रामेछाप — निर्वाचन आउन अब केहि दिनमात्र बाँकी हुँदा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा पाँचदलीय गठबन्धन र एमालेका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने भएको छ । अन्य साना दल र स्वतन्त्रसमेत गरी कुल २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । तापनि मुख्य प्रतिस्पर्धा दुई दलका उमेदवारबीच नै हुने देखिएको छ ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) उम्मेदवार छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रमा उम्मेदवार भएका उनले एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठबाट पराजित हुनुपरेको थियो । कांग्रेसको भन्दा २९ हजार मत बढी भएका दुई ठूला कम्युनिस्ट पार्टीको गठबन्धनका उम्मेदवार श्रेष्ठसँग प्रतिस्पर्धा गरेका तामाङले अप्रत्याशित मत पाएका थिए । उनले २९ हजारको मतान्तरलाई करिब ६ हजारमा झारेका थिए । अहिले त त्यसबेलाको माओवादी केन्द्र र एमाले टुक्रिएर बनेको एकीकृत समाजवादी पार्टीसमेत तामाङको साथमा रहेकाले सहज जित हुनेमा तामाङ ढुक्क छन् । कांग्रेसबाटै बागी उम्मेदवार बनेका चन्द्र राउतले तामाङलाई समर्थन गर्दै उम्मेदवार कायम नराख्ने गरी बुधबार जारी गरेको विज्ञप्तिले पनि तामाङलाई थप सहज भएको छ ।
विपद् र प्रकोपमा परेकाको उद्धार, स्वास्थ्य र सडक पूर्वाधारलगायत सामाजिक कार्यका लागि व्यक्तिगत सहयोग गर्दै जिल्लामा ख्याती कमाएका तामाङ मतदाताका बिच अलग्गै पहिचान बनाउन सफल भएका छन् । ‘मतदाताले यस पटक कान्छाराम भनेका छन्,’ तामाङले भने, ‘मैले २०६७ सालदेखि जिल्लामा व्यक्तिगत रुपमा सहयोग गर्दै आएको मात्र नभई गठबन्धनको समेत साथ पाएकाले यो पटक जित सुनिश्चित देखेको छु ।
रामेछापमा सडक पूर्वाधार, स्वास्थ्य शिक्षा, कृषि, रासायनिक मल, प्राविधिक शिक्षालगायतमा कुन वडामा कुन कुराको अभाव रहेको भन्ने कुरा आफूलाई राम्रो ज्ञान रहेको भन्दै निर्वाचित भएपछि सरकारी स्रोत परिचालन गरी जिल्लावासीको आवश्यकता पूरा गर्ने वाचा उनको छ । ‘मलाई सांसद बनेर कमाउनु छैन । खान, लगाउन, छोराछोरी पढाउन, घर बनाउन, गाडी किन्न पैसा चाहिएको छैन,’ तामाङ भन्छन्, ‘मैले सांसदको रुपमा पाउने सुविधासमेत रामेछापेली नागरिकको दु:खमा खर्च गर्छु ।’
उता एमालेबाट उम्मेदवार रहेका कैलाशप्रसाद ढुंगेल आफूले गरेको विकास निर्माण कार्य र योजनाका आधारमा निर्वाचित हुने कुरामा आशावादी छन् । गएको प्रदेशसभा निर्वाचनमा रामेछाप १(ख) बाट माओवादी–एमाले गठबन्धनका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका ढुंगेल वाग्मती प्रदेश सरकारमा साढे ३ वर्ष आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । प्रदेशमन्त्री हुँदा जिल्लामा सडक, प्राविधिक शिक्षा, कृषि, पशुपालन, खेलकुुद पूर्वाधारजस्ता कुरामा ठुलो लगानी गरेको दाबी गर्दै उक्त अधुरा कार्य पूरा गर्नका लागि यसपटक मतदाताले आफूलाई रोज्ने उनले दाबी गरेका छन् ।
प्रदेशमन्त्रीमा साढे ३ वर्ष काम गर्ने मौका पाएका ढुङ्गेल २०५६ को प्रतिनिधिसभा, २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समेत एमालेबाट उम्मेदवार भएका थिए । उक्त तीनवटै निर्वाचनमा उनले पराजय भोगेका थिए । २०४९ मा गाविस अध्यक्षमा पराजित भएका ढुङ्गेल २०५४ मा गाविस अध्यक्ष निर्वाचित भई जिल्ला विकास समितिको सभापति बनेका थिए । सुकुम्बासी समस्या समाधान आयोग र दुग्ध विकास संस्थानमा कार्यकारी भएर काम गरेका थिए । यो पटक प्रतिनिधिसभामा टेक्ने आधार पनि तिनै कामको अनुभव रहेको उनले बताएका छन् ।
स्थानीय निर्वाचनमा २ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा एमालेले १ नगरपालिका र २ गाउँपालिकामा जित हासिल गरेको छ । कांग्रेसले १ नगरपालिका र २ गाउँपालिका र माओवादी केन्द्रले २ गाउँपालिकामा जित निकालेको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादीको भोट जोड्दा एमालेभन्दा करिव ३१ हजार बढी रहेकाले पनि ढुङ्गेललाई जित निकाल्नका लागि हम्मेहम्मे देखिन्छ ।
स्थानीय निर्वाचनको भन्दा कम प्रतिशत मतदान हुने, बारम्बार एकै जना उम्मेदवार हुँदा अरु नेता तथा कार्यकर्ताले अवसर नपाएको, पैसा र शक्तिको आडमा (दुवै पार्टीमा) टिकट ल्याउने परम्परा यस पटक पनि कायम रहेको, पदमा हुँदा विकास निर्माण र बजेट विनियोजनमा क्षेत्रगत विभेद गरेको जस्ता आरोप लागेकाले यस पटक केही मत पार्टीगत भन्दा तलमाथि हुने देखिएको छ ।
