निर्वाचन तयारीमा भड्किलोपन कम भएको निष्कर्ष

मंसिर १, २०७९

सुनिता बराल

महोत्तरी — राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न आयोगले निर्वाचन तयारीमा हुने भड्किलोपन कम भएको निस्कर्ष निकालेका छन् । महोत्तरीको बर्दिबासमा बिहीबार राष्ट्रिय मानव अधिकार आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग र मधेसी आयोगले निर्वाचन भड्किलोपन कम भएको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

आयोगका पदाधिकारी तथा सदस्यले हस्ताक्षर गरेको‘प्रेस नोट’मा यसअघिको निर्वाचनको तुलनामा आचारसंहिता परिपालनामा सुधार देखिएको उल्लेख छ । 

राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसारका क्रममा टागिने ब्यानर, पर्चा, पम्पलेट, जुलुस, र्‍याली र आमसभालगायत चुनावी कार्यक्रममा तडकभडक निकै कम देखिएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले बताए । ४ वटा आयोगले संयुक्तरुपमा गएको सर्वेक्षणबाट आचारसंहिताको धेरै पालना भएको पाइएको भए पनि अझै सुधार गर्नुपर्ने पक्ष पनि रहेका राष्ट्रिय मानव अधिाकार आयोगकी सदस्य लिलि थापाले बताइन् । आयोगको ‘टोल फ्री’ नम्बर सर्वसाधारणलाई यथेष्ट जानकारी हुन नसकेको, भारतीय सुरक्षा अधिकारीसँग दोहोरो सम्वाद भए पनि भारतीय नम्बर प्लेटका गाडी निर्वाचन प्रचारमा भित्रिएका, निर्वाचनमा अधिकांश मतदान केन्द्र विद्यालयमा भएकाले विद्यालय शान्तिक्षेत्र भन्ने मान्यता खण्डित भएको र मतदाता नामावली संकलनमा मधेसका धेरै महिलाको नाम छुट्दा सबैजसो जिल्लामा महिलाभन्दा पुरुष मतदाता निकै बढी देखिएकाले सम्बन्धित सबै पक्षसँग यी विषय सच्याउन अनुरोध गरिएको थापाले बताइन् । 

कार्यक्रममा आयोगका सदस्यहरुले मधेस प्रदेशका सबै जिल्लामा अनुगमनका क्रममा संयुक्त टोली पुगेर सम्बद्ध सरोकारवालासँग चुनाव सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी अझै बढाउन ध्यानाकर्षण गराइएको आयोगको संयुक्त टोलीले जनाएको छ ।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully