शब्दभन्दा कामले बोल्छ : सुन्दरसँग प्रेरणादायी यात्रा

सुन्दर पौडेल ‘म बोल्न र सुन्न सक्दिनँ’ लेखिएको हेल्मेट लगाएर 'इन्ड्राइभ' गर्छन् । त्यति मात्र होइन, उनी बिहान बेलुका रेस्टुँरामा सेफको काम गर्छन् भने फुर्सदमा रिल र भ्लग बनाउँछन्, जुन सामाजिक सञ्जालमा चर्चितसमेत बन्दैछन् ।

जेष्ठ २४, २०८३

आरती पौडेल

Actions speak louder than words: An inspiring journey with Sundar

What you should know

काठमाडौँ — ‘म बोल्न र सुन्न सक्दिनँ’ लेखिएको हेल्मेट लगाएर एक राइडर बल्खु, सुन्धारा, कोटेश्वर, बौद्ध, लगनखेलतिर स्कुटरमा ‘प्यासेन्जर’ लिएर हुइँकिरहेका देखिन्छन् । सिमलटाँडी, चितवनका २६ वर्षीय सुन्दर पौडेल पेसाले सेफ हुन् । तर उनी राइडसेयर चालकसमेत हुन् । काठमाडौंको बुढानीलकण्ठमा बस्दै आएका उनी बोल्न र सुन्न सक्दैनन् । केहीलाई 'टेक्स्ट म्यासेज' पठाउँछन् तर केहीसँग उनी सांकेतिक भाषामै कुरा गर्छन् । 

सुरुवाती दिन सुन्दरका लागि सहज भने थिएनन् । मानिसहरू ‘के काम पाएर के गर्ला र ?’ भन्थे । धेरै त उनको सांकेतिक संवादलाई बेवास्ता गर्थे । यस्ता व्यवहारले उनको मन कटक्क खाएको छ । तर सुन्दर आफैं केही गर्नुपर्छ र गर्न सक्छु भन्नेमा ढुक्क थिए ।  अहिले उनी काठमाडौंको एक रेस्टुराँमा सेफ हुन् । 

२ वर्षदेखि उनी राइडसेयर चालकका रूपमा समेत काम गरेका छन् । त्यही व्यस्तताबीच फुर्सद निकालेर ‘रिल्स’ र ‘भ्लग’ समेत बनाउँछन् उनी । सामाजिक सञ्जालमा उनको कामको प्रशंसा भइरहेकै हुन्छ । 

संघर्षको यात्रामा सुन्दर 

भविष्यमा गएर के गर्ला भन्नेहरूको अगाडि आफैंले कमाएर परिवार पाल्न पाउँदा खुसी लाग्छ : राइडर सुन्दर पौडेल सुन्दर जन्मजात नै बोल्न र सुन्न सक्दैनथे । सामान्य परिवारमा जन्मेका सुन्दरको बाल्यकालका सुरुवाती दिन निकै कठिन थिए । उनले बोल्न र सुन्न सक्दैनन् भन्ने कुरा परिवारलाई पनि महसुस भएको थिएन । ‘विस्तारै ठूलो हुँदै जाँदा साथीभाइ र परिवारसँग संवाद गर्नै कठिन भयो,’ उनी भन्छन् ।  कक्षा २ सम्म गाउँकै स्कुलमा दु:खजिलो गरी पढे ।  कक्षा ३ मा काठमाडौंको ‘केन्द्रीय बहिरा मावि’ मा  भर्ना भए । विस्तारै सांकेतिक भाषा बोल्न सक्ने भए । आफ्ना कुरा अरूसँग राख्न सक्ने भए । त्यही विद्यालयबाट १२ पास भए । अहिले त्यहीँ बीएड तेस्रो वर्षमा अध्ययनरत छन् उनी । 

रेस्टुराँमा सेफको काम गर्न लागेको ५ वर्ष भइसक्यो । खालि समय निकालेर राइडसेयर चलाउँछन् उनी । त्यसबाट पनि केही पैसा कमाउँछन् उनी । २ वर्षमा उनले ५ हजारभन्दा बढी राइड पूरा गरिसकेका छन् । ‘महँगी बढेको छ । खालि समयमा काम गरेँ भने थोरै भए पनि भरथेग हुन्छ भनेर राइडसेयर चलाएँ,’ उनले भने । 

सुन्दर बिहान ६ देखि १२ बजेसम्म रेस्टुराँमा काम गर्छन् । त्यसपछिको खालि समयमा उनी ‘इनड्राइभ’ चलाउँछन् । बेलुका ६ बजेदेखि १० बजेसम्म पनि उनी रेस्टुराँमै काम गर्छन् । त्यसपछि मात्र उनी कोठा पुग्छन् ।  ‘प्राय:जसो म घर पुग्दा श्रीमती र छोरी निदाइसकेका हुन्छन् । निकै व्यस्त हुन्छु,’ उनले भने,‘तर त्यही काम गरेर नै परिवार पालेको छु ।’ दिनभरिको दौडधुपका बीच उनले उच्च शिक्षालाई निरन्तरता दिएका छन् । राइडिङका क्रममा उनी थरिथरिका मान्छे भेट्छन्, त्यसमै उनको मन रमाइरहेको पनि छ । यसले उनलाई स्वतन्त्र पनि महसुस गराउँछ ।  राइडिङकै क्रममा खिचेका भिडियो उनले टिकटक, फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेका छन् । यसैले उनको पृथक् पहिचान बनेको छ, अनि तारिफ पनि पाइरहेका छन् । 

उनी राइड अक्सेप्ट गरेपछि टेक्स्ट गर्छन् । र, लोकेसनमै आउँछु भन्ने सन्देश पठाउँछन् । तर कहिलेकाहीँ भने समस्यामा पर्छन् ।  ‘म्यासेज पठाउँदा पनि केहीले फोन गर्नुहुन्छ, बोल्न सक्दिनँ । त्यतिबेला भने अलि गाह्रै हुन्छ,’ उनले भने । 

Actions speak louder than words: An inspiring journey with Sundar

ट्राफिक नियम पालना गर्न पनि उनलाई खासै समस्या छैन । ‘ट्राफिक प्रहरीसँग मलाई ठूलो समस्या आएको छैन । म हिँड्ने रुटमा प्राय: धेरैलाई मैले कान सुन्दिनँ भनेर थाहा नै छ । चेकिङमा पनि ट्राफिक प्रहरीले राम्रै व्यवहार गर्नु भएको छ,’ उनी भन्छन् । सुरक्षित रूपमा मोटरसाइकल चलाउँदा अप्ठेरो नपरेको उनी बताउँछन् । 

परिवारका लागि समय व्यवस्थापन कसरी गर्दैछन् त उनी ? ‘महिनामा २६ दिन काम गर्छु, धेरैजसो सोमबार बिदा लिन्छु । बिदामा परिवारलाई समय दिन्छु । केही समय पढाइलाई पनि दिन्छु ।’

सुन्दर राइडिङबाट महिनामा  पेट्रोल र कमिसन घटाएर २० हजारजति बचाउँछन् । रेस्टुराँमा काम गरेर उनी २० हजारहाराहारी नै कमाउँछन् ।  कोठाभाडा र घरखर्च गरी २५ हजार रुपैयाँसम्म खर्च हुन्छ । बचेको १५ हजार बैंकमा जम्मा गर्छन् । कहिलेकाहीँ गाउँमा रहेका बुवाआमालाई समेत पैसा पठाउँछन् उनी । ‘परिवारमा ९ जना छौँ । आमाबा खेतीकिसानी नै गर्नुहुन्छ,’ उनले भने ।   

Actions speak louder than words: An inspiring journey with Sundar

गुल्मीकी सपना पचभैया नक्सालस्थित एक कोरियन रेस्टुराँमा काम गर्छिन् । उनी हरेकदिन नक्सालदेखि पासीकोटसम्म ‘इन्ड्राइभ’ मै ओहोरदोहोर गर्छिन् ।  संयोगले प्राय: सुन्दरलाई भेट्छिन् ।  ‘काम सकेर जाने बेला रातिको १० बज्छ । इन्ड्राइभ गर्दा प्राय: सुन्दरले नै राइड अक्सेप्ट गर्नुहुन्छ,’ सपना भन्छिन् । 

सुरुवाती दिनमा लोकेसनसम्म आउन म्यासेजबाट नै कुरा हुन्थ्थो ।  उनी भन्छिन्,‘अहिले भने सिधै मेरो लोकेसनमै आउनु हुन्छ ।’ सुन्दरसँग यात्रा गर्दा सहज हुने गरेको उनी बताउँछिन् । ‘सडकमा हिँड्दा सबैभन्दा महत्त्वपूर्ण भनेको सुरक्षित यात्रा नै हो । उहाँले एकदमै राम्रोसँग बाइक चलाउनुहुन्छ,’ उनले भनिन् । हतार नगरी स्कुटर चलाउने भएकाले सुन्दरलाई धेरैले सपनाले झैं प्रशंसा गर्ने गरेका छन् । 

०००

मुना पौडेलसँग सुन्दरले ३ वर्ष अगाडि  विवाह गरे ।  २ वर्षकी छोरी छन् । श्रीमान्‌को कामलाई सबैले प्रशंसा गर्दा उनी पनि खुसी छन् ।

‘फेसबुकदेखि टिकटकसम्म सबै ठाउँमा उहाँलाई सबैले राम्रो भनेको देख्दा र साथ दिएको देख्दा निकै खुसी लाग्छ,’ उनले भनिन्,‘परिवारका लागि दिनरात नभनी मेहनत गर्नुहुन्छ । बोल्न नसक्ने, कान नसुन्ने भए पनि उहाँको मेहनत कसैको भन्दा कम छैन ।’

मुना सुन्दरसँग सांकेतिक भाषामै कुरा गर्छिन् । केही समय उनलाई बोल्न अलि असहज भयो । ‘अहिले त हाम्रो कुरा संकेतमार्फत नै हुन्छ । बिहे भएपछि उहाँले नै सिकाउनु भएको हो,’ उनले भनिन् ।  

Actions speak louder than words: An inspiring journey with Sundar

‘शब्दभन्दा धेरै कामले बोल्छ’  भन्ने कुरामा विश्वास राख्छन् सुन्दर । संघर्षका बीच भविष्यको सुन्दर सपना कल्पिन्छन् उनी ।  ‘पैसा जम्मा गरेर छोरीलाई राम्रो स्कुलमा पढाउने रहर छ । डिजिटल क्रिएटर बनेर श्रीमती, आमाबुबालाई सहयोग गर्न इच्छा छ,’ उनले भने । गरिब, असहाय र अपांगता भएका व्यक्तिलाई समेत सहयोग गर्न चाहन्छन् उनी । 

‘कन्टेन्ट क्रिएसन’ मा  सुन्दरलाई साथी समिरले सहयोग गर्छन् । ‘समिर पनि बोल्न र सुन्न सक्दैनन् । तर उनले मलाई कन्टेन्ट क्रिएसन र भिडियो बनाउन प्रोत्साहन दिँदै आएका छन्,’ सुन्दर भन्छन् । प्रविधिले सुन्दरको जीवन सहज बनाइदिएको छ । ‘टेक्स्ट म्यासेज, भिजुअल कम्युनिकेसन र प्रविधिमार्फत प्रभावकारी रूपमा संवाद गर्ने तरिका सिकेँ,’ उनले भने,‘निकै खुसी लाग्छ । यी सीपहरूले मलाई मेरो अध्ययन र व्यावसायिक जीवन दुवैमा सहयोग गरेका छन् ।’ 

Actions speak louder than words: An inspiring journey with Sundar

सुन्दर चेस पनि खेल्छन् । उनी ‘डेफ वर्ल्ड च्याम्पियनसिप’ मा भाग लिन विभिन्न देशसमेत पुगे । ‘मलाई चेस खेल्न निकै मन पर्छ । चेस खेल्नै थाइल्यान्ड र इटली जाने मौका पाएँ मिल्यो । विभिन्न देशका खेलाडीसँग खेल्न पाउँखा खुसी थिएँ,’ उनले भने ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully