दाहालको प्रश्न : संविधान च्यात्न र संसद् विघटन गर्न एमालेलाई भोट दिने ?

कार्तिक २७, २०७९

कान्तिपुर संवाददाता

गोरखा — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नरहेको बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले एमालेका उम्मेदवारहरूलाई संविधान च्यात्न र संसद् विघटन गर्नका लागि भोट मागिरहेको हो ? भनेर प्रश्न गरेका छन् । उनले मतदातालाई पनि उक्त प्रश्न एमाले उम्मेदवाराई गर्न आह्वान गरेका थिए । 

गोरख- २ बाट माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका दाहालले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संविधानको रक्षा गर्ने र च्यात्नेबीचको जनमतसंग्रह भएको पनि बताए ।

'एमालेको नेतृत्वमा गठबन्धन छ । त्यो गठबन्धनले यो संविधान उल्ट्याउन चाहेको छ । दुई तिहाइको नजिक हुँदा संविधान च्यान खोज्यो हामीले त्यसको विरोध गर्नुपर्ने स्थिति आयो । विशाल पार्टी बनेको थियो त्यसलाई टुक्राटुक्रा पार्नेले चुनावमा भोट माग्दै आउने नैतिक अधिकार कहाँबाट आयो ? यो प्रश्न सबैले सोध्नुपर्ने भएको छ,' उनले भने, 'संविधान च्यात्नलाई मत दिने ? फेरि संसद् विघटन गर्ने ? जनताले दु:ख गरेर अर्बौं-खर्बौं खर्चेर चुनाव गरेर बनाएको संसद् प्रतिनिधिसभालाई विघटन गर्नलाई भोट दिनुपर्ने ? भन्ने स्थिति आएको छ ।'

कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दलको गठबन्धन संविधानको रक्षा गर्न बनेको उल्लेख गर्दै दाहालले भने, 'यो चुनाव अग्रगमन र पश्चगमनका बीचमा, संविधानका रक्षक र भक्षकका बीचमा, गणतन्त्र, संघीयता, समावेशिताका पक्षधर र विपक्षीका बीचको जनमतसंग्रह जस्तो भएको छ ।'

दाहालले गठबन्धनलाई लामो समयसम्म अगाडि बढाउने दाबी गरेका छन् । उनले संविधान रक्षासँगै कार्यान्वयन र परिमार्जन तथा आर्थिक समृद्धिका लागि गठबन्धन निर्माण गर्नुपरेको बताए । 'हामी गठबन्धन परसम्म लैजान्छौं । जबसम्म देशमा आर्थिक अभियान अगाडि बढ्दैन, प्रतिगमनको खतरा टर्दैन तबसम्म यो गठबन्धन रहिरहन्छ । नेपाली कांग्रेस मा‌ओवादी र पाँच दलीय गठबन्धन निरन्तर जान्छ, शंका नगर्नुहोला,' उनले भने, 'कोही कोहीले भन्छन् फेरि चुनाव भइसकेपछि प्रचण्डले यताउती गर्छ कि क्या हो, कांग्रेस छोडेर अर्कोतिर लाग्छ कि क्या हो भन्ने  तर अहिले त्यो स्थिति छैन । म सम्पूर्ण रूपले तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु प्रतिगमन पूरै परास्त नहुँदासम्म  र देशले विकासको गती नलिँदासम्म यो गठबन्धन कायम रहन्छ ।'

त्यस्तै, दाहालले आर्थिक क्रान्तिको नेतृत्व गोरखाबाट गर्ने बताएका थिए । आफूले देशको नेतृत्व सम्हाल्ने संभावना पनि रहेको पनि उनको दाबी थियो । ‘देशको नेतृत्व सम्हाल्ने सम्भावना पनि छ, आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट गर्ने भनेर आएको छु,’ उनले भने, ‘त्यस्तो अवसर आयो भने ऐतिहासिक अवसर हुनेछ ।’ 

गोरखा क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उमेदवार राजेन्द्र बजगाईं, प्रदेशसभा तर्फका गोरखा निर्वाचन क्षेत्र १ (१)का कृष्ण धिताल र गोरखा १ (२) का नन्दप्रसाद न्यौपानेलाई दाहालले मत मागेका हुन् । उनले बुढीगण्डकी बहुउद्देशीय जलविद्यु्त परियोजना  सम्पन्न गर्ने आफ्नो सपना रहेको बताए । ‘बुढीगण्डकीले अर्थतन्त्रमा गुणात्मक फड्को मार्छ, यो गेमचेन्जर आयोजना हो,’ उनले भने, ‘यो आयोजना छिटो सम्पन्न गर्न र मुआब्जाको समस्या समाधान गर्न लागतार पहल गरेको छुँ, हाम्रो उमेदवारलाई विजयी गराएर पठाउनुभयो भने आयोजना सम्पन्न गर्ने दिशामा ठूलो ताकत प्राप्त हुन्छ । मेरो एउटा सपना बुढीगण्डकी सम्पन्न गर्ने नै हो, नेता र उमेदवारलाई साक्षी राखेर भन्न चाहन्छु, यो सपना हामीले पुरा गर्नु नै छ ।’

कान्तिपुर

Link copied successfully