जुम्ला — मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीमा रहेका कारागारका ३४८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । फौजदारी कसुरको अभियोग लाग्नुभन्दा अघि मतदाता नामावली भरेका कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । मतदान गर्न पाउने कानुनी व्यवस्था बमोजिम कैदीबन्दीले आउने निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन् ।
कर्णालीको जुम्लामा १ सय ७ जना कैदीबन्दी रहेकोमा १४ जनाले मतदान गर्न पाउने कारागार जुम्लाले जनाएको छ । तीमध्ये सबै पुरुष मतदाता हुन् । मतदानको लागि अस्थायी मतदान केन्द्रको व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले जानकारी दिए । उनका अनुसार कैदीबन्दीले समानुपातिकतर्फको मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।
डोल्पामा १४, सुर्खेतमा १०१, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८ र हुम्लामा १७ जना कैदीबन्दीले मतदान गर्न पाउने छन् । कारागारमा कैद भुक्तान गरिरहेका र डोल्पा जिल्लामै मतदाता नामावली भएका १४ जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए । उनका अनुसार मतदाता नामावलीमा नाम भरेका कैदीबन्दी मतदान गर्नबाट बञ्चित हुने छैनन् ।
सुर्खेत कारागारमा रहेका १०१ जना कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको छ । उनीहरुले समानुपातिक तर्फको संघमा मात्रै मतदान गर्न पाउने प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले जानकारी दिए । दैलेख कारागारमा १ सय २६ जना कैदीबन्दी छन् । ६३ जना मतदाता हुन् । जिल्ला कारागारमै मतदान गर्न मिल्ने गरी व्यवस्था गरिएको छ ।
रुकुम पश्चिमको कारागारमा १ सय २४ कैदीबन्दी भएकोमा ६६ जनाले मतदान गर्नेछन् । कारागार प्रमुख अकबिर घर्तीले रुकुमपश्चिम र पूर्वको गरेर ६६ जनाले मतदान गर्ने जानकारी दिए । जाजरकोट कारागारका ५२ जना कैदीबन्दी तथा थुनुवामध्ये ३२ जनाले मतदान गर्न पाउने जिल्ला कारागार प्रमुख चन्द्रबहादुर गिरीले जानकारी दिए । कालीकोट कारागारका ५० जना कैदीबन्दीमध्ये २३ जनाले र सल्यान कारागारका १२६ जना कैदीबन्दीमध्ये १८ जनाले मताधिकार पाएको जिल्ला कारागार प्रमुख राजन कँडेलले बताए । हुम्ला जिल्ला कारागारका १७ जना कैदीबन्दीले मतदान गर्न पाउने प्रमुख जिल्ला अधिकारी सरिता परियारले बताइन् ।
कारागार भित्रैबाट पनि मतदान गर्न पाउने भएपनि कैदीबन्दी उत्साहित छ । उनीहरुले संघको समानुपातिकमा मात्रै मतदान गर्न पाउने भएका छन् । कैदीबन्दीले आफ्नो सिद्धान्त र विचार नजिकको पार्टीका उम्मेदवारसँग मतदान गर्ने विषयमा छलफल गरिरहेको कारागारहरुले बताएका छन् । कारागारभित्र निर्वाचनमा मतदान गर्ने विषयमा पनि छलफल हुने गरेको एक कैदीले बताए । मुगु जिल्ला बाहेक कर्णालीका ९ जिल्लामा कारागार छन् ।
निर्वाचनका लागि ८४८ कर्मचारी खटिए
जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि ८४८ जना कर्मचारी खटिएका छन् । जिल्लाको १ सय ८ मतदान केन्द्रमा कर्मचारी खटाइएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको सूची अनुसार १०६ वटा स्थायी मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा गरी ८४८ जना कर्मचारी खटाइएको छ । एक सय ८ मतदान केन्द्रमा एक एक मतदान अधिकृत, सहायक मतदान अधिकृत ९९ मतदान केन्द्रमा ८/८ जना कर्मचारीका दरले ६९२ जना र ७ वटा मतदान केन्द्रमा ७ /७ जना कर्मचारीका दरले ४९ जना र अस्थायी २ मतदान केन्द्रमा ७ जना कर्मचारी खटाइएको छ ।
२५१ जना भन्दा कम मतदाता भएको स्थानमा ७ जना र २५१ भन्दा धेरै मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । कर्मचारीलाई तालिम दिइसकेपछि निर्वाचन सामाग्री हस्तान्तरण गरेर पठाइने छ ।
