प्रहरी चौकीवरिपरि अचानक धेरै मान्छे जम्मा भएको र आफूहरू भाग्न खोज्दा गोलीको छर्रा लागेको संगीता लामाले बताइन्।
काठमाडौँ — साथीहरूसँग खेलिरहेकी ललितपुरकी १४ वर्षीया संगीता लामा प्रहरीले चलाएको गोलीको छर्रा लागेर घाइते छिन् । छोरीको उपचारका लागि ट्रमा सेन्टरमा भेटिएकी कुमारी लामाले भनिन्, ‘हामी पुल्चोक नजिकै कोठामा बस्दै आएका छौं । नानीबाबुहरू सधैंझैं खेलिरहेका थिए । २४ भदौ बिहानै प्रहरीले हानेको गोलीको छर्रा मेरो नानीको देब्रे खुट्टामा लागेको छ । छोराको गाला र पाखुरामा आगोले पोलेको छ ।’
संगीताका दाइ राजकुमार उपचारपछि घरमै छन् । संगीताको अप्रेसन भएकाले अझै केही दिन अस्पतालमै बस्नुपर्ने उनले सुनाइन् ।
सरकारले घाइतेको निःशुल्क उपचार गर्ने भने पनि संगीताको उपचारमा भने अस्पतालले सहज रूपमा नगर्दा वडाबाट सिफारिस लिनुपरेको दुखेसो उनले गरिन् । 'छोरी घाइते भएपछि नजिकैको अल्का अस्पताल लगिएको थियो । अल्काबाट डिस्चार्ज भएर घर लगेपछि पुन: परीक्षणका लागि आउँदा नि:शुल्क नहुने भनियो,' उनले भनिन्, 'मैले वडाबाट सिफारिस ल्याउँदा पनि निःशुल्क उपचार नपाउने भएकाले ट्रमा आएकी हुँ ।'
‘३ दिनमै अल्का अस्पतालले उपचार सकियो भन्दै घाउ सुकेपछि आउनु भनेर डिस्चार्ज दिन खोज्यो । तर मैले जोड गरेर २ थप दुई दिन अस्पतालमा राखेँ,' उनले भनिन्, 'खुट्टा सुन्निएकाले केही दिन घरमा नै आराम गरेपछि फलोअपका लागि ल्याउनु भन्यो । मैले छोरीलाई असहज भएपछि पुन: अस्पताल ल्याउँदा थप उपचारसहित टिकटका लागि पनि अस्पतालले पैसा लाग्ने भनेर उपचार गरेन ।'
‘पहिले नै अर्को अस्पताल आएको भए छिटो उपचार पाउने रहेछ,’ उनले भनिन् । संगीताको बिहीबार साँझ अप्रेसन भएको थियो । घाइते संगीतालाई भने आन्दोलनको धेरै जानकारी नभए पनि देश राम्रो होस् भन्ने लाग्छ । उनी अचानक प्रहरी चौकीवरिपरि धेरै मान्छे जम्मा भएको र आफूहरू भाग्न खोज्दा गोली लागेको बताउँछिन् ।
काभ्रे घर भए पनि लामा परिवार २२ वर्षदेखि काठमाडौंमै बस्दै आएको छ । घर-परिवारको जिम्मेवारी पनि कुमारी लामाको नै काँधमा छ । ‘श्रीमान् कुलतमा लाग्नु भएको छ । भनेको नै मान्नु हुन्न । दुई छोरी र एक छोराको जिम्मेवारी मेरै हो,’ कुमारी लामाले भनिन्, ‘म हातमा लगाउने ब्रसकेट र बाला बनाउने काम गर्छु । यसले नै घरखर्च चल्छ । छोराछोरीलाई राम्रो पढाउने ईच्छा छ।’
