‘देश राम्रो भए युवाहरू बिदेसिन पर्दैनथ्यो’

‘भ्रष्टाचार नियन्त्रण होस् । जसले घुसपैठ गरी आन्दोलनमा तोडफोड र आगजनी गरे सबैले सजाय पाउनुपर्छ ।’

आश्विन २, २०८२

आरती पौडेल

”If the country was good, the youth would not have to go abroad”

What you should know

काठमाडौँ — बनेपा नगरपालिका-३ का रोशन पराजुली ब्याचलर सकेर बसेका थिए । २६ वर्षीय रोशन अस्ट्रेलिया जाने सोचसहित काठमाडौं आएका थिए । शंखमूल डेरामा बसेर उनी पीटीई कक्षा लिइरहेका थिए ।

देशमा युवाहरूले योग्यताअनुरूपको जागिर नपाउने कुराले उनलाई निकै मन देख्थ्यो । ब्याचलर सकेर बसेका युवाहरूले महिनाको १०/१५ हजारको जागिर खाएर कसरी देशमा बस्ने ? कसरी घर परिवार हेर्ने भन्ने कुराले अन्य युवाहरूको जसरी नै उनको मन पनि पोलिरहन्थ्यो।

'जनताले जिताएर पठाएका नेताहरू काम नगरी भ्रष्टाचार गर्ने र उनीहरू जनताको करमा रमाएको देखेर उनका मनमा किन भ्रष्टहरूलाई कारबाही हुँदैन ?' जस्ता अनेक प्रश्नहरू मनमा खेल्थे । आफ्नै पुस्ताले भ्रष्टाचारविरुद्धको र्‍याली गर्ने थाहा पाएपछि उनी पनि २३ गतेको जेन-जी आन्दोलनमा साथीसँग मिलेर सहभागिता जनाउन पुगेका थिए । 

बिहान १० बजेदेखि आन्दोलनमा पुगेका उनी आन्दोलनलाई नियालिरहेका थिए । नारा लगाउँदै सबैजना संसद् भवनतिर पुगिसकेका थिए । उनी सडक छेउमा बसिरहेका थिए । आफू सडकछेउमा उभ्भिएर बसेको बेला एक्कासि गोली लागेको बताउँछन् । उनी भन्छन्,‘संसद् भवन जानेतिर हुलदंगा भएको थियो, तर म त्यहाँ होइन, बाहिर फुटपाथमा बसिरहेको थिएँ, तर कताबाट देब्रे खुट्टाको साँप्रामा गोली लाग्यो ।’ त्यसपछि उनलाई हस्पिटल लगिएको थियो । उनी ९ दिनदेखि अस्पतालमा छन् । 

देशले परिर्वतन चाहेको र उक्त आन्दोलनले थोरै भए पनि परिर्वतन पाएको हुँदा आफू आन्दोलनमा गएको पछुतो नभएको उनी बताउँछन् । रोशन परिवारका एक मात्र सन्तान हुन् । उनी देश राम्रो भएमा युवाहरू बिदेसिन पर्ने थिएन भन्ने सोच्छन् । उनी आन्दोलनको दिन गोली चलाउन आदेश दिनेलाई कडा भन्दा कडा कारबाही होस् भन्ने चाहान्छन् ।

उनी भन्छन्,‘जसले गोली चलाउन आदेश दियो त्यसलाई जसरी पनि यो सरकारले कारबाही गर्नुपर्छ । शान्तिपूर्ण आन्दोलनलाई एक्कासि भड्काएर गोली चलाएर युवालाई मार्ने र घाइते बनाउनेहरू सबैलाई सरकारले खोजोस्,’ उनी भन्छन्,‘भ्रष्टाचार नियन्त्रण होस् । जसले घुसपैठ गरी आन्दोलनमा तोडफोड र आगजनी गरे सबैले सजाय पाउनुपर्छ ।’

आरती पौडेल

Link copied successfully