के रोबोटले सगरमाथा आरोहण गर्ला ?

अमेरिकी कम्पनीले चीनमा निर्मित मानवरूपी रोबोटलाई सगरमाथा आरोहण गराउने बाटो खोजिरहेको छ, तर कानुनको अभावमा यो काम अनिश्चित छ ।

जेष्ठ ३, २०८३

संगम प्रसाई

Will a robot climb Mount Everest?

What you should know

काठमाडौँ — गत महिना बेइजिङमा आयोजित हाफ म्याराथन दौडमा चीनमा निर्मित दर्जनौं मानवरूपी रोबोटले दौडिँदै दर्शकलाई चकित पारेका थिए । ती रोबोटले खेलकुद क्षमता र स्वचालित नेभिगेसनमा भएको उल्लेखनीय प्रगति प्रदर्शन गरेका थिए, जसले विज्ञहरूका अनुसार रोबोटिक्सको भविष्यलाई तीव्र रूपमा बदलिरहेको छ ।

तीमध्ये एक रोबोटले अझ कठिन चुनौती सामना गर्न सक्छ : विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण ।

अप्रिल १९ मा बेइजिङमा आयोजित हाफ म्याराथनमा १०० भन्दा बढी रोबोट टोली सहभागी भएका थिए । कतिपय रोबोटले २१ किलोमिटर दूरी व्यावसायिक खेलाडीभन्दा छिटो पूरा गरेका थिए ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरले विकास गरेको विजेता मानवरूपी रोबोटले ५० मिनेट २६ सेकेन्डमा दौड पूरा गरेको थियो । यो समय मानव विजेताभन्दा छिटो र युगान्डाली धावक जेकब किप्लिमोले मार्च ८ मा लिस्बनमा बनाएको ५७ मिनेट २० सेकेन्डको हालको हाफ म्याराथन विश्व कीर्तिमानभन्दा पनि केही मिनेट कम थियो ।

यही प्रगतिबाट प्रेरित भएर अमेरिकामा दर्ता भएको गैरनाफामूलक संस्था जिओ‌लोजिक डोमले नेपालस्थित फोर्टिन पिक्स एक्सपिडिसन प्रालिसँगको सहकार्यमा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा सगरमाथामा मानवरूपी रोबोट प्रयोग गर्ने प्रस्ताव गरेको छ ।

यस परियोजनाको नाम पेम्बा राखिएको छ ।

परियोजनाको उद्देश्य रोबोटले भविष्यमा फोहोर संकलन, हिमनदी अनुगमन तथा जोखिमपूर्ण हिमाली कार्यमा सहयोग गर्न सक्छ कि सक्दैन भन्ने परीक्षण गर्नु हो । सगरमाथामा अझै टनका टन फोहोरको थुप्रो बाँकी रहेको छ ।

काठमाडौं पोस्टले प्राप्त गरेको कागजातअनुसार समूहले ५२ दिने अनुसन्धान अभियानअन्तर्गत सगरमाथा क्षेत्रमा युनिट्री जी-१ मानवरूपी रोबोट सञ्चालन गर्न नेपाल सरकारसँग अनुमति मागेको छ ।

तर, उक्त प्रस्तावले अवरोध सामना गर्नुपरेको छ : नेपालसँग हाल सगरमाथामा गैर–मानव आरोहीलाई नियमन गर्ने कुनै कानुनी संरचना छैन ।

Will a robot climb Mount Everest?

'प्रस्ताव प्राप्त हुनेबित्तिकै हामीले पर्यटन मन्त्रालयको धारणा माग्यौं,' पर्यटन विभागका निर्देशक हिमाल गौतमले भने, 'मन्त्रालयले आफ्नो चासो, शुल्क निर्धारणको ढाँचा तथा अन्य पक्ष समेटेर मस्यौदा तयार गर्न निर्देशन दिएको छ । आधारभूत निर्देशिका लागू भएपछि अनुमति दिइनेछ ।'

नियमावली निर्माण प्रक्रिया जारी रहेकाले मे २९ मा समाप्त हुने यसपालिको वसन्तकालीन आरोहण सिजनमा परियोजना अघि बढ्ने सम्भावना कम छ । आयोजकहरूले अब शरद ऋतु वा हिउँदमा परीक्षण अभियान सञ्चालन गर्ने आशा गरेका छन् ।

फोर्टिन पिक्स एक्सिपिडिसनका प्रबन्धक प्रज्ज्वल आचार्यले सरकारद्वारा सगरमाथामा गैर–मानव  आरोहणसम्बन्धी छुट्टै नियमावली तयार नभएसम्म योजना रोकिएको बताए ।

'तर, योजना अनुसार सबै भयो भने परीक्षण शरद ऋतु (असोज-कात्तिक)मा हुन सक्छ,' आचार्यले भने ।

प्रस्तावको केन्द्रमा रहेको रोबोट युनिट्री जी-१ हो, जुन ३५ किलोग्राम तौलको पूर्ण विद्युतीय, शून्य उत्सर्जनयुक्त दुई खुट्टे मेसिन हो । यो उन्नत गतिशीलता र सूक्ष्म कार्य सञ्चालनका लागि डिजाइन गरिएको छ ।

चीनको हाङझाउस्थित रोबोटिक्स कम्पनी युनिट्रीले उत्पादन गरेको यो छरितो मानवरूपी रोबोट अनुसन्धान, कृत्रिम बुद्धिमत्ता विकास तथा उपभोक्ता प्रयोगका लागि डिजाइन गरिएको हो । यसको मूल्य करिब साढे २० लाखदेखि साढे २४ लाख नेपाली रुपैयाँ रहेको छ ।

झन्डै ४.३३ फिट अग्लो यो रोबोटमा २३ देखि ४३ डिग्रीसम्म हलचल गर्ने जोर्नीहरू रहेका छन्, जसले नाच्न, हिँड्न र पल्टिनेजस्ता फुर्तिला गतिविधि गर्न सक्षम बनाउँछ ।

प्रस्तावित अभियानअनुसार टोलीका सदस्यहरूले रोबोटका पाटपुर्जा खोलेर सगरमाथाको आरोहण मार्ग हुँदै बोक्नेछन् र विभिन्न क्याम्पमा पुनः त्यसलाई जोडेर परीक्षण गर्नेछन् । यसलाई ५,३६४ मिटर उचाइको सगरमाथा बेसक्याम्पदेखि ७,९२० मिटरको क्याम्प–४ सम्म परीक्षण गरिनेछ ।

प्रत्येक स्थानमा रोबोटलाई आधार स्टेसनबाट १०० देखि २०० मिटरको दायराभित्र २० देखि ४० मिनेटसम्म निगरानीसहित सञ्चालन गरिनेछ ।

परियोजनाका कागजातअनुसार ५,००० मिटरभन्दा माथिको हिमाली क्षेत्रमा हालसम्म कुनै पनि दुई खुट्टे भू–रोबोट सञ्चालन गरिएको छैन ।

अनुसन्धानकर्ताहरूले चरम हिमाली वातावरणमा मानवरूपी रोबोटको चाल, ब्याट्री प्रदर्शन तथा जोर्नीको चालसम्बन्धी पहिलो तथ्यांक संकलन गर्ने आशा गरेका छन् ।

यी निष्कर्षहरू विश्वव्यापी रोबोटिक्स समुदायका लागि खुला पहुँचयुक्त मापदण्डका रूपमा प्रकाशित गरिने अपेक्षा गरिएको छ ।

प्रस्तावमा रोबोटले आफ्नो तीन औंलायुक्त मेकानिकल हात प्रयोग गरी विभिन्न क्याम्पबाट फोहोर संकलन गर्ने योजना पनि उल्लेख गरिएको छ । प्रत्येक हातले दुईदेखि तीन किलोग्रामसम्म तौल बोक्न सक्छ ।

आयोजकहरूका अनुसार यी प्रदर्शनहरूले नेपालको क्लिन माउन्टेन स्ट्राटेजी २०२५-२०२९ लाई सहयोग पुर्‍याउनेछन् ।

जिओलोजिक डोमका प्रमुख कार्यकारी अधिकृत पाब्लो बेरलांगा बोएमारेले इमेलमार्फत काठमाडौं पोस्टलाई भने, संस्थाले नेपालमा रोबोट ल्याएर सम्भावित रूपमा हिमाली क्षेत्रमा प्रयोग गर्न चाहेको हो । 

'हामीलाई लाग्छ, दैनिक जीवनमा प्रयोग हुने यस्ता मेसिनहरूको वृद्धि सम्बन्धमा जनचेतना फैलाउने ऐतिहासिक मोडमा हामी पुगेका छौं,' उनले भने, 'हामीले रोबोट नेपाल ल्यायौं, काठमाडौं वरपर केही परीक्षण गर्‍यौं र सगरमाथा राष्ट्रिय निकुञ्जसम्म लैजाने सोच बनाएका थियौं । हामीले दुई महिनासम्म सरकारसँग छलफल गर्‍यौं र प्राप्त प्रतिक्रिया अनुसार नेपालसँग हाल रोबोटिक्ससम्बन्धी कानुनी ढाँचा नभएकाले एक वर्ष पर्खनु राम्रो हुने देखियो ।'

संसद्‌बाट केही कानुन पारित गर्नुपर्ने भएकाले कुरेर प्रक्रिया अघि बढाउने निर्णय गरेको उनले बताए । 'त्यसका लागि केही कानुन संसद्बाट पारित हुनुपर्ने अवस्था थियो, त्यसैले हामीले त्यसको सम्मान गर्दै प्रक्रिया अघि बढाउने निर्णय गर्‍यौं,' उनले भने, 'हाम्रो उद्देश्य संसारभरका सुन्दर राष्ट्रिय निकुञ्ज वरपरका आदिवासी समुदायलाई नयाँ प्रविधिसँग परिचित गराउनु र ती प्रविधि प्रयोग गर्ने सीप सिकाउनु हो, ताकि उनीहरूले आफ्नो भूमि संरक्षण गर्न सकून् ।'

अभियानअन्तर्गत विभिन्न उचाइमा साना सेन्सर प्याकेज राखेर जलवायु र हिमनदीसम्बन्धी तथ्यांक संकलन गर्ने योजना पनि रहेको छ । तर, सगरमाथाको ‘डेथ जोन’ मा मानवरूपी रोबोट सञ्चालन गर्नु अत्यन्त जटिल इन्जिनियरिङ चुनौती हो ।

प्रस्तावअनुसार माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा लिथियम–आयन ब्याट्रीले आफ्नो क्षमता ५० देखि ८० प्रतिशतसम्म गुमाउन सक्छ । टोलीले विशेष तापयुक्त ब्याट्री आवरण, तुरुन्त फेर्न मिल्ने तताइएका ब्याट्री प्याक तथा इन्सुलेटेड प्रणाली प्रयोग गरेर यो समस्या समाधान गर्ने योजना बनाएको छ ।

प्रस्तावमा सामान्य लुब्रिकेन्ट अत्यधिक चिसोमा जम्ने र तापीय संकुचनका कारण सूक्ष्म गियरहरू असन्तुलित हुन सक्ने उल्लेख गरिएको छ । यसको समाधानका लागि टोलीले मंगल ग्रहका रोभर र अन्तरिक्ष यानमा प्रयोग हुने एयरोस्पेस–स्तरका फ्लोरिनयुक्त लुब्रिकेन्ट प्रयोग गर्ने योजना बनाएको छ ।

डेभलपरहरूका अनुसार युनिट्री जी-१ लाई गत फेब्रुअरीमा चीनको अल्ताय क्षेत्रको चिसो मौसममा परीक्षण गरिएको थियो, जहाँ यसले माइनस ४७.४ डिग्री सेल्सियस तापक्रममा १ लाख ३० हजारभन्दा बढी पाइला पूरा गरेको थियो ।

'सगरमाथा स्तरको ढुंगा, बरफमिश्रित भू–भागमा अहिलेसम्म कुनै पनि दुई खुट्टे रोबोट हिँडेको छैन,' प्रस्तावमा भनिएको छ ।

यो चुनौती पार गर्न टोलीले गुगल डीप माइन्डसँग आबद्ध अनुसन्धानकर्तासँग मिलेर अस्थिर भू–भागमा वास्तविक समयमा अनुकूलन गर्न सक्ने प्रबलन सिकाइमा आधारित चलायमान प्रणाली विकास गरिरहेको जनाएको छ ।

प्रस्तावमा उच्च उचाइमा वायु घनत्व घट्दा पर्ने प्रभावबारे पनि चर्चा गरिएको छ । ८,००० मिटर उचाइमा वायु घनत्व समुद्री सतहको करिब ४३ प्रतिशतमा झर्छ, जसले अनबोर्ड कम्प्युटरको चिस्याउने क्षमता निकै घटाउँछ ।

टोलीले तताइएका ब्याट्री खण्ड र प्राकृतिक रूपमा चिसिने इलेक्ट्रोनिक्सलाई छुट्याउने द्विक्षेत्रीय तापीय प्रणाली तयार गरेको जनाएको छ, जसले प्रोसेसरलाई वरपरको अत्यधिक चिसोलाई प्राकृतिक ताप शोषकका रूपमा प्रयोग गर्न अनुमति दिन्छ ।

सञ्चार पनि अर्को चुनौती हो । सगरमाथा बेसक्याम्पभन्दा माथि मोबाइल नेटवर्क नहुने भएकाले परियोजनाले बेसक्याम्पमा स्टारलिंक टर्मिनल प्रयोग गर्ने र माथिल्लो क्षेत्रमा पूर्ण रूपमा स्वचालित अनबोर्ड प्रणालीमा निर्भर रहने योजना बनाएको छ ।

प्रस्तावअनुसार यो प्रविधिले भविष्यमा खुम्बु आइसफलमा चिरा अनुगमन, फोहोर संकलन, खोज तथा उद्धार अभियान र हिमनदी अनुगमनजस्ता दीर्घकालीन चुनौती समाधान गर्न नेपाललाई सहयोग गर्न सक्छ ।

आरोहण सम्पन्न भएपछि जिओलोजिक डोमले रोबोट, ब्याट्री, चार्जिङ पूर्वाधार तथा तापीय सुरक्षा प्रणालीसहित सबै उपकरण खुम्बु क्षेत्रको स्थानीय साझेदार संस्थालाई हस्तान्तरण गर्ने जनाएको छ ।

संस्थाले आगामी आरोहण सिजनमा रोबोट सञ्चालन जारी राख्न नेपाली अनुसन्धानकर्ता र प्राविधिकलाई तालिम दिने प्रतिबद्धता पनि जनाएको छ ।

यस अभियानबाट अन्तर्राष्ट्रिय प्रदर्शनका लागि पूर्ण लम्बाइको वृत्तचित्र निर्माण गरिने अपेक्षा गरिएको छ, जसले नेपाललाई चरम वातावरणीय रोबोटिक्स अनुसन्धानको उदीयमान परीक्षणस्थलका रूपमा स्थापित गर्न सक्छ ।

यदि स्वीकृत भयो भने यो परियोजनाले सगरमाथामा पहिलो पटक मानवरूपी रोबोट परिचालन मात्र होइन, विश्वकै सर्वोच्च शिखरमा गैर-मानव आरोहीको सम्भावनालाई नेपालले औपचारिक रूपमा स्वीकार गरेको पहिलो प्रमाण पनि बन्नेछ ।

फिचर

संगम प्रसाई काठमाडौं पोस्टका संवाददाता हुन् । उनी उड्डयन, पर्यटन, कृषि, पूर्वाधार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully