अभिनयको तलतल मेट्न टिकटकतिर कलाकार

फ्यानसँग प्रत्यक्ष संवाद गर्न, आफ्नो कामको प्रचार गर्न र डिजिटल पुस्तासँग जोडिन टिकटक कलाकारहरूका लागि प्रमुख माध्यम बन्दै गएको छ ।

जेष्ठ २४, २०८३

रीना मोक्तान

What you should know

काठमाडौँ — कुनै समय थियो, दर्शकले मनपर्ने आफ्ना कलाकारलाई हेर्न फिल्मी पर्दा वा टेलिभिजनको स्क्रिनमा कुर्नुपर्थ्यो । अब त्यो समय रहेन । उनीहरूको दैनिकीदेखि रमाइला क्षणसम्म केही सेकेन्डमै मोबाइल-स्क्रिनमा देख्न पाइन्छ ।

यही परिवर्तनसँगै नेपाली कलाकार टिकटकतिर आकर्षित भएका छन्, जहाँ उनीहरू अभिनयको रहर पूरा गर्नुका साथै फ्यानसँगको सम्बन्धलाई पनि निरन्तर ताजा राखिरहेका छन् ।

नेपाली चलचित्रका पुराना र चर्चित कलाकारहरू पछिल्लो समय टिकटकमा उल्लेख्य रूपमा सक्रिय देखिएका हुन् । कृष्ण मल्ल, धुर्मुस–सुन्तली, झरना थापा, दीपाश्री निरौला र निरुता सिंहलगायत कलाकारले टिकटकमार्फत आफ्ना दैनिकी, सिर्जना र अनुभव दर्शकमाझ पुर्‍याइरहेका छन् । फ्यानसँग प्रत्यक्ष संवाद गर्न, आफ्नो कामको प्रचार गर्न र डिजिटल पुस्तासँग जोडिन टिकटक उनीहरूको प्रमुख माध्यम बन्दै गएको छ ।

दृश्य १ 

पृष्ठभूमिमा कार । त्यसकै छेवैमा उभिएका छन्, एक जोडी । कारमा घोप्टो पर्दै पुरुष पात्र, हिरो शैलीमा जुल्फी हल्लाउँदै महिलातर्फ फर्कन्छन् । गोजीमा हात हाल्दै कारमा अढेसो लागेर उनी महिलातर्फ हेर्दै लिपसिंक थाल्छन्- 'वारिपारि फूलैफूलले भरिएको डाँडोजस्तो । सजाऊँला तिम्रो जोवन, मायाले ।'

'माया' शब्द उच्चारण गर्दा उनी दुई हात आफ्नो छातीतर्फ तेर्स्याउँछन् । कहिले महिला पात्रलाई डोर्‍याउँदै- 'सजाउँला तिम्रो जोवन' भनी गाउँछन् । महिला पात्र भने केही नबोली मुसुक्क मुस्कुराइरहन्छिन् ।

यो दृश्य हो, कलाकार कृष्ण मल्ल र शर्मिला मल्लले बनाएको टिकटक भिडियोको ।

फिल्म 'बाँसुरी'मा समावेश 'मिरमिरे साँझ'मा बोलको गीतको अंशमा यो दम्पतीले टिकटक बनाएका हुन् । कृष्ण मल्लको अकाउन्टमा 'पिन्ड्' गरिएको यो टिकटकलाई अहिलेसम्म ५ लाखभन्दा बढीले हेरेका छन् । यो भिडियोमा देखिएका यी दुई दुई दर्शकबीच चर्चित कलाकार हुन् ।  

दृश्य २ 

यो दृश्यमा करेसाबारी खन्दै गरेको अवस्थामा देखिन्छन्, कलाकार सीताराम कट्टेल उर्फ धुर्मुस । धुर्मुस सुन्तली नामक अकाउन्टबाट सार्वजनिक गरिएको यो भिडियोको पृष्ठभूमिमा सुनिने आवाज हो- सुन्तलीको (कुञ्जना घिमिरे) ।

Actors turn to TikTok to erase the flaws of acting

धुर्मुसले करेसाबारी खन्दै गर्दा सुन्तली भन्छिन, '…अमेरिका पनि यसरी तरकारी लाउनुपर्छ, बारी खन्नुपर्छ भन्ने त सोचेकै थिएन होला नि ।' बारी खनिरहेका धुर्मुसले फ्याट्ट भन्छन्,'कल्पनै थिएन' । त्यसपछि सुन्तली हाँस्छिन् ।

यो भिडियोमा सुन्तलीले करेसाबारीमा फलेको हरिया सागसब्जीको भिडियो पनि राखेकी छन् । अर्थात् यसमा यही बारीमा फलेको टमाटरदेखि काँक्रा अनि मुला फलेको दृश्यलाई भिडियो जोड्दै देखाइएको छ । अमेरिकामा पुगेर सुन्तलीले बनाइएको यो टिकटकलाई २ लाख बढीले हेरेका छन् । 

दृश्य ३ 

मात्र ४ जनालाई 'फलो' गरिएको कलाकार झरना थापाको अकाउन्टबाट एक साताअघि एउटा भिडियो सार्वजनिक भयो । जसमा उनी आकाशमा प्याराग्लाइडिङ गरिरहेको देखिन्छ । यो भिडियोमा उनी मस्तले आकाशमा उडिरहेकी छन् । हावा बेजोड चलेको छ, उनी खुसीले चिच्च्याउँछिन् । दुई हातले क्यामेरा समाएकी छन् । कहिले क्यामेरातिर हेर्छिन् त कहिले उड्दै गर्दा देखिने दृश्य अवलोकन गर्छिन् । अधिकांश समय क्यामेरा हेरेर उनी रमाउँछिन् ।

टिकटकमा राखिएको १ मिनेट ३६ सेकेन्डको यो भिडियोमा कलाकार थापाको प्याराग्लाइडिङ गर्दाको खुसी कैद भएको छ । 

०००

३ वर्षअघि अभिनेता राजेश हमालले कान्तिपुरसँग निकै रोचक प्रसंग सुनाएका थिए । जसमा समयसँगै फड्को मारेको प्रविधि र सामाजिक सञ्जालको विषयबारे हमालले बोलेका थिए । उनले भनेका थिए,'सबैजना फेमकै पछाडि दौडिरहेका छन् । सबै जनामा कसरी पपुलर हुने भन्ने भूत सवार भइरहेको छ ।'

हमालले त्यतिबेला टिकटकतिर एउटै घरको नातिदेखि बाजेसम्म सबै कलाकार हुने गरेको पनि सुनाए । 'हामी व्यावसायिक कलाकारलाई क्यामराका अघि कता कता संकोच लाग्छ, उहाँहरू टिकटक भिडियोका लागि जहाँकहीँ निर्धक्कै नाच्न थाल्नुहुन्छ । हामीसँग भेट हुँदा पनि पहिले सेल्फी लिनुहुन्छ, अनि एउटा टिकटक बनाउँछु है भनेर नाच्न सुरु गर्नुहुन्छ । यो भनेको फेमको चाहना हुनु हो,' हमालले भनेका थिए, 'सबैले मलाई हेरून्, मेरै बारेमा चिन्ता राखिदिऊन् भन्ने छ । यस्तो मनोविज्ञान छ सबैमा ।' 

Actors turn to TikTok to erase the flaws of acting

हमालले भनेझैं कोही चर्चामा आउन टिकटक बनाउँछन् । कोहीले मनोरञ्जनकै लागि भिडियो बनाइरहेका हुन्छन् । पछिल्लो समय फिल्म प्रचारकै लागि पनि टिकटक पहिलो रोजाइ बन्ने गरेको छ । जसले जुन धेयले टिकटक चलाइरहे पनि केही पुराना कलाकारले भने आफ्ना फ्यानसँग जोडिन पनि टिकटक बनाइरहेको देखिन्छ ।

कलाकार निरुता सिंहले एक वर्षअघि आफ्ना प्रशंसकसँग जोडिनकै लागि आफूले टिकटक खोलेको भन्दै भिडियो नै बनाएकी थिइन् । 'मलाई जतिले माया गर्नुहुन्छ, उहाँहरुसँग सम्पर्कमा आउनलाई फेरि मैले यो टिकटक सुरु गरेको छु,' सिंहले भनिन् ।

'छत्तिसको आँकडा' भन्ने फिल्मको छायांकनका लागि नेपाल आउँदा निरुताले टिकटकमा अकाउन्ट खोलेकी थिइन् । यसअघि भारतमा टिकटक ब्यान्ड हुँदा उनको अकाउन्ट पनि बन्द भयो । 'यतिका वर्षदेखि मलाई माया गर्ने जति मेरो दर्शक हुनुहुन्छ, उहाँहरु त देशभन्दा बाहिर हुनुहुन्छ । टिकटकमार्फत उहाँहरुले  निरुता सिंह के गर्दै छ ? कहाँ छ भन्ने चाँडै थाहा पाउन सक्नुहुँदो रहेछ,' निरुताले भनिन् ।

Actors turn to TikTok to erase the flaws of acting

निरुताले भनेझैं अमेरिका पुगेका धुर्मुस-सुन्तली के गर्दै छन् ? उनीहरु कहाँ छन् ? उनीहरुले बनाउने टिकटक भिडियोबाटै फ्यानले जान्न पाउँछन् । अमेरिका पुगेका केदार घिमिरे (माग्ने बुढा) पनि अहिले टिकटकमा सक्रिय देखिन्छन् । 'आम्मामा ल गाँठे, यो समुन्द्रमा आको बेला चाहिँ है, सप्पै समुन्द्र नि आउने, अनि म नि देखिने गरी एउटा फोटो खिचिदेउ ल,' भन्ने आफ्नै संवादमा समुन्द्रमा फोटो खिच्दै गरेको भिडियो बनाएर माग्नेले टिकटकतिर पोट्याएका छन् । भिडियोमा लेखिएको छ- नयाँ आइडी । पुरानो आइडी ह्याक भएसी उनले यो अकाउन्ट खोलेका हुन् । 

कलाकार कृष्ण मल्ल फुर्सद पाउने बित्तिकै टिकटक बनाइहाल्छन् । टिकटकमा भिडियो बनाउन उनलाई औधी मनपर्छ । 'नयाँ-नयाँ गीत आयो भने पनि भिडियो बनाउँछु । पुरानो गीत त मनपर्छ,' कलाकार मल्लले भने ।

पत्नी शर्मिलासँग बनाएको भिडियोलाई त अत्यधिक दर्शकले मनपराइदिएको उनी सुनाउँछन् । 'हजुरहरुको फिल्म हेर्न नपाए पनि टिकटकबाटै मनोरञ्जन लिइरहेका छौं' भनेर उनको दम्पतीले बनाएको भिडियोमा फ्यानले कमेन्ट गर्छन् । दर्शकको यस्तै सकरात्मक कमेन्टले नै टिकटक भिडियो बनाउन उत्साह मिलेको कृष्णले सुनाए । उनी कुनै गीत मनपरिहाले, टिकटक बनाइहाल्छन् । पुरानो गीतलाई भने खोजेरै पनि भिडियो बनाउन भ्याउँछन् ।

उनी आफ्ना फ्यानसँग जोडिन यसरी टिकटकतिर जोडिएका हुन् । उनले फिल्म नगरेको ३ वर्ष भयो । उनी प्रत्येक वर्ष अमेरिकामा हुने ग्लोबल नेपाली फिल्म अवार्ड भने गर्छन् ।

टिकटकमा छोटा भिडियो अप्लोड हुने हुँदा उनलाई यसले आकर्षित गरेको हो । फिल्मतिर अभिनय नगर्दा अभिनयको तलतल टिकटकले नै मेटिदिने गरेको अनुभव साझा गर्छन्, उनी । 'अभिनयको तलतल टिकटकले पनि मेटिदिन्छ । टिकटक त बनाउन पनि सजिलो । हेर्न पनि समय नलाग्ने । फिल्म हेर्न त २ घण्टा लाग्छ । अहिले त छोटो भिडियो नै चल्छ,' उनले भने, 'अहिलेको समय नै डिजिटल भइसक्यो । त्यही अनुसार अपडेट पनि हुनुपर्‍यो नि ।'

व्यापारिक प्रयोजनदेखि मनोरञ्जन र शिक्षाकै लागि पनि टिकटक प्रयोग भएको देख्दा यसलाई युगान्तकारी विषय रहेको धारणा राख्छन् । 

फ्यानसँग जोडिन सहज हुने र छिट्टै दर्शकबीच पुग्ने हुँदा टिकटक सजिलो माध्यम बनेको कलाकार दीपाश्री निरौला भन्छिन् । ‘फ्यानसँग जोडिने शसक्त माध्यम हो । पब्लिसिटी गर्न मिल्ने गजब्बको ठाउँ,’ उनी भन्छिन् ।

Actors turn to TikTok to erase the flaws of acting

उनी आफ्नो फिल्म प्रदर्शनताका अलि बढी टिकटकतिर सक्रिय हुन्छिन् । ‘म त अरुको गीतमा पनि टिकटक बनाउँछु । आफ्नो कुरा दर्शकबीच पुर्‍याउन सकिन्छ । लाइभमा यसो गर्नुस् भनेर कतिले मलाई सल्लाह दिनुहुन्छ । अहिले कतिजनाले यहीँबाट व्यापार धेरै गर्नुहुन्छ । टिकटकको उपयोगिता धेरै छ,’ उनले भनिन् । 

त्यसो त कलाकार विपना थापा त्यत्ति टिकटकतिर सक्रिय छैनन् । तर, युट्युबतिर भ्लग्स बनाएर सार्वजनिक गर्दै हिँड्ने उनी टिकटकजस्तो प्लेटफर्मलाई सकरात्मक तरिकाले प्रयोग गर्नुपर्ने धारणा राख्छिन् । 'अहिलेको समय नै डिजिटल हो । देश नै सोसल मिडियाबाट चलिरहेको छ । यस्तो प्लेटफर्म त हामी कलाकारका लागि सकरात्मक नै हो ।तर म टिकटक एकदम कम प्रयोग गर्छु । तर सामाजिक सञ्जालमा देशको समाचार छिटो र छरितो पाउन सकिन्छ,' विपनाले भनिन्, 'तर यो अलि पोजिटिभभन्दा पनि नेगेटिभतिर अगाडि बढेको देख्छु । नकरात्मक हल्ला र हंगामाको पछाडि त्यसै सबैजना दौडेको देख्छु । यो राम्र होइन । सामाजिक सञ्जालका सबै क्षेत्रमा यही भएको देख्छु । राम्रो भाइब्सका कन्टेन्ट पनि हुन्छन् । तर, धेरै प्रतिशत नकरात्मकतिर गइरहेको देख्छु ।'

उनी आँखा बन्द गरेर नकरात्मकतातर्फ दौडिनुलाई गलत रहेको बताउँछिन् । 'आ-बाट आमा २' को छायांकनका लागि नेपाल आइपुगेकी उनी भन्छिन्, 'आँखा बन्द गरेर भेडाजस्तै त्यही नकरात्मकतातिर दौडिनु राम्रो सिस्टम होइन । यसलाई सकरात्मक तरिकाले प्रयोग गर्न जान्नुपर्छ ।' 

हमाल टिकटकलाई सफलताको मापदण्ड बनाइँदा निराश भइने उनले बताइन् । 'राम्रो तरिकाले भाइरल भयो भने त ठिक छ तर नराम्रा तरिकाले भाइरल भएको छ भने पनि मतलब छैन । ठिक छ रमाइलो गर्नोस् । तर यसैलाई सफलताको मापदण्ड बनाउनुभयो र त्योअनुसार भएन भने निराशा भइन्छ । कसैले भयंकर ठूलो आशा दिएको छ र त्योभन्दा कम भयो भने तपाईं निराश हुनुहुनेछ,' उनले कान्तिपुरलाई भनेकी थिइन्,'यस्तो किन हुन्छ भने तुलना गर्ने मनोविज्ञान त मनुष्यमा छ । पहिला आफ्नो परिवार, छिमेकी या आफ्नो विद्यालयमा दाँज्ने काम हुन्थ्यो । तर, अहिले तपाईं चिन्दै नचिनेको व्यक्तिसँग आफ्नो लवाइ, खवाइ जीवनशैली दाँज्दै हुनुहुन्छ । यो त असाध्यै अप्राकृतिक हो ।'

दीपाश्री यसलाई सकरात्मक पाटोका रुपमा हेर्नुपर्ने बताउँछिन् । ‘जे पनि कुरा यहाँ चाँडै भाइरल हुन्छ । त्यसैले यो प्लेटफर्म त हामी फिल्मकर्मीका लागि निकै उपयुक्त छ । चाँडो भन्दा चाँडो आफ्नो कुरा थुप्रो दर्शकबीच पुर्‍याउन सकिन्छ,’ उनले सुनाइन् ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully