही निर्णय गर्न सक्नुपर्ने बताएका छन् ।
‘यो निर्वाचन आमनेपाली जनताको अगाडि अवसरको रुपमा आएको छ, प्रतिगमनलाई सधैँका लागि टार्ने या अग्रगमनलाई‚ मुलुकको विकास र समृद्धिलाई गति दिने ? यो जनताले चुन्ने मौका हो,’ अध्यक्ष दाहालले भने, ‘म यो मञ्चबाट देशभरिका मतदातालाई आग्रह गर्न चाहान्छु, तपाईंले मंसिर ४ गते गर्ने निर्णयले मुलुकको भविष्य निर्धारण गर्छ । अब देशलाई आर्थिक विकास र समृद्धिको गति दिने कि फेरि प्रतिगमनकै बाटोमा धकेल्ने ? यो तपाईंहरूको हातमा छ ।’
अध्यक्ष दाहालले आफूहरूले संविधानको रक्षा, स्थिरता, शान्ति र विकासका लागि गठबन्धन गरेको तर प्रतिगमनकारी र दक्षिणपन्थीहरूले त्यसको विरुद्धमा संधिवान मास्ने र राजसंस्था फर्काउने नियतले गठबन्धन गरेको आरोप लगाए ।
‘हामीले संविधान बचाउन र मुलुकमा स्थिरता, शान्ति र विकास ल्याउनका लागि गठबन्धन गरेका छौँ । यो कुरा सबैलाई थाहा छ । तर, यहाँ अर्को पनि गठबन्धन छ,’ दाहालले अघि भने, ‘तपाईंहरू नझुक्किनुहोला, उनीहरू गठबन्धन गर्छन् तर गठबन्धन भन्दैनन् । उनीहरू राजावादी छन्, राजा फर्काउने कुरा गर्छन् । उनीहरू दक्षिणपन्थी छन्, संविधान मिच्ने र च्यात्ने कुरा गर्छन् ।’
उनले पुरानो पुस्तालाई गाली गरेर पाका पुस्तालाई गाली गरेर नयाँ पुस्ताको भलो नहुनेसमेत दाबी गरे ।
