पाण्डे र पौडेलमाथि स्वतन्त्रका ढकालको दबाब

कार्तिक २९, २०७९

रमेशकुमार पौडेल

चितवन — पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री विश्वनाथ पौडेल प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेको चितवन–१ मा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालको पनि चर्चा उत्तिकै छ । एमालेको ‘परम्परागत आधार क्षेत्र’ मानिएको यो क्षेत्रमा पाण्डे चुनाव जितेर ह्याट्रिक गर्ने ध्याउन्नमा छन् ।

एमाले विभाजनको असर र ५ दलीय सत्ता गठबन्धनको बलमा पौडेल ‘सेफ जोन’ मा रहेको कांग्रेसी नेताहरू दाबी गर्छन् । तर, दलमाथिको वितृष्णा, नयाँ अनुहार, युवालगायत कारण ढकालको पक्षमा बढिरहेको जनमत हेर्दा पाण्डे र पौडेल दुवैमाथि दबाब बढ्दो देखिन्छ ।

चितवनमा एमालेले पञ्चायतकालदेखि नै चुनाव लड्दै आएको हो । यहाँ तत्कालीन माले (पछि एमाले बनेको) का उम्मेदवार जागृतप्रसाद भेटवालले ०४३ को राष्ट्रिय पञ्चायत चुनाव जितेका थिए । त्यो जितले एमालेलाई जिल्लाको पूर्वी क्षेत्रमा संगठन फैलाउन मद्दत मात्रै गरेन, स्वयं भेटवालले चितवन–१ बाट बहुदल आएपछिका ०४८ र ०५१ का चुनाव लगातार जित्न सफल पनि भए ।

०६४ को संविधानसभा निर्वाचनमा देशभर राम्रो नतिजा ल्याउन नसक्दा पनि एमालेले चितवन–१ मा जित हात पारेको थियो । ०७० र ०७४ मा एमाले उम्मेदवार पाण्डे नै थिए । ०७० मा एक्लै लड्दा र ०७४ मा वाम गठबन्धन हुँदा पाण्डेले सहजै जितेका थिए । अहिले तेस्रो पटक उम्मेदवार भइरहँदा पाण्डे चुनौतीको चाङमा उभिएका छन् ।

०४३ यता चुनाव जित्दै आएका भेटवाल ०५६ को संसदीय चुनावमा भने पराजित भए । निर्वाचनमा जितको ह्याट्रिक गरे पनि बहुदलीय शासन पद्धतिमा भएका चुनावमा समेत जितको ह्याट्रिक गर्ने भेटवालको चाहनामा बिराम लागेको थियो । पार्टीमा आएको फुटले भेटवालले जित्न सकेका थिएनन् । अहिले पाण्डेका सामुन्ने पनि यस्तै चुनौती छ ।

चितवन–१ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका सबै वडा पर्छन् । ०७४ को स्थानीय चुनावमा यी तीनै स्थानीय तहमा एमालेले सहज जित निकालेको थियो । तर, गत वैशाखको चुनाव भने उसका लागि सन्तोषजनक रहेन । तीनै स्थानीय तह प्रमुखमा एमाले उम्मेदवार पारजित भएका थिए । खैरहनी र रत्ननगर नगरपालिकामा उपप्रमुख जित्दा सबैभन्दा राम्रो जनाधार रहेको मानिएको राप्ती नगरपालिकामा दुवै मुख्य पद गुमाएको थियो ।

०५६ मा एमालेका भेटवाल कांग्रेसकी सावित्री बोगटी पाठकसँग ९११ मतले पराजित भएका थिए । त्यो बेला एमाले फुटेर माले भएको थियो । मालेका उम्मेदवार कृष्ण पन्तले १ हजार १८४ मत ल्याएका थिए । तिनै पन्त अहिले एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष छन् । राप्तीका बासिन्दा पन्तकै नेतृत्वमा गत स्थानीय निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार शमशेर लामा नगर प्रमुख निर्वाचित भएका थिए ।

विगतको यस्तै चुनावी चरित्रका कारण कांग्रेसका पौडेल उत्साहित नदेखिएका हौइनन् । तर, उनका लागि पनि सहज अवस्था छैन । पौडेल रत्ननगरमा जन्मिए पनि जिल्लामा राजनीति गरेनन् । अर्थशास्त्रमा पीएचडी गरेका, थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थामा संलग्न भएका र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर १४ महिना काम गरेका पौडेल राजनीतिमा भिजेका व्यक्ति पनि होइनन् ।

पौडेल उम्मेदवार उठ्ने चर्चा चलिरहँदा कांग्रेस चितवन सभापति राजेश्वर खनालले पौडेललाई नचिन्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । यद्यपि अहिले खनाल पौडेलको चुनावी अभियानमा सरिक भइरहेका छन् । अर्कोतर्फ, पौडेलले मनोनयन दर्ता गराएपछि कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिए । उनी ०७० र ०७४ मा चितवन–१ मा कांग्रेसका उम्मेदवार थिए । लगातार २ पटक पराजित बुर्लाकोटी गठबन्धन बनाएर जित्ने सम्भावना रहेका बेलामा टिकट नपाउँदा रुष्ट बनेका थिए । मनोनयन फिर्ता लिने समयसम्म पनि उनी कायमै रहे । पछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा लैजाने आश्वासन दिएपछि मात्रै उनी उम्मेदवारी निष्क्रिय पार्न सहमत भएका थिए । 

तर, पौडेलप्रतिको असन्तुष्टि यत्तिमै सीमित छैन । सभापति देउवासँगको निकटताका कारणले नै उनले टिकट पाएको कांग्रेसका जिल्ला नेताहरू नै बताउँछन् । चितवन–१ मा अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि कांग्रेसबाटै टिकटका आंकाक्षी थिए । तर, देउवा र आरजु राणाका कारण वाग्लेले टिकट नपाएको बुझाइ स्थानीय कांग्रेस नेता–कार्यकर्ताको छ । वाग्ले पनि अझैसम्म चितवन–१ को चुनावी अभियानमा देखिएका छैनन् । ‘पौडेल र वाग्लेजी निकै निकटको साथी हो । एकले अर्कालाई अगाडि बढाउन सरसहयोग छ, रहन्छ पनि । राष्ट्रिय जिम्मेवारी रहेका कारण चुनावमा यता आइनपुग्नु भएको हो । तर, अन्तिम चुनावीसभालाई वाग्लेजीले सम्बोधन गर्नुहुनेछ,’ कांग्रेस चितवन सचिव सूर्य अर्यालले भने ।

वाग्ले खुल्न बाँकी रहँदा गोरखाबाट बसाइँ सरेर आएका मतदाताले के गर्लान् भन्ने डर चितवन कांग्रेसमा छ । चितवन पनि घर भएका वाग्लेको पुर्ख्यौली थलो गोरखा हो । त्यसैगरी, धादिङ, नुवाकोटबाट बसाइँ सरेर आएका मतदाताले पार्टीभन्दा व्यक्ति पनि हेर्ने प्रवृत्तिका कारण धादिङ पुर्ख्यौली थलो रहेका पाण्डेलाई लाभ मिल्ने हो कि भन्ने संशय पनि कांग्रेसलाई छ । यसका साथै वडा तहमा एमालेको अझै पनि पकड रहेका कारण गठबन्धन भए पनि पौडेललाई जितका लागि चुनौती कम देखिँदैन ।

चितवन–१ मा १ लाख ३९ हजार ८ सय ४५ मतदाता छन् । यो क्षेत्रमा तीनै पालिकाका गरी ४२ वडा छन् । गत स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनविरुद्ध एमाले एक्लैले २० वटा वडाध्यक्ष जितेको थियो । राप्ती–७ मा एमालेका विरुद्ध सुमिता डल्लाकोटी बागी उठेर पनि विजयी भएकी थिइन् । कांग्रेसले उठाएका १८ जना र १ जना कांग्रेसका विद्रोहीले वडाध्यक्ष जितेका थिए । गठबन्धनका बाँकी दल माओवादी र एकीकृत समाजवादीको पोल्टामा एक–एक वडाध्यक्ष पुगेको थियो ।

पार्टीमा विभाजन आएलगत्तै स्थानीय निर्वाचन भएका कारणले केही समस्याहरू देखिएको एमाले केन्द्रीय सदस्य तथा राप्ती नगरपालिकाकी पूर्वप्रमुख प्रभा बरालले स्विकारिन् । ‘स्थानीय चुनावमा कहाँ के समस्या भयो भन्ने स्पष्ट भइसकेकाले अहिले त्यसमा सुधार गरेका छौं । अचानक जाँदा स्थानीय चुनावमा सोचेजस्तो नभए पनि नतिजा सन्तोषजनक नै थियो । अहिले सुधार गरेर गएको हुँदा हामी ढुक्क छौं,’ उनले भनिन् ।

एमालेको चुनौती यत्तिमै सकिँदैन । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाले पनि झस्काएको छ । उक्त पार्टीका उम्मेदवार हरि ढकाल स्थानीय र युवा मात्रै होइन, एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वनेता पनि हुन् । २ पटक चुनाव जितेका पाण्डे फेरि उम्मेदवार बनेकाले मतदाताले नरुचाएर युवा रोज्लान् कि भन्ने पिर एमाले पंक्तिमा देखिन्छ । यसका कारण आफ्ना उम्मेदवारलाई फाइदा पुग्ने आकलन कांग्रेसको छ ।

‘एमालेभित्रै एकता छैन । फेरि हरि ढकाल उठेका छन् । उनलाई जाने भोट एमालेकै हो । पौडेलविरुद्ध उठेका स्वतन्त्र उम्मेदवारले मनोनयन निष्क्रिय पारिसकेकाले चुनाव हाम्रो पक्षमा छ,’ कांग्रेस प्रचार विभागअन्तर्गत सूचना तथा अनुगमन समिति सदस्य वासु चौधरीले भने । स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन–२ मा उम्मेदवार रहेकाले पनि त्यसकै प्रभावले ढकालको पनि माहोल बढ्दो छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully