एआईको सहजतासँगै सिर्जनशीलता हराउँदै त छैन ?

सपना (नाम परिवर्तन) जब निबन्ध लेख्न बस्छिन्, उनी सबैभन्दा पहिले ब्राउजरमा च्याटजीपीटी खोल्छिन् । विषय टाइप गर्छिन् र त्यसबाट आएका आइडियाका आधारमा लेख्न सुरु गर्छिन् ।

जेष्ठ ३, २०८३

तारा प्रकाश

Isn't creativity disappearing with the ease of AI?

What you should know

काठमाडौँ — कलेजकी विद्यार्थी सपना (नाम परिवर्तन) जब निबन्ध लेख्न बस्छिन्, उनी सबैभन्दा पहिले ब्राउजरमा च्याटजीपीटी खोल्छिन् । विषय टाइप गर्छिन् र त्यसबाट आएका आइडियाका आधारमा लेख्न सुरु गर्छिन् । निबन्ध सकिएपछि पनि उनी आफैंले त्यसलाई पढ्दिनन् । बरु तयार सामग्री फेरि च्याटजीपीटीमा कपी–पेस्ट गरेर त्रुटि सच्याउन लगाउँछिन् । च्याटजीपीटीले वाक्य मिलाइदिन्छ, भाषा सहज बनाइदिन्छ र लेखलाई राम्रो बनाउँछ । उनले केहि बुझनु पर्‍यो सोध्नुपर्‍यो भने च्याटजीपीटी नै प्रयोग गर्छिन् । उनले भनिन् ‘केही लेख्न परेमा सुरुमा नै च्याटजीपीटीलाई सोध्नुपर्छ जस्तो लाग्छ, प्रयोग नगर्ने कारण नै के छ र ?’

च्याटजीपीटीबारे थाहा पाउनुअघि सपना आफ्ना लेखहरू पटक–पटक पढ्थिन् । कक्षामा कुनै विषय नबुझे साथीहरूसँग छलफल गर्थिन् । तर अहिले त्यो प्रक्रिया फेरिएको छ । केही समयअघि ‘एलो जर्नालिज्म’ को विषय बुझ्न गाह्रो भएपछि उनले साथी, पुस्तकालय वा शिक्षकको सहायता नलिएर सीधै च्याटजीपीटीको सहारा लिइन् । सपना पढाइका लागि मात्रै होइन, जिज्ञासा मेटाउन पनि एआईको प्रयोग गर्छिन् । केही दिनअघि उनले च्याटजीपीटीमा ‘यदि बाँया आँखाबाट मात्रै आँसु आयो भने त्यसको अर्थ के हो ?’ भनेर सोधेकी थिइन् । पहिले यस्ता प्रश्नले साथीहरूसग रमाइला कुराकानी हुन्थ्यो, र अहिले च्याटजीपीटीले सीधा उत्तर दिएपछि कुरा सकिने उनले बताइन् ।

Isn't creativity disappearing with the ease of AI?सपनाकी सहपाठी बिदुषी थापा साथीहरूलाई पठाउने सन्देशको जवाफ दिन एआई प्रयोग गर्छिन् । अहिले विद्यार्थीहरू निबन्ध लेख्न, पढाइ बुझ्न र दैनिक संवादसम्ममा च्याटजीपीटीजस्ता एआई प्रयोग गर्न थालेका छन् । सहज पहुँच र प्रयोगको सरलताले उनीहरू एआईतर्फ आकर्षित भइरहेका छन् । एआईको सहजताले दीर्घकालीन असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

सूचना प्रविधि विज्ञ दोभान राई सिर्जनशीलताका लागि कठिनाइ, अन्योल र लामो सोचाइ आवश्यक पर्ने भएकाले सहजताका लागि एआईको प्रयोग गर्ने र एआईले तुरुन्त उत्तर दिने भएकाले मानिसले गहिरो सोच्ने बानी गुमाउन सक्ने जोखिम रहेको बताइन् । एआईको प्रयोगलाई शारीरिक अभ्याससँग तुलना गर्दै भनिन्, ‘सधैं लिफ्ट मात्रै चढियो भने शरीरका मांसपेशी कमजोर हुन्छन्, त्यसैगरी सिर्जनात्मक क्षमता प्रयोग गर्न छोडेर तत्काल उत्तरमा भर पर्न थालियो भने सिर्जनशीलता पनि कमजोर हुँदै जान्छ ।’ 

उनका अनुसार मानिस हरेक कामका लागि एआईमा निर्भर हुन थाले आफ्नै विचारप्रति शंका पनि पैदा हुँदै जाने र कहिलेकाहीँ ‘के यो साँच्चै मेरो आफ्नै विचार हो त ?’ भन्ने प्रश्न उठ्न सक्ने उनले बताइन् । राई आफैं पनि एआई कहाँ प्रयोग गर्ने र कहाँ नगर्ने भन्ने सन्तुलन खोजिरहेकी हुन्छिन् । ब्लगका लागि चित्र बनाउँदा एआई प्रयोग गर्ने कि आफ्नै हातले बनाउने भन्नेबारे सोच्नुपर्ने उनले बताइन् । उनले भनिन्, ‘साधन उपलब्ध छ भन्दैमा प्रयोग गर्नैपर्छ भन्ने हुँदैन ।’

काउन्सिलिङ तथा मानसिक स्वास्थ्य केन्द्र नेपालकी मनोवैज्ञानिक आरती गुरुङका अनुसार मानिसहरू सजिलो बाटो रोज्ने भएकाले एआईमा निर्भरता बढेको हो । उनले भनिन्, ‘एआईमा धेरै निर्भर हुँदा आफ्नो विचारप्रति आत्मविश्वास घट्न सक्छ मानिसहरूले च्याटजीपीटी प्रयोग गर्नुअघि आफ्नो  विचार विकास गर्नुपर्छ । ’

नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनीका अध्यक्ष गौरव पाण्डे अनुसार च्याटजीपीटीले पुरानै तथ्यांक र सामग्रीलाई पुनः संयोजन गर्छ । नेपालजस्ता स्रोत–साधन सीमित देशमा एआईले सिर्जनशीलताको पहुँच बढाउन सक्ने उनले बताए । उनले भने, ‘एआईले दोहोरिने कामहरू सम्हालिदिँदा मानिसहरूले निर्णय क्षमता र कल्पना शक्ति आवश्यक पर्ने काममा बढी समय दिन सक्छन् ।’

नेपाली वैज्ञानिक रजत सैंजु पनि यसमा सहमत छन् । सैंजुले एआईले विभिन्न सामग्री मिसाएर नयाँ संयोजन बनाउने काम गर्ने बताए । उनले एआई मोडेलहरूलाई मानिसलाई मनपर्ने र सहमतिजनक उत्तर दिन प्रशिक्षण दिइने पनि बताए । मानव प्रतिक्रियाका आधारमा गरिने ‘रिइफोर्समेन्ट लर्निङ’ का कारण एआईले औसत प्रकारका उत्तर उत्पादन गर्ने उल्लेख गर्दै उनले अप्रत्याशित वा अनौठा विचार कम दिने बताए । एआईलाई ‘ब्लेन्डर’सँग तुलना गर्दै इन्टरनेटमा रहेका सामग्रीहरूलाई मिसाएर नयाँ रूप दिने प्रणाली भएको समेत बताए । सैंजुले भने,‘एआईले नयाँ संयोजन बनाउन सक्छ तर त्यो मौलिक सोचभन्दा पनि पहिले नै उपलब्ध सामग्रीमा आधारित हुन्छ ।’ Isn't creativity disappearing with the ease of AI?

सन् २०२४ मा अनिल दोशी द्वारा प्रकाशित एक अध्ययनले एआईको सहयोगमा लेखिएका छोटा कथाहरू एआईबिना लेखिएका कथाहरूभन्दा १० प्रतिशत बढी मिल्दोजुल्दो रहेको देखाएको थियो ।

सिआइएसएसी / पीएमपी स्ट्राटेजी द्वारा गरिएको आर्थिक प्रभाव अध्ययनअनुसार सन् २०२८ सम्म जेनेरेटिभ एआईका कारण संगीत तथा अडियो–भिजुअल क्षेत्रका सिर्जनाकर्ताहरूले २२ अर्ब युरोसम्मको आम्दानी गुमाउन सक्ने अनुमान गरिएको छ । संगीत स्ट्रिमिङ प्लेटफर्म डीजरका दैनिक अपलोड हुने सामग्रीमध्ये ४४ प्रतिशत एआईद्वारा निर्मित हुन्छन्, जबकि ९५ प्रतिशत श्रोताले ती गीत मानवले बनाएका हुन् वा एआईले बनाएका हुन् भनेर छुट्याउन सक्दैनन् ।

फिचर

तारा काठमाडौं पोष्टमा आबद्ध छिन् ।

Link copied successfully