निर्वाचन निष्पक्ष गर्नुस् : निर्वाचन आयुक्त तुलाधर

कार्तिक २७, २०७९

आश गुरुङ

लमजुङ — निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निष्पक्ष रुपमा निर्वाचन गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिएकी छन् ।

उनले स्थानीय तहको चुनावमा केही कमीकमजोरी भएको गुनासो आएको बताइन् । ‘निर्वाचन निष्पक्ष हुनुपर्छ । कर्मचारी कसैको पक्ष र विपक्षमा उभिन हुँदैन,’ बेंसीसहरमा आइतबार आयोजित मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम उद्घाटन गर्दै उनले भनिन् । उनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहितामा कडाइ गरिएको बताइन् । ‘आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई छैन’ उनले भनिन् ।

आयुक्त तुलाधरले निर्वाचनको क्रममा केही घटना हुन नदिन, मतदान स्थगित हुन नदिन, अबाञ्छित गतिविधि हुन नदिन मतदान अधिकृत र सहायक मतदान अधिकृत चनाखो हुनुपर्ने बताइन् । ‘निर्वाचन सहज रुपमा सम्पन्न गराउने हामी सबैको जिम्मेवारी हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी कसैको प्रलोभनमा फस्नु भएन । डर, त्रास, अवरोधबाट बाहिर रहेर तटस्थ, इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, म अनुरोध गर्न चाहन्छु ।’

उनले मतदातालाई ढुक्कसँग स्वतन्त्र रुपमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न, मतदाताको संरक्षण गर्न जिल्ला प्रशासन नेतृत्वको सुरक्षा संयन्त्रलाई आग्रह गरिन् । ‘मतदान केन्द्रलाई अपांगमैत्री, लैंगिकमैत्री, जेष्ठ नागरिकमैत्री बनाउन आवश्यक छ,’ उनले भनिन् । उनले विगतका निर्वाचनमा सुरक्षा निकाय, कर्मचारी, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत कर्मचारीले राम्रो काम गरेको भन्दै प्रशंसा समेत गरिन् ।

‘कर्मचारीलाई उच्च मनोबलका साथ मंसिर १ गतेभित्र मतदान केन्द्रमा खटिन आग्रह गर्छु । उम्मेदवारका लागि र मतदाताका लागि सौहार्दपूर्ण वातावरण बनाउन आग्रह गर्छु,’ उनले भनिन्, ‘निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृत कोसेढुंगा साबित हुनुपर्छ ।’ उनले निर्वाचनको समय सूचना प्रवाह गर्न ई–बुलेटिन प्रकाशन गरेको, जिज्ञासा राख्न टोल फ्रि नं. ११०२ नम्बरको फ्रि–कल सेन्टरको व्यवस्था गरेको बताइन् । उनले निर्वाचनका बेला पत्रकार र पर्यवेक्षक आउँदा सहजै सूचना दिन र वातावरण बनाउन अनुरोध गरिन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङले आइतबार प्रदेशसभा ‘२’ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । बेंसीसहरको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा ३ समूहका विभाजन गरी तालिम दिएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । उनीहरुलाई निर्वाचन आचारसंहिता, मतदानस्थलमा पुगेपछिको काम, कर्तव्य, अधिकारको बारेमा जानकारी गराइएको निर्वाचन कार्यालयका सूचना अधिकारी जिबाखर शर्माले बताए ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश शिवप्रसाद खनालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आयोगले आचारसंहितामा कडाइ गरेको बताए । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले स्वतन्त्र, निपष्क्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने दाबी गरे ।

निर्वाचान कार्यालयका अनुसार लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र थप भएसंगै १ सय ३० वटा मतदानस्थलमा १ सय ८८ वटा मतदान केन्द्र छन् । लमजुङमा १ लाख ३३ हजार ५ सय ५९ मतदाता छन् । यसमा महिला ६८ हजार २ सय ८८ र पुरुष ६५ हजार २ सय ७१ मतदाता छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully