अर्घाखाँची — आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलतिर हिँडेका छन् । निर्वाचन कार्यालय सन्धिखर्कबाट निर्वाचन गराउने सामग्री बोकेर सुरक्षाकर्मीसहित कर्मचारी गन्तव्यतिर लागेका छन् ।
जिल्लाका ९७ मतदान स्थलका २ सय ३ मतदान केन्द्रमा दुई हजार दुई सय कर्मचारी खटिएको निर्वाचन अधिकारी सुरेश भण्डारीले बताए ।
मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी, एक जना सहयोगी र तीन जना स्वयंसेवक रहेका छन् । मतदान केन्द्रमा जनसंख्याको वर्गीकरणको आधारमा कर्मचारी खटाइएको उनले बताए ।
निर्वाचन गराउन चाहिने सबै सामग्री मतदान अधिकृतसहित कर्मचारीलाई जिम्मा दिएर बस र जिपमा सुरक्षाकर्मी मतदान केन्द्रमा पठाइएको उनले बताए । सामग्री बुझेका कर्मचारी धमाधम मतदान केन्द्रतर्फ गइरहेका छन् । १ लाख ६४ हजार ७ सय २८ मतदाता रहेको अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि एउटै निर्वाचन क्षेत्र रहेको छ ।
