घाइते भएर थला परेका अनिषलाई जसविरुद्ध आन्दोलन भयो उसले सत्ता छोडेकामा खुसी मिलेको छ । जीवनभर अपांग हुने चिन्ताले उनलाई उत्तिकै सताइरहेको छ । ‘हट्नुपर्ने मान्छे हटे । अब देश परिवर्तन होला, आफू सधैंभरलाई यस्तै भयो । अपांग नै भइयो भनौं,’ मलिन स्वरमा उनले सुनाए ।
कास्की — अस्पतालको शय्यामा छोरा कोल्टे फेरिरहन्थे । छेउमै बसिरहने अम्बिकाको हातमा रुमाल टुट्थेन । उनी त्यो रुमालले ‘माहिलो’को शरीरमा बगेको पसिना पुछिरहन्थिन् । सत्ताविरुद्ध प्रश्न गर्दा सडकमा छोरा ढलेयता उनी बेचैन थिइन् । २० दिनअघि अस्पतालको बेडमा बेहोस भेटेकी छोरालाई आइतबार घर लैजाँदा उनको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।
पोखरा–३१ बेगनास बस्ने १७ वर्षीय अनिष सापकोटा भदौ २४ गते जेन–जी आन्दोलनमा सहभागी हुन न्यूरोड आएका थिए । अनिष अम्बिकाका माहिलो छोरा हुन् । आन्दोलनमा १५ वर्षीय भाइ निखिल पनि अनिषसँगै थिए । पुगेको १५–२० मिनेटपछि पोखरा महानगरपालिकामा तोडफोड र आगजनी सुरू भयो । त्यसपछि प्रहरीले अश्रुग्यास हान्यो । भागभागमा दाजुभाइ छुटिए ।
‘भागाभाग हुनेबेला पछाडि हेर्दा मलाई अनुहारमा के’ले लाग्यो थाहै भएन । म ढलेपछि स्कुटरमा राखेर ल्याएको अलिअलि मात्र याद छ,’ अनिषले सुनाए । अनिषलाई घटनास्थलबाट प्रदर्शनकारीले गण्डकी मेडिकल कलेज पुर्याए । उनको अनुहारको देब्रे भागमा चोट लागेको थियो । रगत रोकिएको थिएन । उता भाइ निखिल सडकमै दाइलाई खोजिरहेका थिए ।
महानगरपालिकाअघि झडप भएको खबर पोखराको सब्जी मण्डीसम्म पुग्न त्यति बेर पनि लागेन । अनिषकी आमा अम्बिका पोखरा–९ शान्ति वनस्थित मण्डीमा तरकारी बेच्छिन् । झडपको खबर सुनेपछि उनले अनिषलाई फोन गरिरहिन् । उठेन । कान्छो छोरा निखिल पनि सम्पर्कमा थिएनन् । पटकपटक हानेपछि बल्ल अनिषको फोन उठ्यो । अम्बिका बोलिन् – बाबु, कता छौ ?, उताबाट आवाज आयो– हजुर, म हस्पिटलबाट बोल्दै छु । अम्बिका आत्तिइन् – अनिष खै ?, फोनमा बोल्नेले अनिषलाई सामान्य चोट लागेको र अस्पताल ल्याइएको सुनाए ।
छोराको फोन अरुले उठाएपछि उनी झनै आत्तिइन् । हस्याङफस्याङ पसल बन्द गरेर भाग्दै अस्पताल आइपुगिन् । अनिषको मुखमा अक्सिजन मास्क थियो । उनी बोल्न सक्ने अवस्थामा थिएनन् । अनिषलाई देखेर आमा अम्बिका मौन रहिन् । आँखा आँसुले टिल्पिलाउन थाले । उनको बोली फुटेन । अनिषलाई सघन उपचार कक्ष (आईसीयू)मा राखियो । त्यहाँ जतिबेला पनि भेट्न पाइन्थेन । अम्बिका ढोकामै कुरिरहन्थिन् ।
६ दिनपछि अनिषलाई आईसीयूबाट निकालेर सर्जरी वार्डमा सारियो । अम्बिकाले केही राहतको सास फेरिन् । उनको मन ढुक्क भयो । घटनाको २० दिनपछि अहिले अनिष बोल्न थालेका छन् । सोधेको प्रश्नको विस्तारै जवाफ दिन्छन्, जुन अम्बिका आफैंले कल्पना गरेकी थिइनन् ।
‘मैले सुरुमा देख्दा अनुहार सुनिएर पूरै निलो भएको थियो । ६ दिन आईसीयूमा बस्यो,’ उनले सुनाइन्, ‘हड्डी सबै फुटेको थियो । बोल्थेन । यत्तिको निको होला भन्ने लागेकै थिएन ।’ अनिष आफैंलाई अनुहारमा के’ले चोट लाग्यो मेसो छैन । गण्डकी मेडिकल कलेजका मेक्सिलोफेसियल सर्जन डा. उज्ज्वल कोइरालाका अनुसार अनिषको अनुहारमा अश्रुग्यास कन्टेनर (बट्टा) जोडसँग ठोक्किएकाले हड्डी टुक्राटुक्रा भएका छन् । आँखा र नाकका वरपरको हड्डी, प्यालेट (मुखभित्र जिब्रोमाथि हुने हड्डी), म्याक्जिलरी हड्डी (दाँत अडिने हड्डी) क्षतविक्षत भएको उनले सुनाए ।
‘निधारमुनिका सबै हड्डी टुक्राटुक्रा भएका थिए । घटनाको दिन आउनेबित्तिकै हामीले च्यातिएका मासु, छाला सिलाउने काम गर्यौं,’ उनले भने, ‘३ दिनमा थोरै ठीक भएपछि हड्डीलाई ठाउँमा ल्याएर पाता राखेका छौं ।’
प्यालेट हड्डी टुक्रा परेकाले अनिषलाई खानपिनमा समस्या छ । ३ महिनापछि अनिषको एउटा शल्यक्रिया गरिने र त्यसपछि दाँत मिलाइने डा. कोइरालाले बताए ।
‘उसको प्यालेट हड्डी टुक्राटुक्रा भएकाले मुखबाट खाँदा नाकबाट पानी निस्कने समस्या छ । तलका दाँतको हड्डी बसेपछि ३ महिनामा एउटा अपरेसन गर्नुपर्छ,’ उनले भने । नाक र मुखको हड्डीमा क्षति पुगेकाले अनिषलाई राम्रोसँग बोल्न, खानेकुरा चपाउन केही समय अप्ठेरो हुने डा. कोइरालाले बताए । उनकाअनुसार आन्दोलनअघि अनिषको अनुहारको जुन संरचना थियो त्यसमा अब केही बद्लाव देखिनेछ । टुक्रा भएका हड्डी विस्तारै जोडिँदै जाने उनको भनाइ छ ।
अनिष पोखरामा पनि भ्रष्टाचार, अनियमितता र वेथितिविरुद्ध आन्दोलन हुने थाहा पाएपछि स्वतः स्फूर्त सडकमा ओर्लिएका थिए । अघिल्लो दिन भदौ २३ गते पनि उनी आन्दोलनमा थिए । प्रहरीसँग दोहोरो झडप सुरु भएपछि उनी घर फर्किए । अनिष पोखरा–३१ बेगनासमा ठूलीआमासँग बस्छन् । भोलिपल्ट बिहान पनि उनी भाइसँग बस चढेर पोखरा आइपुगे ।
उनी भोकै आन्दोलनमा हिँडेका थिए । हजुरआमा रसमाया तिवारीले खाना खाएर जान भनेकी थिइन् । उनले भोक नलागेको जवाफ दिए । ‘खाना पाकिसक्यो, खाएर जाओ भनेकी थिएँ, भोक लागेको छैन भनेपछि दूध खाएर जान भनें,’ रसमायाले सुनाइन्, ‘सानोले दूध खायो, माहिलोले चिया खान्छु भनेर चिया बनाइदिएँ ।’
दूध र चिया पिएर दुई भाइ पोखरातिर निस्किए । बस चढेर एक घण्टामा पोखरा आइपुगे । सब्जी मण्डी पुगेर आमालाई भेटे । यसपछि न्यूरोड पुगे, जहाँ आन्दोलन शान्तिपूर्ण नै थियो । पुगेको आधा घण्टामै अनिष सडकमा ढलेका थिए । घाइते भएर थला परेका अनिषलाई जसविरुद्ध आन्दोलन भयो उसले सत्ता छोडेकोमा खुसी मिलेको छ । जीवनभर अपांग हुने चिन्ताले उनलाई उत्तिकै सताइरहेको छ ।
‘हट्नुपर्ने मान्छे हटे । अब देश परिवर्तन होला, आफू सधैंभरलाई यस्तै भयो । अपांग नै भइयो भनौं,’ मलिन स्वरमा उनले सुनाए । अनिषलाई भविष्यमा के गर्ने भन्ने चिन्ताले निकै सताएको रहेछ । पछि उपचार कसरी गर्ने भन्ने चिन्ता उस्तै छ । ‘हामी घाइतेले राहत पाइएला नि है ? मेरो भविष्य के होला ? उपचार कसले गर्छ ?’ उनले प्रश्न गर्दै थपे, ‘मेरो त अझै एउटा अपरेसन गर्नै बाँकी छ ।’
अनिष चार वर्षको हुँदा नै आमा–बुवा अलग भएका थिए । अम्बिकाले आफ्नै बलबुताले तीन छोरा हुर्काइन् । बुवा सम्पर्कमा नभएकाले उनले उमेर पुगेका दुई छोराको नागरिकता बनाउन सकेकी छैनन् । अम्बिका पटक–पटक जिल्ला प्रशासन कार्यालय धाएकी छन् । आमाको नामबाट नागरिकता पाउने विधेयक पारित भएपछि सहज हुने आश्वासन पाएकाले उनी अहिले प्रशासन गएकी छैनन् ।
अब उनलाई छोराको पछि गर्नुपर्ने उपचार खर्च कसरी व्यहोर्ने भन्ने चिन्ता छ । ‘अहिले त अस्पतालले नि:शुल्क गरिदिएको छ । पछि आउँदा पनि गरिदिने कुरा छ । जीवनभरलाई अपांगजस्तै भयो । पछि–पछि के गर्ने होला ? सरकारले केही गर्ला नि है’ उनी आशावादी सुनिइन् । अस्पतालमा नपाइने औषधिका लागि सब्जी मण्डीका व्यवसायी र अनिषका साथीभाइले आर्थिक सहयोग गरेको उनले बताइन् ।
