पर्यटन विभागले २०८२ फागुन १७ देखि २०८३ वैशाख २५ सम्मको अवधिको सार्वजनिक गरेको रोयल्टी प्रतिवेदनअनुसार सगरमाथा आरोहणका लागि ५० वटा अभियान टोलीमार्फत ४ सय ९२ जना विदेशी आरोहीलाई अनुमति प्रदान गरिएको छ ।
काठमाडौँ — नेपालको वसन्तकालीन पर्वतारोहण सिजन २०२६ मा सगरमाथाले आरोहण अनुमति, अभियान टोली तथा राजस्व संकलनका हिसाबले नयाँ इतिहास रचेको छ ।
पर्यटन विभागले २०८२ फागुन १७ देखि २०८३ वैशाख २५ सम्मको अवधिको सार्वजनिक गरेको रोयल्टी प्रतिवेदनअनुसार सगरमाथा आरोहणका लागि ५० वटा अभियान टोलीमार्फत ४ सय ९२ जना विदेशी आरोहीलाई अनुमति प्रदान गरिएको छ । तीमध्ये ३ सय ८७ पुरुष र १ सय ५ महिला रहेका छन् । यो संख्या यस सिजनका सबै हिमालमध्ये सर्वाधिक हो ।
यसअघि सगरमाथा आरोहण अनुमतिको उच्च रेकर्ड सन् २०२३ मा कायम भएको थियो । उक्त वर्ष ४ सय ७८ जनाले अनुमति पाएका थिए । यस वर्षको अनुमति संख्याले त्यो रेकर्डलाई समेत उछिन्दै हालसम्मकै उच्च कायम गरेको विभागले जनाएको छ ।
सगरमाथाबाट मात्रै सरकारले करिब १ अर्ब ७ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ, जुन एउटै हिमालबाट प्राप्त भएको नेपालको हालसम्मकै उच्च राजस्व हो । कुल पर्वतारोहण आम्दानीमा पनि सगरमाथाकै हिस्सा सबैभन्दा ठूलो रहेको छ ।
यस सिजनमा नेपालले सगरमाथासहित ३० वटा हिमालका लागि १ सय ३५ टोलीमार्फत १ हजार १ सय ३४ विदेशी आरोहीलाई अनुमति दिएको छ । यसबाट सरकारले कुल करिब १ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमले यस वर्षको पर्वतारोहण सिजनले नेपालको पर्वतीय पर्यटन क्षेत्रमा नयाँ उचाइ थपेको बताए ।
‘यस सिजनले नेपालको पर्वतारोहण क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ,’ निर्देशक गौतमले भने, ‘मध्यपूर्वमा जारी द्वन्द्वका बाबजुद पनि सगरमाथा विश्वकै सबैभन्दा आकर्षक आरोहण गन्तव्यका रूपमा स्थापित रहेको छ । अनुमति संख्या र राजस्व वृद्धिले नेपालको पर्वतीय पर्यटनप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास अझ सुदृढ भएको संकेत गर्दछ ।’
तथ्यांकअनुसार अन्य प्रमुख हिमालहरूमा पनि उल्लेखनीय चाप देखिएको छ । ल्होत्सेमा १ सय २० आरोही, मकालुमा ७२ आरोही तथा आमादब्लममा १ सय ११ आरोहीले अनुमति लिएका छन् ।
