सन् १९७५ मा जापानकी जुन्को ताबेईले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राखेयताका ५० वर्षमा सयौं महिलाले उनका पदचाप पछ्याए । कोही फर्किएनन्– सगरमाथाको काखमा अन्तिम विश्राम लिए, फर्कनेले इतिहास रचे र रचिरहेका छन् ।
What you should know
काठमाडौँ — सगरमाथा आधारशिविर । २९ वैशाख, २०८३ । फुर्दिकी शेर्पा (५१) शिखर छुन उक्लनुअघिको अभ्यासअन्तर्गत तीन दिन लगाएर ‘क्याम्प थ्री’ पुगेर बेसक्याम्पमा फर्किएकी छन् ।
उनी सगरमाथा होइन, यस पटक ल्होत्से चढ्दै छिन्, बेसक्याम्पबाट हिँडेको २४ घण्टामा शिखर छोएर फेरि बेसक्याम्प फर्कने र नयाँ रेकर्ड राख्ने सपनासहित ।
तर, उनको आरोहण करियरबारे कुरा थाल्दा भविष्यको आफ्नो सपनाभन्दा पहिले विगतमा श्रीमान्ले देखेका सपनाको कुरा गर्छिन् । ‘श्रीमान् आइसफल डाक्टर हुनुहुन्थ्यो,’ उनी सम्झिन्छिन् । आइसफल डाक्टर, अर्थात् त्यस्ता अनुभवी शेर्पाहरू जसले आरोहीका लागि सुरक्षित बाटो बनाइदिन्छन् र त्यसको मर्मतसम्भार पनि गर्छन् । फुर्दिकीका श्रीमान्ले त्यसो गर्दागर्दै जीवन गुमाएका थिए । भन्छिन्, ‘एभरेस्टको टुप्पामा पुग्नु उहाँको धेरै इच्छा थियो । खुम्बु आइसफलमा एक्सिडेन्ट भयो । उहाँको एउटा सपना थियो, त्यो पूरा भएन ।’
सन् २०१३ मा श्रीमान् मिङ्मा शेर्पाको मृत्यु हुँदा फुर्दिकी ३७ वर्षकी थिइन् । तीन छोरी थिए । सोलुखुम्बुको गाउँमा केही याक पालेकी थिइन्, होटल चलाउँथिन् । हिमाल आरोहणबारे सोचेकै थिइनन् ।
‘बिस्तारै एउटा प्लान बनाएँ । विधवा महिलाहरूलाई ‘श्रीमान् नभए पनि हामी केही गर्न सक्छौं’ भनेर एउटा आशा, हौसला होस् भनेर दुई जनाले एभरेस्ट चढ्ने निर्णय गर्यौं,’ उनले भनिन् ।
२३ मे २०१९ को बिहान ५ बजेर २५ मिनेटमा निमा डोमा शेर्पासँगै फुर्दिकीले शिखर छोइन् । निमाले पनि सगरमाथामै श्रीमान् गुमाएकी थिइन् । उनीहरूले साथमा लगेको ब्यानर देखाउँदै तस्बिर खिचे, जसमा लेखिएको थियो, ‘हामी पनि गर्न सक्छौं ।’
सगरमाथा आरोही फुर्दिकी शेर्पा आधार शिविरमा । तस्बिर सौजन्य : फुर्दिकी शेर्पा
ब्यानरमा लेखिएका यी चार शब्द महिलाहरूले सगरमाथाको चुचुरो चुम्न गरेका संघर्षका सारांश हुन् । फुर्दिकीको यात्रा उनको व्यक्तिगत मात्र नभएर पछिल्लो ५० वर्षमा सगरमाथामा महिलाहरूको सफलताको सामूहिक कथा हो । गैरसरकारी संस्था हिमालयन डेटाबेसले यस अवधिमा भएका हजारौं आरोहणका प्रयासलाई लिपिबद्ध गरेको छ । ती तथ्यांकभित्र महिला आरोही, आरोहण सफलता र त्यहाँबाट जीवितै फर्कने दर पनि बढ्दो रूपमा रहेको देखिन्छ । तर, सगरमाथा आरोहणमा यी तथ्यांकले कहिल्यै भन्न नसक्ने महिलाका कथा पनि छन्, हिमाल चढ्नुअघि उनीहरूले के कस्ता दुःखका पहाड चढे ?
जब पहिलो पटक महिला शिखरमा पुगे
२९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पहिलो पटक पुगे । केहीपछि जनकवि धर्मराज थापाले गीत लेखे– हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा । त्यो गीत आज पनि बजिरहन्छ ।
त्यही चुचुरामा महिला पाइला पुग्न भने अर्को २२ वर्ष पर्खनुपर्यो, १६ मे १९७५ मा जापानकी जुन्को ताबेई (३५), सगरमाथाको शिखरमा पुगिन् । त्यसको केवल दुई साताअघि हिमपहिरोमा परेर उनी बेहोस भएकी थिइन्, उनी बसिरहेको पाल थिचिएको थियो । तर उनी उठिन् र अघि बढिन् । ताबेईले पाइला राखेको ११ दिनपछि चीनकी फान्टोग उत्तरतर्फबाट शिखरमा पुगिन् ।
त्यो वर्ष ३१ महिलाले सगरमाथा चढ्न खोजेका थिए, दुई जना सफल मात्र भए, अर्थात् १० प्रतिशतभन्दा पनि कम । त्यसैसाल पुरुषको सगरमाथा आरोहण सफलता दर २० प्रतिशतभन्दा बढी थियो । सगरमाथा छुन खोज्ने महिलाहरूको तुलनामा दोब्बर बढीले पुरुष सफल थिए । आज यो सफलता दर झन्डै बराबर भएको छ । यद्यपि महिला आरोहीको संख्या भने अझै पनि धेरै नै कम छ– हरेक १० आरोहीमा एक जना मात्रै ।
ताबेई चढेपछि पनि नेपाली महिलाहरूका लागि सगरमाथाको चुच्चो अझै टाढा थियो, थप १८ वर्ष टाढा । पासाङ ल्हामु शेर्पाले तेस्रो प्रयासमा सगरमाथा चढ्ने ‘परमिट’ पाइन् । २२ अप्रिल १९९३ मा पासाङ ल्हामु (३०) ले शिखर छोइन् । उनी त्यहाँ पुग्ने पहिलो नेपाली महिला थिइन् । तर, उनी जीवितै फर्किइनन् । ओर्लने क्रममा त्यही दिन ८ हजार ७ सय ५० मिटरमा उनको मृत्यु भयो । यो दुर्घटनाले सगरमाथामा नेपाली महिला आरोहीका लागि थप शून्यता थप्यो, सात वर्ष लामो ।
१८ मे २००० मा ल्हाक्पा शेर्पाले सगरमाथाको शिखर टेकिन् । त्यो क्षण नेपाली महिला पर्वतारोहीका लागि विशेष थियो, उनी चुचरोमा पुगेर जीवितै फर्किने पहिलो नेपाली महिला बनेकी थिइन् । ताबेईले पाइला राखेको २५ वर्षमा चार दर्जनभन्दा बढी विदेशी महिलाले सफलतापूर्वक आरोहण गरेर फर्कंदा पनि कुनै नेपाली महिलाले त्यो सफलता पाएका थिएनन् । ल्हाक्पाले त्यो शून्यता तोडिन् ।
अर्को दिन उनकै समूहकी पेम्बा डोमा शेर्पाले शिखर छोइन् र सकुशल फर्किइन् । यी आरोहण ‘मिलेनियम नेपाली वुमेन एभरेस्ट एक्स्पेडिसन’ अन्तर्गत भएका थिए । त्यस बखत आङछिरिङ शेर्पा पर्वतारोहण संघमा थिए । ‘५० भन्दा बढी विदेशी महिलाले समिट गरेर फर्किसकेका थिए,’ आङछिरिङले भने । सगरमाथा आरोहण गरेका कोही पनि जीवित नेपाली महिला नभएकाले एक्स्पेडिसनको परिकल्पना गरिएको उनले बताए ।
ल्हाक्पा शेर्पा यसपटक ११औं आरोहणका लागि सगरमाथा पुगेकी छन् । तस्बिर : ल्हाक्पा शेर्पाको फेसबुकबाट
आङछिरिङ ११ वर्षकै उमेरदेखि आफ्ना बाबु र काकाको साथ लागेर भरियाको काम गर्दै हिमाल आरोहणमा संलग्न हुँदै आएका छन् । हाल ७४ वर्ष पुगेका उनी २६ वर्ष पुरानो त्यो प्रथम सफल महिला आरोहणको तयारीको चरण अझै उनको स्मृतिमा ताजै छ ।
‘पाँच जना महिलाको समूह बनेको थियो, सुजाता कोइरालालाई अध्यक्ष बनायौं, गिरिजाबाबु संरक्षक बस्नुभयो,’ उनले भने, ‘ल्हाक्पा चढिन्, अर्को वर्ष दुई पटक चढ्ने महिलाको रेकर्ड उनैले राखिन् । त्यो रेकर्ड विदेशी महिलाले तोडे । हामीले स्पोन्सर जुटाएर ल्हाक्पालाई फेरि चढायौं । त्यो रेकर्ड फेरि तोडियो, उनी फेरि चढिन् । पाँचौं पटकपछि भने आजसम्म उनको रेकर्ड तोडिएको छैन ।’
त्यसयता ल्हाक्पाले एकपछि अर्को रेकर्ड बनाउँदै आएकी छन् । हाल अमेरिकामा बसोबास गर्ने उनले सन् २०२२ मा महिलातर्फ सर्वाधिक १० आरोहणको रेकर्ड बनाइन् । उनी अहिले ११ औं आरोहणका लागि आधारशिविरमा छन् ।
ल्हाक्पा र पेम्बाले यसरी पहिला आरोहण गरिरहँदा माया शेर्पा ट्रेकिङ गाइडका रूपमा आफ्नो करियर सुरु गर्न थाल्दै थिइन् ।
‘मैले २००१ देखि ट्रेकिङ गाइड सुरु गरेको,’ मायाले भनिन्, ‘मेरा क्लाइन्ट्स प्रायः केटीहरू नै हुन्थ्यो । उनीहरूले जहिले पनि सोध्थे, तिमी कहिले हिमाल चढ्ने ?’ बारम्बार यस्ता प्रश्नहरू सामना गरिरहेकी उनले सन् २००३ मा चढिछाड्ने निधो गरिन् । तर, सगरमाथा होइन, आमा डब्लाम, त्यसपछि उनी चो यु चढिन् ।
‘ती दुवै हिमाल कठिनमध्येमा पर्छन्,’ हाल सगरमाथा आरोही संघकी अध्यक्ष रहेकी माया पुराना दिन सम्झिन्छिन्, ‘ती हिमाल चढेपछि एभरेस्टका लागि तयारी जस्तो भयो, अनि मैले २००६ मा सगरमाथा चढें । २००७ मा पनि उत्तर (चीन) तर्फबाट चढें ।’ त्यतिन्जेल केवल ५ जना नेपाली महिलाले आरोहण गरेका थिए । त्यसपछि उनले ८००० मिटरभन्दा अग्ला अन्य हिमाल चढ्दै आएकी छन् ।
हिमाल आरोहणका पछिल्ला २५ वर्षलाई हेर्दा माया महिलाहरूको सहभागिता बढ्दै गएको पाउँछिन् ।
‘पहिलाको दाँजोमा महिलाहरू बढ्दै छन् । पुरुष बराबर चाहिँ अझै पुगेको छैन,’ उनले भनिन्, ‘पहिले यो महिला हो चढ्नै सक्दैन, माथि पुगेर दुःख दिन्छ भन्ने खालको सोचाइ हुन्थ्यो । प्रोत्साहन गर्दैनथ्यो । अहिले त्यो फेरिँदै छ ।’ मायाले हिमाल आरोहणलाई नै पेसा बनाउन चाहने महिलालाई अवसर र आफैं चढ्न चाहिने पैसा जस्ता कुरा अहिले पनि प्रमुख चुनौती रहेको बताइन् ।
सन् २००८ । नेपाली महिला पर्वतारोहणमा एउटा अर्थपूर्ण वर्ष हो । सुस्मिता मास्केको नेतृत्वमा ‘समावेशी सगरमाथा आरोहण दल’ बन्यो । उषा बिष्ट, शैली बस्नेत, चुनु श्रेष्ठ, माया गुरुङ, आशाकुमारी सिंह, निमा डोमा शेर्पा, पेमा डोमा शेर्पा, पुजना आचार्य र नवाङ्फुटी शेर्पा गरी १० नेपालीले २२–२४ मे २००८ मा सगरमाथाको शिखर टेके । त्यसपछि पनि यो समूहले विश्वका सात महादेशका उच्च शिखर चढ्ने अभियान जारी राखे । त्यो अभियान सन् २०१४ मा पूरा भयो । त्यसयता सगरमाथा र अन्य हिमालमा नेपाली महिलाको आरोहण ह्वात्तै बढ्दै आएको छ ।
‘अब केटी मान्छेले पनि गर्न सक्छ, गर्नुपर्छ, देखाउनुपर्छ भन्ने सोचाइ बढ्दै गयो र त्यसो गर्दै जाँदा सफल पनि हुँदै गयो,’ ८००० माथिका सबै हिमाल चढ्ने पहिलो नेपाली आरोही मिङ्मा शेर्पा भन्छन्, ‘पहिला–पहिला महिलालाई घर व्यवहारमा मात्र राखिन्थ्यो, अब महिला पुरुष बराबर हो भन्ने कन्सेप्ट बढ्दै गएको छ ।’ मिङ्मा हाल सेभेन समिट ट्रेक्सका अध्यक्ष छन् ।
नयाँ–नयाँ रेकर्ड
दावा याङ्जुम शेर्पाले ट्रेकिङ गाइडका रूपमा काम सुरु गरेकी हुन् । सुरुमा कामै पाइनन् । ‘यो केटाको काम हो, तिम्रो स्कोप छैन’ सबैले यस्तै भन्थे । ‘तर, म रोकिने कुरै थिएन । मसँग अरू केही अप्सन पनि थिएन, जानेको–देखेको काम यही मात्र थियो,’ दावा भन्छिन्, ‘गाउँका अरू केटीजस्तै घर व्यवहार मात्र गरेर बस्न चााहदिनथें ।’
सन् २०१२ मा उनी सहयोगीका रूपमा एउटा आरोहण दलमा जोडिइन् । ‘भारी बोक्ने, रोप फिक्स गर्ने लगायतका काम गर्ने गरी मलाई लगिएको थियो, त्यो बेला भरियाको काम गर्ने म एक्ली केटी थिएँ,’ १४ वर्षअघि सुरु भएको आफ्नो हिमाल यात्रा दावाले यसरी सम्झिइन् ।
दावा याङ्जुम शेर्पा सन् २०२३ मा नांगा पर्वत (पाकिस्तान) को शिखरमा । तस्बिर सौजन्य : दावा याङ्जुम शेर्पा
नेपाललाई कर्मथलो बनाएकी अमेरिकी पत्रकार एलिजाबेथ हलीले सुरु गरेको र पछि गैरनाफामूलक संस्थाले निरन्तरता दिएको ‘हिमालयन डेटाबेस’ मा सन् १९२१ देखि यताका आरोहीका एक–एक अभिलेख छन् । त्यसयता, गतवर्षको वसन्त यामसम्मका १०४ वर्षमा सगरमाथा चढ्न खोज्ने २६ हजार ३ सय ८४ आरोहणका प्रयास (यो संख्या हरेक आरोहणको भएको, केही आरोहीले एकभन्दा बढी पटक प्रयास गरेकाले वास्तविक आरोहीको संख्या केही कम हुन सक्ने) को विवरणमा दावा त्यस्ता सीमित महिलामध्ये एक हुन्, जो आफैं आरोही वा गाइडका रूपमा नभएर भरियाका रूपमा सगरमाथा शिखर पुगेकी थिइन् । प्रायः पुरुष ‘शेर्पा’ ले काम गर्ने यो क्षेत्रमा (हालसम्म सहयोगी भरियाका रूपमा आरोहणको प्रयास गर्ने ८ हजार ६ सय ३७ जना) दावासहित अहिलेसम्म केवल ६ जना महिला कामदारका रूपमा सगरमाथा आरोहण गरेको देखिन्छ ।
त्यसरी सुरु भएको दावाको हिमाल आरोहण पछिल्लो १४ वर्षमा आकाश–जमिन फेरिएको छ । यसबीचमा उनले विश्वका ८ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने पहिलो महिलाको रेकर्ड बनाएकी छन् । नर्थ फेस र रोलेक्सजस्ता विश्वप्रसिद्ध ब्रान्डले उनलाई ‘स्पोन्सर’ गर्छन् । उनी पहिलो महिला एसियाली माउन्टेन गाइड पनि हुन् । उनले अहिले महिलालाई आरोहणका लागि प्रोत्साहन दिने, जलवायु परिवर्तनका असरबारे जानकारी दिने जस्ता अभियानमा आफूलाई सहभागी गराउँदै आएको बताइन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौं पटक सगरमाथाको आरोहणको प्रयासमा छिन् । तस्बिर सौजन्य : पूर्णिमा श्रेष्ठ
गोरखाकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पनि यतिखेर आधारशिविरमा छिन् । पत्रकारिता गर्दागर्दै हिमाल आरोहणमा लागेकी उनले सन् २०१८ मा पहिलो पटक सगरमाथाको शिखर टेकेकी थिइन् । उनी त्यतिमा रोकिइनन्, सन् २०२४ मा एकै सिजनमा (१३ दिनमा) तीन पटक सगरमाथा आरोहणको रेकर्ड राखिन् ।
‘शिखरसम्म पुग्नु आधा मात्र सक्सेस हो,’ अहिले छैटौं आरोहणका क्रममा रहेकी उनी भन्छिन्, ‘हिमालबाट फर्किंदा मसँग जीवन छ, म बाँचिरा’छु भन्ने कुराको बोध हुन्छ । त्यसले मलाई जहिले पनि खुसी बनाउँछ । यो फिल म अरू कुनै पनि ठाउँमा पाउँदिनँ ।’
त्यस्तै बेसक्याम्प–सगरमाथा शिखर–बेसक्याम्पसम्मको यात्रा सबैभन्दा छिटो (२४ घण्टा २६ मिनेट) पूरा गर्ने महिला रेकर्ड पनि नेपाली फुन्जो झाङ्मु लामाको नाममा छ । यस्ता व्यक्तिगत कीर्तिमानको अतिरिक्त पछिल्लो पाँच दशकमा महिला आरोहणका अन्य थुप्रै क्षेत्रमा थुप्रै प्रगतिहरू देखिएका छन् । हिमालयन डेटाबेसको तथ्यांक विश्लेषण गर्दा एउटा उत्साहजनक प्रगतिको सूचक सतहमा आउँछ, पहिलेको तुलनामा हिमालमा महिला बढी सुरक्षित देखिन थालेका छन् ।
बढ्दै आरोहण, सुधारिँदै ‘सर्भाइभल रेट’
महिलाले पहिलो पटक सगरमाथा टेकेको पाँच वर्षमा आरोहणको प्रयास गरेका हरेक १० जना महिलामध्ये केवल एक जनाले सफलता पाउँथे भने त्यति नै संख्याका पुरुषमध्ये दुई जनाले । अहिले सफलताको दर कैयौं गुणा बढेको छ । सन् २०२० पछिको पाँच वर्षमा त्यति नै संख्यामा आरोहणका लागि प्रयास गर्दा सात महिला र ८ पुरुषले सफलता पाउँछ । पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा प्रविधि, सूचना र आरोहणका क्रममा चाहिने दैनिक प्रयोगका अत्याधुनिक सामग्रीमा बढ्दो पहुँचका कारण यस्तो सफलता हात लागेको बताउँछन् । व्यावसायिक आरोहण बढेसँगै पैसा तिर्न सक्ने र तालिम लिएका व्यक्तिहरू आकर्षित भइरहेको उनले बताए ।
गतवर्षको वैशाख–जेठ सिजनमा सगरमाथामा एक जना पनि महिलाको मृत्यु भएन । शिखरमा पुग्न प्रयास गर्ने १ सय १२ महिलामध्ये ८५ जनाले सफलता पाए । पछिल्लो ५० वर्षको यस्तै संख्या केलाउँदा देखिन्छ, सगरमाथामा महिला र पुरुष दुवै क्रमशः सुरक्षित हुँदै गएका छन् । तर, तुलनात्मक रूपमा महिलाको मृत्युदरमा उल्लेखनीय कमी आएको छ ।
हिमालयन डेटाबेसका तथ्यांक केलाउँदा सगरमाथामा आरोहणको प्रयास गर्ने र सफल हुने दर उल्लेखनीय रूपमा बढ्दा मृत्युदर पनि धेरै घटेको छ । सन् १९७५–८० मा १ हजार जना पुरुषले आरोहणको प्रयास गर्दा ४० जनाको ज्यान जान्थ्यो, त्यति नै संख्याका महिलामध्ये २५ जनाको ।
पछिल्लो दशकमा महिला–पुरुष दुवैको मृत्युदर एक प्रतिशतभन्दा कममा झरेको छ, तर महिलाको तुलनामा लगभग पाँच गुणा बढी पुरुष आरोहीको मृत्यु भइरहेको छ । अर्थात् हरेक हजार आरोहण प्रयासमा करिब १० जना पुरुषको मृत्यु हुँदा दुई जना महिलाको मृत्यु भएको छ ।
यसको एउटा प्रमुख कारण, ज्यादै जोखिमपूर्ण मानिने आरोहण तयारीको काम गर्ने ‘शेर्पा’ लगभग सबै पुरुष हुन् । सगरमाथामा सन् २०२५ को सिजन अन्त्यसम्ममा मृत्यु भएका ३ सय ४८ जनामध्ये एक चौथाइभन्दा बढी व्यक्तिहरू (९६ जना) कामदारका रूपमा गएका ‘शेर्पा’हरू हुन् । यसै वर्ष पनि तीन जनाको मृत्यु भइसकेको छ ।
अर्को कारण, महिला आरोहीको संख्या अहिले पनि करिब १० प्रतिशत मात्रै छ । पछिल्लो ५० वर्षमा २३ हजार ३ सय २० पुरुष आरोहीका रूपमा सगरमाथा क्षेत्रमा गएकामा दुई हजार दुई सय ५२ जना मात्र महिला थिए । अर्थात्, महिला आरोहीको संख्या पुरुषको तुलनामा निकै न्यून छ । मृत्युदर (आरोहणको प्रयास गर्ने महिला–पुरुषको संख्यालाई लिंगअनुसार नै अनुपातमा तुलना गर्दा) महिलाको कम हुनुमा यस्ता ‘फ्याक्टर’ रहेको हाई अल्टिच्युड मेडिसिनविज्ञ फिजिसियन बुद्ध बस्न्यात बताउँछन् ।
अन्तर्राष्ट्रिय पर्वतारोहण र क्लाइम्बिङ महासंघले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार हिमालमा हुने प्रायः मृत्यु उचाइसम्बन्धी स्वास्थ्य समस्याका कारण हुने गर्छ । र, ती अवस्थाहरू पुरुषमा बढी देखिन्छन् । तर, महासंघको मेडिकल आयोगले यसको ठोस बायोलोजिकल कारण भने औंल्याउन नसकेको उल्लेख गरेको छ । त्यस्तो मृत्युमा केही दैनिक व्यावहारिक, सामाजिक र सांस्कृतिक कारणहरू जिम्मेवार हुन सक्ने उसले औंल्याएको छ । जस्तो, महिलाहरू बढी समूहमा हिमाल चढ्न रुचाउँछन्, एकल अभियान सामान्यतया गर्दैनन्, मौसम बिग्रँदा पछाडि फर्कने निर्णय चाँडो गर्छन् । तर, उक्त बेवसाइटमा भनिएको छ, ‘यी सबै कुरा प्रमाणित तथ्यहरू भने होइनन् ।’
महिला र पुरुषले आरोहण बीचमै छाडेर फर्कने निर्णय फरक–फरक परिस्थितिमा गर्ने गरेकोबारे भने हिमालयन डेटाबेसको तथ्यांकले पनि एउटा तस्बिर देखाउँछ । सगरमाथामा महिलाहरू स्वास्थ्यमा गडबडी देखिन थालेपछि फर्कने निर्णय गरेको देखिन्छ भने अधिकांश पुरुषहरूले बाटो बिराएपछि मात्र पछाडि फर्केको देखिन्छ ।
हालसम्म सगरमाथामा १४ जना महिलाले ज्यान गुमाएका छन्, जसमध्ये नेपालबाट एक जना मात्र पासाङ ल्हामु शेर्पा । मृतक १४ जनामध्ये बहुसंख्यक (८ जना) को शिखरबाट ओर्लनेक्रममा ज्यान गएको देखिन्छ, पासाङ ल्हामुजस्तै । पासाङ शिखरमा उभिएको ठाउँभन्दा केवल ९९ मिटर तल झरेकी थिइन्, जतिबेला उनले जीवन त्यागिन् ।
५० वर्षको तथ्यांक केलाउँदा एउटा विरोधाभासपूर्ण चित्र पनि देखिन्छ । यो अवधिमा महिला–पुरुष दुवैले अक्सिजन प्रयोग गर्ने दर बढेको छ । तर, अक्सिजन प्रयोग सुरुबाटै पुरुषको तुलनामा महिलाको कम छ । सन् १९७५–८० मा १२ प्रतिशत महिला र २८ प्रतिशत पुरुषले अक्सिजनको सहयोगमा आरोहण प्रयास गरेकोमा २०२०–२०२५ मा आइपुग्दा यो दर बढेर क्रमशः ७४ र ८४ प्रतिशत पुगेको छ । यसबीचका हरेक दशकमा अक्सिजन प्रयोगको दर बढ्दो क्रममा छ तर महिला–पुरुषबीचमा भने ‘ग्याप’ मेटिएको छैन ।
युनिभर्सिटी अफ वासिङ्टनका रेमन्ड ह्युई र अन्य तीन अमेरिकी विश्वविद्यालयका अनुसन्धाताहरूले सगरमाथा आरोहणको सफलता र त्यहाँ हुने मृत्युमा आरोहीको उमेर, लिंग, अनुभव र आरोहण गर्न चाहने मानिसहरूको बढ्दो संख्याको प्रभावबारे सन् २०२० मा अध्ययन गरेका थिए । अध्ययनमा केवल व्यावसायिक आरोहीलाई मात्र (सहयोगी शेर्पाहरूलाई अलग गरेर) समेटिएको थियो । उनीहरूले मौसम पूर्वानुमान विश्वसनीय हुँदै जानु, अक्सिजनको प्रयोग बढ्नु, व्यावसायिक आरोहण अभियान बढ्नुलाई सफलताको कारण मानेका छन् ।
सपनाको भार
पर्वतारोहण क्षेत्रमा आउन चाहने महिलाहरूको बाटोमा यस्ता तथ्यांकले नदेखाउने अनेक अवरोधहरू छन् । फुर्दिकी शेर्पा भन्छिन्, ‘जति राम्रो काम गरे पनि महिलालाई यिनीहरूले सक्दैन भन्ने सोचाइ अहिले पनि छ । तर, अवसर पाए भने उनीहरूले जे पनि गर्न सक्छन् ।’
फुर्दिकी आफैं यसको प्रमाण हुन् । सगरमाथा चढेपछि पनि पर्याप्त कामको अवसर नपाएपछि उनले क्षमता बढाउनैपर्ने ठानिन् । गाइड बनिन्, तालिम लिइन्, प्रशिक्षक बनिन् । गतवर्षको अक्टोबरमा उनले महिला मात्र सहभागी आरोहण टोलीको नेतृत्व गर्दै हिमलुङ (७,१२६ मिटर) आरोहण गरिन्, त्यो पनि एउटा रेकर्ड बन्यो ।
अहिले उनी ल्होत्सेको शिखर छुने तयारी गरिरहेकी छन् । यस पटक आफ्ना बाबुको सपना बोकेर । उनका श्रीमान्को पनि सगरमाथा चढ्ने सपना थियो । तर, आफ्नो आरोहण दलका सदस्य साउथ कोलभन्दा माथि उक्लन नसकेपछि उनी पनि त्यहीँबाट फर्किएका थिए । ७ वर्षअघि सगरमाथा चढेर उनले त्यो पूरा गरिदिइन् । अर्को सपना थियो, उनका बाबु आङ निमा शेर्पाको । उनी पनि आइसफल डाक्टर थिए, ल्होत्से चढ्न चाहन्थे, तर चढ्न नपाउँदै बिते । ‘मेरो बुबाको सपना थियो ल्होत्से चढ्ने, यसपालि मैले त्यो पनि पूरा गर्छु,’ उनी भन्छिन् ।
श्रीमान्को सपना ।
बुबाको सपना ।
‘र, यसपछि अब ?’
‘तीन छोरीहरूको सपना,’ उनले केही नसोची फ्याट्ट भनिन् ।
‘तपाईंले आफ्नै लागि चाहिँ कुनै सपना देख्नुभएको छैन ?’
बेसक्याम्पबाट फोन वार्तामा रहेकी फुर्दिकीले लामो मौनतापछि केही नबोली फोन काटिन् ।
