चुनावी प्रचारको क्रममा रवि लामिछानेको गाडी तोडफोड- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी प्रचारको क्रममा रवि लामिछानेको गाडी तोडफोड

सत्ता गठबन्धनका कार्यकर्तासँग झडपको क्रममा रविको प्रचार टोली चढेको गाडीको अगाडिको सीसा फुटेको छ ।
रमेशकुमार पौडेल

चितवन — चुनाव प्रचारको क्रममा रहेका रवि लामिछाने र सत्ता गठबन्धनको टोलीबीच चितवन कुरिनटार नजिकै झडप भएको छ । आइतबार दिउँसो साढे तीन बजेतिर उक्त घटना भएको चितवन प्रहरीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष धर्मेन्द्र सापकोटाका अनुसार प्रचारका लागि उनका समर्थक चढेको गाडीमा गठबन्धनका कार्यकर्ताले आक्रमण गर्दा गाडीको अगाडिको सीसा फुटेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने सो पार्टीबाट चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । आइतबार मुग्लिन कुरिनटार क्षेत्रमा पार्टीले चुनाव प्रचार र घरदौलो कार्यक्रम राखेको थियो । उम्मेदवार लामिछाने सीसा फुटेको भन्दा अघिल्लो गाडीमा थिए ।

'लामिछानेको टोली अगाडि बढिरहँदा अर्को साइडबाट गठबन्धनको प्रचार टोली आइरहेको थियो । 'गठबन्धनको पनि आज घरदैलो थियो । हाम्रो टोली फर्किरहँदा अर्को साइडमा गाडीमा रहेका रविका समर्थकहरूले हाम्रा समर्थक तिर हात देखाउँदै घण्टी बजाउन थालेपछि भनाभन जस्तो भएको हो,' गठधन्धनको प्रचार टोलीमा रहेका कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले भने ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले गाडीको अगाडिको सिसा फुटेको जानकारी प्राप्त भएको बताए ।

प्रकाशित : कार्तिक २७, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

हेलिकोप्टर प्रयोगको विषयमा संवेदनशील हुनुपर्ने देखियो : थपलिया

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकोप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन् ।

उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए । उनले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकोप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउामा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए ।

‘गृहको सन्दर्भमा हेलिकोप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो । अरु कामका लागि हेलिकोप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट कामहरु होला । तर हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यु आए,' उनले भने, 'हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो । यसमा हामी भोलि एक्सनमा जानुपर्छ । एक्सनमा जाँदा फेरि कतै सिडिओ, त्यहाँको एसपी साबतिर तेर्सिने हो कि ? डिएसपी साबतिर तेर्सिने हो कि ? हेर्ने काम त उहाँहरुको हो । त्यसैले यसलाई कस्तोमा पाउने, कस्तोमा नपाउने ? ७२ घण्टासम्म उडाउन पाउने भनेर लेखिदिएको हुन्छ, संखुवासभामा घण्टा हेरेर बसेछ, ७२ घण्टामा १० ठाउँ हेलिकप्टर लिएर गयो । त्यसको ठूलो उजुरी आइरहेको छ । यस्ता कुरामा गम्भीर बनिदिनुहोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहीता बढेको बताए । उनले सामाजिक सञ्जालबाट आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराए ।

प्रकाशित : कार्तिक २७, २०७९ १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×