रोल्पा — माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पाँच दलीय गठबन्धनले आगामी पाँच वर्षमा संसद् विघटन नगर्ने बताएका छन् । उनले पाँच दलीय गठबन्धनले प्रतिनिधिसभा र सातवटै प्रदेशहरूमा दुई तिहाई बहुमतका सरकार बनाउने दाबी गर्दै आगामी पाँच वर्ष राजनीतिक स्थायित्व दिने र आवश्यक परेमा पाँच वर्षपछि पनि गठबन्धन कायम राख्ने बताए ।
रोल्पामा आइतबार आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पुनले मुख्य पार्टीहरू एक ठाउँमा उठ्दा दुई तिहाई बहुमत आउने संकेत देखिएको दाबी गरेका थिए । पूर्वमन्त्रीसमेत रहेका पुनले भने, 'पाँच वर्ष यो गठबन्धन सञ्चालन गर्छौं । पाँच वर्ष यो गठबन्धन कायम हुनेछ, बीचमा कुनै परिवर्तन हुने छैन । गठबन्धनले राजनीतिक स्थायित्व दिनेछ । सुशासन दिनेछ । आफ्नो मार्गबाट बिचलित हुने छैनौं । गठबन्धनले केपी ओलीले जस्तो पाएको जनमतलाई अपमान गर्ने छैन । दुई पटक संसद् विघटन गर्ने अवस्था हुने छैन । गठबन्धनले संसद् विघटन गर्ने छैन, यो हाम्रो प्रतिबद्धता हो । जनताको जनादेशलाई शिरमा राखेर काम गर्छौं ।'
पुनले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तारुढ गठबन्धनले संघीय र सातवटै प्रदेशमा दुई तहाई बहुमतका सरकार बन्ने दाबी गरेका हुन् । उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले जनमतको अपमान गरी पटकपटक संसद् विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको बताएका थिए ।
चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको पुनको भनाइ थियो । ‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन,’ रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उनले भने, ‘केपी ओलीको पटकपटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो । सत्ता स्वार्थका लागि मात्र भएको होइन ।’ राजनीतिक स्थायित्वका लागि माओवादी र कांग्रेसलगायतका दलहरूको गठबन्धन भएको बताउँदै उनले अब विकासका काम गर्ने बताए । जनताको अवस्था बदल्नका लागि काम गर्ने उनको भनाइ थियो ।
निरंकुशता र प्रतिगमन रोक्न कांग्रेस–माओवादी एकै ठाउँमा उभिनुपर्ने बाध्यता सिर्जना भएको भन्दै उनले विगतका तितामिठा घटना बिर्सिएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए । ‘निरंकुशता र प्रतिगमनका कारण हामी एक ठाउँ उभिने अवस्था बन्यो,' उनले भने ।
