मुगु — मुगुमकार्मारोङ गाउँपालिकास्थित माथिल्लो बस्तीका बासिन्दा विगत वर्षमा कात्तिक दोस्रो साता नै बेंसी झर्थे । अत्यधिक चिसो हुने भएकाले जाडो छल्न कात्तिकमा गाउँ छाड्ने उनीहरू गर्मी सुरु भएपछि चैत अन्तिम साता फर्कन्थे । तर यो वर्ष मतदानको प्रतीक्षामा उनीहरू गाउँमै छन् । ‘पोहरसम्म त बाली भित्र्याएर तल झरिहाल्थ्यौं, कात्तिक १५ पछि त गाउँ सुनसान हुन्थ्यो,’ डोल्फुका कर्मा लामाले भने, ‘५ वर्षमा एकपल्ट आउने भोट हाल्ने आशाले चिसोमा पनि यही छौं ।’
मुगमकार्मारोङको मुगु, चितै, डोल्फुलगायत गाउँमा धारामा पानी जम्न सुरु भइसकेको छ । ‘बेंसी झर्नका लागि सातु–चामल र लत्ताकपडा त तयारै छन्,’ मुगुगाउँका सोनाम तामाङले भने, ‘अब भोट हालेको भोलिपल्टै मात्र तल झर्ने गरी चिसो खाइरहेका छौं ।’ उनले बिहान र साँझपख धुनी लगाएर ताप्ने गरेको बताए । गाउँमा एक बाली उवा मात्र पाक्छ । वैशाखमा लगाइएको उवा कात्तिक दोस्रो साता नै काटिसकेको उनले बताए ।
स्थानीयले अहिले जसोतसो चिसो त कटाएका छन् । तर, आकाशमा बादल देखिनेबित्तिकै हिउँ पर्छ कि भन्ने डर हुने गरेको तामाङले बताए । ‘हिउँ परे न गाउँमा बस्न सकिन्छ न त तल झर्न नै,’ उनले भने, ‘हिजोआज गाउँमा काम केही छैन, चुनावका लागि मात्रै दिन गन्दै बस्नुपरेको छ ।’ मुगुगाउँका केही युवा मंसिर ४ मा भोट खसाल्न गाउँ फर्किने वाचासहित जुम्ला र सिरानचौरमा परिवारको बन्दोबस्तीका लागि गएको उनले बताए । गमगढीमा बस्दै आएकाहरू भने मतदानकै लागि गाउँ फर्किंदै छन् ।
हरेक वर्षको हिउँदयाममा माथिल्लो मुगुस्थित हिमाली बस्तीका बासिन्दा चिसो छल्न ६ महिना बेंसी झर्छन् । गत असोज १९ देखि २३ गतेसम्मको अविरल वर्षाले यो पटक हिमाली बस्तीमा चिसो अत्यधिक बढेर स्थानीयलाई गाउँमा बस्न गाह्रो भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार निर्वाचनले गर्दा मुगुगाउँस्थित प्रहरी चौकी पनि योपल्ट सदरमुकाममा विस्थापित भएको छैन भने वडाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मी पनि चिसो खप्दै गाउँमै छन् । ‘चिसो निकै बढेको छ,’ मुगु प्रहरी चौकीका इन्चार्ज डल्के धमेनाले भने, ‘निर्वाचनको सुरक्षाको चटारो छ, गाउँमा एक महिनादेखि घाम देख्न मुस्किल छ, बिहान तुसारो जमेर गावै सेताम्मे हुन्छ, धारा र खोलाको पानी बरफ भएर जमिसक्यो ।’
मतदाताहरू चिसो सहेर गाउँमा बसिरहे पनि उम्मेदवार भने भोट माग्न अहिलेसम्म नआएको स्थानीय हपालभोटे लामाले बताए । ‘हामीले सास्ती खपेर भोट खसाल्नुपरेको छ, तर उम्मेदवारहरू कहिल्यै गाउँ आउँदैनन्,’ उनले भने, ‘उनीहरू आए कम्तीमा यहाँको समस्या थाहा पाउँथे र विकास हुन्थ्यो ।’ उनका अनुसार कम मतदाता भएकाले गाउँपालिकाको माथिल्लो क्षेत्रमा उम्मेदवार आफैं पुग्दैनन्, कार्यकर्तालाई पठाउँछन् । मुगु, चितै र डोल्फु गाउँमा मतदाताको संख्या झन्डै ९ सय रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ । गमगढीदेखि डोल्फु, चितै र मुगु गाउँमा पुग्न करिब दुई दिन पैदल हिँड्नुपर्छ । तीनवटै गाउँमा एक/एकवटा आधारभूत विद्यालय मात्र छन् भने स्वास्थ्यचौकी भए पनि औषधिको सधैं अभाव हुने गरेको छ । सडक नहुँदा बर्सेनि चिनियाँ खाद्यान्नको भर पर्नुपरेको लामाको गुनासो छ । ‘आफ्नो उब्जनीले ३ महिना पुग्दैन, सदरमुकाम जान टाढा पर्छ । यहाँ अनुदानको न चामल आउँछ न नुन,’ उनले भने ।
