बिजुलीका नाङ्गा तार सारसको काल

'नगरपन्छी' घोषणाको ७ वर्ष बितिसक्दा पनि लुम्बिनीमा सारस चराको मृत्यु दर घट्नुको साटाे बढ्दै गएको छ, यसले सारस संरक्षणमा नगरपालिका उदासीन देखिएको संरक्षणविद्हरूको भनाइ छ।

वैशाख २७, २०८३

मनोज पौडेल

The time of the cranes on the bare electric wires

What you should know

लुम्बिनी — विश्व बसाइँसराई चरा दिवस मनाईरहँदा शुक्रबार बिहान लुम्बिनी साँस्कृतिक नगरपालिका–७ शिवगढीया चोकस्थित खेतमा एउटा संरक्षित पन्छी सारस मृत अवस्थामा भेटिएको थियो । लुम्बिनी विकास कोषको १२ नम्बर गेटबाट उड्दै बाहिरिने क्रममा बिजुलीको नाङ्गो तारमा अल्झेर सारस खसेको थियो । लुम्बिनी साँस्कृतिक नगरपालिकाले यो ‘नगरपन्छी’लाई मरेको ३ दिनसम्म नहटाउँदा उक्त क्षेत्र नै दुर्गन्धित बनेको थियो ।

२ महिनाअघि पनि लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ आमागाउँ नजिक तोरीबारीमा जीपीएस लगाएको सारसको एउटा बचेरालाई कुनै जनावरले आक्रमण गरेर मारेको थियो । 

पछिल्लो समय लुम्बिनी क्षेत्रमा दुर्घटनामा परेर संरक्षित पन्छी सारस मर्ने क्रम बढिरहेको छ । 'नगरपन्छी' घोषणापछि आवश्यक संरक्षण, प्रवर्द्धनमा नगरपालिकाले चासो नदिँदा सारस असुरक्षित मात्रै बनेका छैनन् महिनैपिच्छेजसो मरिरहेका छन् । 

बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व सामु जोड्ने ‘ब्राण्ड’का रुपमा सारसलाई नगरपन्छी घोषणा गरिएको थियो । शान्ति र प्रेमको प्रतीक मानिने सारस उड्न सक्नेमध्ये सबैभन्दा अग्लो चरा हो ।

नगरपालिकाले सारसलाई कागजी नगर पन्छी मात्रै बनाएर अपहेलना गरेको लुम्बिनी होटल संघका अध्यक्ष उद्यमी लिलामणि शर्माले बताए । ‘जनप्रतिनिधि बजेट लुछाचुडी गरेर कार्यकर्ता पोस्न तल्लिन छन्,’ उनले भने, ‘बोल्न नसक्ने सारसको आवाज सुन्न नसक्दा सारस संकटमा पर्दै गएको छ ।’ चरा, प्रकृति र वातावरणको महत्व बुझ्न नसक्ने नगरपालिकाका पदाधिकारीका कारण लुम्बिनीमा सारसको अस्तित्व संकटमा पर्ने अवस्था रहेको उनको भनाइ छ । 

लुम्बिनी आसपास सारस संरक्षणमा काम गर्दै आएका नागरिक वैज्ञानिक कैलास जयसवालले २०८१ र २०८२ दुई वर्षमा ८ वटा सारस बिजुलीको तारमा ठोक्किएर करेण्ट लागेर मरेको भेटेको बताए । जनावरको आक्रमणबाट पनि १–२ वटा मरेका छन् । पछिल्लो १२ वर्षमा लुम्बिनी आसपास मात्रै बिजुलीको तारमा अल्झिएर ४२ वटा सारस मरेका जयसवालले बताए । 

गत ११ माघ र ३ पुसमा कपिलवस्तुको जगदीशपुर ताल नजिकै ११ हजार भोल्टको बिजुलीको नाङ्गो तारमा ठोक्किएर करेण्ट लागेर २ वटा सारस मरेको वरिष्ठ वाईल्डलाईफ फोटो पत्रकार राजेश ढुंगानाले बताए । मरेको सारसलाई स्थानीयले धार्मिक विधिपूर्वक दाहसंस्कार गरेका थिए । यस वर्षको पहिलो घटना गत शुक्रबार भयो । 

लुम्बिनी साँस्कृतिक नगरपालिकाले २०७५ मंसिर १० गते लुम्बिनीस्थित बेबी बुद्धमा कार्यक्रम गरेर सारसलाई नगरपन्क्षी घोषणा गरेको थिए । नगरपन्छी घोषणाको ७ वर्ष भईसक्दा पनि सारस मारिने क्रम रोकिएको छैन । जसको नाममा नगरपालिकाले गर्व गरेर नगरपन्छी घोषणा गर्छ, त्यसको संरक्षणका लागि बजेट र योजना नबनाउनुले अवहेलना गरेको देखिने संरक्षणकर्मी अर्जुन कुर्मीले बताए । यसले सारसप्रति नगरपालिका कति संवेदनशील छ उदाङ्गो भएको उनको भनाइ छ । 

नगरपन्छी घोषणा गरेर पनि संरक्षण र प्रवर्द्धनमा बजेट छुट्याएर काम नगर्नु दु:खद् भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले बताइन् । आउँदा वर्ष बजेट छुट्याएर काम गर्ने उनले बताइन् । The time of the cranes on the bare electric wires

नेपालमा सबैभन्दा धेरै सारस बृहत्तर लुम्बिनी क्षेत्रमा पाइन्छ । कपिलवस्तु, रुपन्देही तथा पश्चिम नवलपरासीको यो क्षेत्रलाई सारस ‘हट स्पट’ मानिन्छ । इन्टरनेश्नल क्रेन फाउन्डेशन (आईसिएफ) र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले २०८० मा मुलुकभर अध्ययन गर्दा ६९० सारस फेला परेको थियो । त्यसमध्ये ८० प्रतिशतभन्दा बढी रुपन्देही र कपिलवस्तुमा भेटिएका थिए ।

सारस ‘हट स्पट’मा बिजुलीका नाङ्गा तार टागिँदा समस्या भएको बताउँछन् वरिष्ठ चाराविद् डा. हेमसागर बराल । ‘सारस पाइने ठाउँहरू चरा–मैत्री छैनन् । सारस अग्लो हुने भएकाले धेरै उचाइमा उड्न पनि सक्दैन,’ उनले भने, ‘यो हाइ अल्टिच्यूडमा उड्दैन, लो अल्टिच्यूडमा उड्ने हुँदा धेरै पर जाँदैन ।’ त्यही भएर यिनीहरू बिजुलीको तार र हाइटेन्सन लाइनमा ठोक्किने गर्छन् ।  

बिजुलीको तार नै सारसको ठूलो शत्रु हुने गरेको चराविद् बराल बताउँछन् । यो चरा विशेषगरी मानव बस्ती र खेतबारी आसपास बस्न मन पराउँछ । तर, यिनै ठाउँ हुँदै विद्युतीय प्रसारण लाइन विस्तार हुन्छ ।

नागरिक वैज्ञानिक जयसवालका अनुसार जाडोका बेला कुहिरो लाग्दा बाटो नदेख्ने र नयाँ सारसले बाटो पहिल्याउन नसक्दा मृत्युवरण गर्ने गरेका छन् । 

लुम्बिनीमा नेपालमै सबैभन्दा बढी दुर्लभ सारस पाइन्छन् । ‘२ वर्षअघि दानव नदी छेउ ९८ सारस देखिएको थियो,’ चराविद् दिनेश गिरीले भने, ‘सारस देखेर विदेशी पाहुना खुशी भएको देख्दा अचम्मै परे ।’ सारस, बुद्ध जन्मस्थलको अर्को आकर्षण हो ।’

सारस विश्वकै अग्लो चरामध्ये पर्छ । हल्का खैरो रंगको प्वाँख, सपक्क समेटिएको चिल्लो शरीर । टाउको र घाँटीमा रातो रङको पट्टी जस्तो टाटा हुन्छ । गुलाबी रङको खुट्टाले निक्कै आकर्षक देखिन्छ । करिब १० किलोसम्म तौल हुने सारस साढे ५ फिट अग्लो हुन्छ । यसका दुवैतिरका पखेटा फिजायो भने १० फिट लामो हुन्छ । 

अग्लो र आकर्षक चरा सानो बचेरासँगको मनमोहक चलहपहल हेरेर आनन्दित हुने लुम्बिनी क्षेत्र उत्कृष्ट गन्तव्य बन्ने गरेको चराविद् डा. हेमसागर बरालले बताए ।

सारस वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पन्क्षी प्रजातिमध्ये एक हो । संरक्षित पन्छी सारसलाई हानी पुर्‍याउने, मार्ने, अण्डा नष्ट गर्ने वा व्यापार गर्ने कार्य गैरकानुनी मानिएको छ । यस्तो काम गर्ने वा गराउनेलाई १५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा ३ देखि ९ महिनासम्म कैद सजाय वा दुवै हुनसक्ने व्यवस्था छ ।

कम देखिन थालेपछि सन् २००० मा सारस दुर्लभ पन्छीमा सूचीकृत भएको थियो । सारसले सर्पलाई सजिलै आहार बनाउँछ । त्यही भएर सारस बस्ने ठाउँ वरिपरी सर्पको त्रास हुँदैन । बालीलाई नोक्सान पुर्‍याउने शंखेलगायतका किरा पनि सारसको आहारा हो । यसले आसपासमा चितुवा, बाघ, भालुलगायत वन्यजन्तु आउन लागे पहिले नै कराएर जानकारी दिने गर्छ । 

गर्मी समयमा खेतमा सारस आए पानी पर्ने संकेत गर्ने तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष जयप्रकाश पाण्डेले बताए । सिमसारमा सारस देखिनु स्वस्थ्य सिमसारको संकेत हो । सारसलाई कहिल्लै नछुट्टिने जोडीका रुपमा पनि लिने गरिन्छ । भारतका कतिपय ठाउँमा सारसको जोडी जस्तै हुनु भनेर नवविवाहितालाई आशीर्वाद दिने चलन छ । 

विश्वमा पाइने १५ प्रजातिमध्ये नेपालमा ४ प्रजातिका सारस पाइन्छन् । जसमा सारस, लक्ष्मण सारस, कर्‍याङकुरुङ सारस र कालीकण्ठ सारस छन् । कर्‍याङकुरुङ, लक्ष्मण र कालीकण्ठ सारस हिउँदे आगन्तुक हुन् । यी सारस हिउँदमा उत्तरी ध्रुवबाट बसाइँसराई गरेर नेपाल आउँछन् । कतिपय दक्षिणतिर लाग्छन् भने कतिपय यहीँ बस्छन् ।

फिचर

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully