खुट्टामा गोली लागेका सन्तोष भन्छन् : आन्दोलनले परिवर्तन त भयो तर ऐतिहासिक धरोहर जल्दा दु:खी छु

'देशमा त्यतिका वर्ष लागेर बनेका इतिहास र सम्पदा जलाइदिए । आन्दोलनमा घुसपैठ भयो,' उनको दु:खेसो छ ‌।

आश्विन २, २०८२

समर्पण श्री

Santosh, who was shot in the leg, says: The movement has brought change, but I am saddened by the loss of historical heritage

काठमाडौँ — लमजुङका २३ वर्षीय सन्तोष वाइबा बालाजु बस्छन् । जेन-जी आन्दोलनको पहिलो दिन साढे १ बजे उनको तिघ्रामा गोली लागेको थियो । गोली लाग्नासाथ सुरुमा उनलाई सिभिल अस्पताल पठाइयो ।

सिभिलबाट पाटन अस्पताल रिफर गरियो । उनी सामाजिक सञ्जालमा थाहा पाएर यो आन्दोलनमा होमिएका थिए ।

'तर यस्तो हुन्छ भन्ने एक प्रतिशत पनि सोचेका थिएनौं,' उनी भन्छन्, ' संसद् भवन अगाडि शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा गोली बर्सिन थाल्यो ।' अस्पताल हुँदा उनलाई घरमा रहेका बाको खुब याद आयो । चार महिनाअघि मात्र बितेकी आमाको यादले पनि सतायो । त्यसमाथि पर्ससँगै मोबाइल हराएका कारण घरमा सम्पर्क हुन सकिरहेको थिएन । घरमा बाले ३ दिनपछि थाहा पाए । अस्पताल आएर ढाडस दिँदै भने, 'चिन्ता नगर । छिट्टै निको हुन्छ,' बाले आश्वासन दिए ।

अहिले अस्पतालमा बसिरहँदा सन्तोषलाई आफूहरूले परिवर्तनका लागि योगदान दिए पनि दोस्रो दिन घुसपैठ भएको कुराले पोलेको छ । 'देशमा त्यतिका वर्ष लागेर बनेका इतिहास र सम्पदा जलाइदिए । आन्दोलनमा घुसपैठ भयो,' उनको दु:खेसो छ ‌।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully