‘लभ सेन्सेसन’ सार्वजनिक भएको भोलीपल्टै ५ जूनमा बेलायतको ‘आईट्युन्स टप सङ्स चार्ट’मा शीर्ष स्थानमा आएको थियो ।
What you should know
लन्डन — उमेरले ६७ वर्ष नाघेपनि म्याडोनाको सांगीतिक सक्रियता अझै घटेको छैन । २५ वर्षको उमेरमा पहिलो एल्बम ‘म्याडोना’ ल्याएकी गायिकाले ४३ वर्षपछि यसै महिना १५ औं एल्बमका रूपमा ‘कन्फेसन्स २’ ल्याउँदैछिन् ।
अझै पनि दर्शक, स्रोतामा उनको क्रेज घटेको छैन भन्ने गतिलो प्रमाण गत ४ जुनमा टाइम्स स्क्वायरको उनको कन्सर्टमा उपस्थित हजारौं दर्शक पनि हुन् । जहाँ म्याडोनाले ग्रामी अवार्ड जितेको एल्बम ‘कन्फेसन्स अन अ डान्स फ्लोर’ का धेरैजसो गीत गाएकी थिइन् । जसमा ‘हंग अप’, ‘गेट टूगेदर’ देखि ‘आई लभ न्युयोर्क’ सम्म समावेश थिए ।
उनको यो कन्सर्ट महिनादिन भित्रै सार्वजनिक गर्ने तरखरमा रहेको एल्बम ‘कन्फेसन्स २’ को प्रचारका लागि आयोजना गरिएको थियो । १६ वटा गीत समावेश हुने यो एल्बम २००५ को उनकै एल्बम ‘कन्फेसन्स अन अ डान्स फ्लोर’ को सिक्वेल हो । टाइम्स स्क्वायरमा उनले नयाँ एल्बमको तेस्रो गीतका रूपमा ‘लभ सेन्सेसन’ सार्वजनिक गरेकी थिइन् ।
म्याडोनाले नयाँ गीत ‘लभ सेन्सेसन’ लाई स्टेजमा गाए लगत्तै संगीत पारखीमाझ लोकप्रीय भइसकेको छ । उक्त गीतलाई विभिन्न स्ट्रीमिङ प्लेटफर्म र डाउनोड स्टोरहरुमा सेयर गरेको छोटो समयमा नै बेलायतमा ‘बेस्टसेलर’ बन्यो । ‘लभ सेन्सेसन’ सार्वजनिक भएको भोलीपल्टै ५ जूनमा बेलायतको ‘आईट्युन्स टप सङ्स चार्ट’मा शीर्ष स्थानमा आएको थियो । टेलर स्वीफ्टको ‘आई न्यू इट, आई न्यू यू’ लाई पछि पार्दै उनको गीत आईट्युन्सको चार्ट टपमा आएको थियो । तर यतिबेला भने फेरि स्वीफ्टले म्याडोनालाई दोस्रो स्थानमा धकेल्दै पहिलो बनिसकेकी छन् । स्वीफ्टले उक्त गीत आफैंले लेखेर फिल्म ‘टोय स्टोरी ५’ का लागि गाएकी थिइन् ।
म्याडोनाले यसअघि नयाँ एल्बमका दुई ट्रयाक ‘ब्रींग योर लभ’ र ‘आई फील सो फ्री’ पनि सार्वजनिक गरिसकेकी छन् । सब्रिना कार्पेन्टरसँगको युगल गीत ‘ब्रींग योर लभ’ आईट्युन्स चार्टमा आइतबार बिहानसम्म ५७ औं स्थानमा छ भने ‘आई फील सो फ्री’ ६९ औं स्थानमा छ । त्यसैगरी, ‘लभ सेन्सेसन’ को रेडियो इडिट भर्सन चार्टको १३ औं स्थानमा छ ।
