पाँच तलाबाट जमिनमा पछारिएका इन्द्रबहादुरको हात र कम्मरको हड्डीमा चोट छ
काठमाडौँ — दोलखाका ४९ वर्षीय इन्द्रबहादुर खाती ललितपुर सातदोबाटोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत छन् । सातदोबाटोमा उनी वेल्डिङको काम गर्थे । गत २४ गते उनलाई साहुले पसलको काममा बोलाए । अघिल्लो दिन गोलीले कलिला युवाहरू मारिएको खबरले उनी निदाउन सकेका थिएनन् ।
आन्दोलनमा हिँड्ने मन पनि थियो । कर्फ्यु छल्दै उनी पसल पुगे । आन्दोलनका कारण पसल बन्द थियो । आन्दोलनकारीको हुल त्यो घरको माथिबाट प्रहरीलाई ढुंगा बर्साइरहेका थिए । उनी पनि घरमाथि कौसीमा गएर आन्दोलित बने । प्रहरीले गोली हान्न खोज्यो । त्यो हुल त्यहाँबाट तितरबितर भयो । 'भाग्ने क्रममा जस्तामा टेक्न पुगेछु । पाँच तलाबाट जमिनमा पछारिएँ,' इन्द्रडहादुर भन्छन् ।
उनको हातभित्र हड्डी र कम्मरको हड्डीमा चोट लागेको छ । अहिले उनलाई घर व्यवहारको चिन्ताले सताइरहेको छ । २३ वर्षीय छोरा जापान जाने तयारीमा छन् । उनको थाप्लोमा ऋणैऋण छ । 'अब काम गर्न सकिनँ भने ऋण कसरी तिर्ने, घर कसरी चलाउने,' उनको तनाव छ ।
इन्द्रबहादुरको जीवनमा १० वर्षअघि ठूलो बज्रपात परेको थियो । ०७२ सालको भूकम्पमा परेर उनले दुई छोरी गुमाएका थिए । त्यो पीडाले पनि उनलिई जहिल्यै सताइरहन्छ । 'मेरो त भाग्यमा खुसी भन्ने कुरै रैनछ,' उनी दु:खी हुँदै भन्छन्, 'अब निको मिलेर काम गर्न जान सकिनँ भने कै होला ?'
