गठबन्धन अझै १५ वर्ष टिक्छ : प्रधानमन्त्री देउवा 

मंसिर १, २०७९

मेनुका ढुंगाना

अछाम — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन अझै १५ वर्षभन्दा बढी टिक्ने बताएका छन् ।अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान रक्षाका लागि पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झाउँदा पनि नमानेको बताए ।

'संविधानको रक्षाका लागि हामीले पटक-पटक ओलीजीलाई सम्झायौं । उहाँले मान्नु भएन । संसद् विघटन गर्नुभयो । ओलीजीले आलोचना पनि सहन सक्नु भएन,' प्रधानमन्त्री देउवाले भने, 'बाध्य भएपछि बहुमत पुग्ने गरी अदालत गयौं । अदालतले ओलीजीलाई हटायो । अन्तमा मेरो नेतृत्वमा सबैको सहकार्यमा सरकार निर्माण भयो । अब संविधान रक्षा र र स्थायित्वका लागि यो गठबन्धन १०/१५ वर्ष बढी टिक्छ । कम्तीमा ३/४ चुनावहरूमा यो गठबन्धन सहकार्य गर्छ । त्यसका लागि हाम्रा साझा उम्मेदवारले जित्न आवश्यक छ ।'

संविधानले महिलालाई ३३ प्रतिशत आरक्षण, दलित, जनजातिका अधिकार समेटेकाले यसको रक्षाका लागि नेपाली कांग्रेस अडिग रहेको बताए । अछामको चौरपाटी र मंगलसेनमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलाश लघु जलविद्युत् आयोजना, सेती लोकमार्ग, चिसापानी- जंगलघाट- मंगलसेन सडक खण्ड, रामारोश र खप्तड पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

चुनावी सभामा निर्वाचन क्षेत्र नम्बर-१ का सत्ता गठबन्धनका साझा उम्मेदवार समाजवादीका नेता शेरबहादुर कुँवर, प्रदेश-१ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का, प्रदेश-२ का उम्मेदवार माओवादी केन्द्रका नेता झपट साउद, प्रतिनिधिसभा क्षेत्र नम्बर-२ का प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, प्रदेश-१ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता अक्कल रावल, प्रदेश-२ का उम्मेदवार कांग्रेसका नेता मानबहादुर रावलले चुनावीसभालाई सम्बोधन गरेका थिए ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully