विशाल श्रेष्ठकी आमा : गोल रक्षककी संरक्षक

गोलकिपर विशाल कुनै बेला अन्योल भविष्य देखेर आत्तिन्छन् । आमा मिश्रीले आडभरोसा दिन्छिन् । मन पोलिरहेका बेला स्नेहले सम्झाउँदै शीतल बनाउँछिन् । उनी चाहन्छिन्, ‘छोराका लागि फुटबलको विकल्प फुटबल मात्र होस् ।’

फाल्गुन २७, २०८१

समर्पण श्री

Vishal Shrestha's mother: Guardian of the goalkeeper

काठमाडौँ — चट्टानजस्तै छाती बनाउँदै उनी मैदानमा उभिएका थिए । युद्धमा गोली थाप्न तम्तयार सिपाहीझैं आफ्नो पोस्टतर्फ आइरहेको बल छेक्न तम्तयार देखिन्थे उनी । जब–जब बल छेक्थे, समर्थकहरू खुसीले ताली पिट्थे । त्यही माहोलभित्र प्रार्थना गरिरहेकी मिश्री श्रेष्ठको छाती भने चसक्क हुन्थ्यो । ‘लड्ला कि छोरो !’ भन्ने लागिरहन्थ्यो, ‘लाग्ला कि चोट,’ भन्ने भइरहन्थ्यो ।

कुशल गोलरक्षक विशाल श्रेष्ठ हालै केपी ओली कप फुटबल प्रतियोगितामा मछिन्द्र क्लबबाट खेलिरहेका बेला आमाभित्र अनौठो भयले डेरा जमाइरहेको थियो । हेर्दाहेर्दै खेल सकियो । मछिन्द्रले ट्रफी उचाल्यो । विशाल उत्कृष्ट गोलकिपर घोषित भए । उक्त टिमका समर्थकले विजयको श्वास फेरे । मिश्री छोराप्रति गौरवान्वित भइन् ।

‘खेल हेर्न कहिल्यै नजाने मान्छे यस पटक जान्छु भन्नुभयो । छोराले जितेपछि खुसी हुनुभयो,’ विशाल विजयको उन्मादसँगै मैदानमा उभिएको क्षण नियाल्दै भन्छन् ।

यस पटक त मैदानमा मिश्रीलाई अनौठो लागेछ । छोराको खेल हेर्न त्यतिका धेरै मान्छे आएका देखेर पुलकित भइछिन् । खेल सकेर बाहिरिएपछि सुनाइछन्, ‘खेल हेर्न ठूला मान्छेहरू बस्ने ठाउँमा तेरो कारण हामी पनि बस्यौं, रंगशाला टेक्न बाटो खोलिस् है !’ विशालले आमालाई हेर्दै मनमनै साउती मारेछन्, ‘जसले रंगशालासम्म पुग्ने बाटो देखाइनुभयो । उहाँको अघि त यो केही पनि हैन ।’

...

उतिबेलाका कपनका हरिया मैदानमा यतिबेला कंक्रिटका घर ठडिएका छन् । ती घर ठडिएका ठाउँमा आँखा पुर्‍याउँदै विशाल बेला–बेला विगततिर विचरण गर्छन् । ‘त्यहाँ पहिले म घरबेटी दाइसँगै फुटबल खेल्न जान्थें । दाइहरूसँग खेल्न पाइन्छ कि भनेर बस्थें । बल्ल गोलकिपरमा मेरो पालो आउँथ्यो,’ उनी सम्झन्छन् । छोरालाई फुटबल मैदानमा देखेर मिश्री सुरुमा आत्तिन्थिन् । विशाल शरीरभरि चोट बोकेर आउँथे । मिश्री छोरालाई सम्झाउँदै भन्थिन्, ‘नजाऊ, दाइहरूले हानेको बलले चोट लाग्छ ।’ उनी टेर्दैनथे । एक दिन ज्वरो आएर सुतिरहेका बेला विशालले झ्यालबाहिर फुटबल खेलिरहेको देखे । उनी गोलकिपर बन्न तम्सिए । आमाले देखिछिन् । ‘ममीले लट्ठी लिएर मलाई लखेट्नुभयो । म बेस्सरी भागें,’ उनी हाँस्दै सम्झिन्छन् । तर आमाछोराको यो लुकामारी धेरै समयसम्म चलेन ।

आमाले निषेध गरेपछि विशालले मैदान टेकेका थिएनन् । घरबाहिरको मैदानमा फुटबल खेलिरहेका साथीहरू देखेर विशाल छटपटाउँथे । झ्यालबाट अँध्यारो अनुहार लगाउँदै मैदानतर्फ टुलुटुलु हेरिबस्थे । छोराको अँध्यारिएको अनुहार देखेर मिश्रीलाई पछुतो लाग्यो । उनले छोरालाई खेल्न जान इजाजत दिइन् । त्यसपछि मैदानतर्फ लम्किएका विशालका पाइला कहिल्यै रोकिएनन् ।

Vishal Shrestha's mother: Guardian of the goalkeeper

विशालका बा–आमा २०४१ मा सिन्धुपाल्चोकको तौथलीबाट काठमाडौं आएका थिए । बा हीरालाल र आमा मिश्रीका चार सन्तान । तीन दिदीको एक्लो भाइ थिए विशाल । बा–आमाले काठमाडौंमा होटल व्यवसाय थाले । पछि ग्रिल व्यवसायतर्फ लागे । सुरुमा होटल सञ्चालन गर्दाको सम्झना मिश्री अहिले पनि छोरासँग गर्छिन्, ‘म परिकार बनाउन पनि जान्दिन थिएँ । उल्टै ग्राहक आएर सिकाएर जान्थे ।’ कक्षा ५ सम्म पढेकी मिश्री पछि व्यवसायमा अभ्यस्त बन्दै गइन् । 

उनी भन्थिन्, ‘पढेको भए त अझै कति धेरै गर्न सक्थें ।’

चार सन्तान आमाले कसरी हुर्काइन् ? विशाल आफ्नो छोरीलाई सबैले गरिरहेको हेरचाह सम्झँदै सोच्छन् । ‘वेदांशालाई हेर्न हामी चार जना लागिपरेका थियौं । तपाईंले हामी चार जनालाई एक्लैले कसरी हुर्काउनुभयो ?,’ उनी आमासँग जिज्ञासा राख्छन् । मिश्री मुस्कुराउँदै भन्छिन्, ‘यसले चाहिँ मेरो दुःख बुझ्यो ।’

...

२०५९ तिर विशाल ११ वर्षका थिए । एक दिन जेठी दिदी पार्वतीले एन्फाको यू–१२ का लागि छनोट चलिरहेको थाहा पाइछन् । घरमा आएर भनिन्, ‘भाइ धेरै फुटबल खेल्छ, छनोट पो हुन्छ कि !’ छोराको खेलप्रतिको हुटहुटी देखेर बा–आमाले निर्क्योल गरे, ‘छोरालाई फुटबल खेलाउनुपर्छ ।’ त्यसपछि औपचारिक रूपमा विशालको फुटबल यात्राको आरम्भ भयो । उनी चार दिनको छनोट प्रक्रियामा सहभागी भए । इँटाको पोस्ट राखेर फुटबल खेलिरहेका उनी सानो गौचरनको 

पोस्ट देखेर आत्तिए । बाले थमथम्याए, ‘नडरा ! तैंले सक्छस् ।’ एक दिन बाले घरमा आएर सुनाए, ‘छोरा छनोट भयो ।’ त्यसपछि परिवारमा खुसीको रौनक छायो ।

विशालले घरमा चकचकी गरेको थाहा पाउनासाथ आमा भन्थिन्, ‘तँलाई होस्टल राखिदिन्छु ।’ उनी होस्टलमा राख्ने कुरा सुन्नासाथ रोइदिन्थे । यस्तो दिन आयो, उनी फुटबल प्रशिक्षणका लागि हेटौंडा बसेर पढ्नुपर्ने भयो । विशाल चाहन्नथे– फुटबल त्याग्न । बा–आमा पनि चाहन्थेनन्, छोराको सपना तुहेको हेर्न । उनी हेटौंडा जाने दिन आमाछोराको आँखा निकैबेरसम्म भरियो । भारी मनले छोरालाई बिदाइका हात हल्लाइन् ।

हेटौंडामा बसेको थुप्रै दिनसम्म पनि विशाल घरसँग नियास्रिरहे । बिहान निद्रा खुल्नासाथ कानमा ‘खटखट, खटखट...’ आवाज आउँथ्यो । ‘पंखाको खटखट आवाज जबजब सुन्थें, मलाई घरको असाध्यै याद आउँथ्यो,’ उनी बाल्यस्मृतितर्फ फर्कन्छन् । मन्दिरमा बज्ने घण्टीको आवाजले पनि उनलाई घरको याद बेस्सरी दिलाउँथ्यो । त्यतिबेला उनलाई रुन आउँथ्यो तर साथीभाइको सामु आँसु आउँथेन । उनी एक्लै हुँदा सिरकले मुख छोपेर रुन्थे ।

Vishal Shrestha's mother: Guardian of the goalkeeper

एक दिन होस्टलमा बा–आमा भेट्न आउँदै छन् भन्ने सुने । विशालमा खुसीको सीमा रहेन । उनका आँखाले बा–आमा आउँदै गरेका आकृति पटक–पटक देखिरहे । बा–आमासँग भेट भएपछि विशाल रुन्थे । आमा पनि सँगै रुन्थिन् । त्यतिबेला आमालाई अनुरोध गर्थे, ‘ममी, तपाईंहरू पनि यतै बसेर काम गर्नु न ।’

उनको कुराले झन् भावुक बनाउँथ्यो मिश्रीलाई । विशाल गणितको हिसाब नआउँदा दिदीलाई सम्झन्थे र रुन्थे । ज्वरो आउँदा आमालाई सम्झन्थे र रुन्थे ।

दुई वर्षसम्म बा–आमासँग टाढिनुपर्दाको क्षण अहिले पनि उनको आँखामा सदृश्य छाउँछ । विशाल सम्झन्छन्, ‘उहाँहरूले नजा पनि त भन्न सक्नुहुन्थ्यो । रोक्न पनि सक्नुहुन्थ्यो । तर, उहाँहरूले मेरो सपनालाई माया गरिदिनुभयो ।’ आमा मिश्रीलाई छोरा बाहिर छ भन्ने कुराको पीर रहिरहन्थ्यो । तर मनभित्र थियो, ‘सपना बोकेर गएको छोरालाई कसरी रोक्नु !’

...

मिश्री छोराले पढाइ पूरा गरेको पनि हेर्न चाहन्थिन् । आफ्नो मात्र हैन, उनी बा–आमाको सपना पनि पूरा गर्न चाहन्थे । मिश्री भन्थिन्, ‘जे गरे पनि हामी साथ दिन्छौं तर पढ्न नछाड ।’ आमाले भनेझैं उनले पढाइलाई छाडेनन् ।

एक पटक विशालको जीवनमा दुई परीक्षा एकसाथ आए । बीबीएसको परीक्षा नजिकिँदै गर्दा विशाल ‘ए’ डिभिजन खेल्न सुरु गरिसकेका थिए । खेलकै बेला परीक्षा पर्ने भयो । त्यतिबेला उनले आफ्नो म्यानेजरलाई परीक्षाको दिन खेल नपार्न अनुरोध गरे । ‘म गेम खेल्न पोखरा पुग्थें । अनि कहिले प्लेन र बाइकमा आउजाउ गर्थें । दुवैलाई एकै समयमा भ्याएँ,’ उनी सुनाउँछन् ।

छोराले फुटबल खेलिरहेको हेर्न चाहन्छु । देशका लागि ट्रफीहरू जितेको देख्न चाहन्छु । संन्यासका दिन आउनुअघि जे–जसरी हुन्छ, हामी साथ दिनेछौं : मिश्री श्रेष्ठ

कक्षाकोठा र मैदानको परीक्षालाई सँगै हाँकेका छोरालाई देखेर मिश्रीले भनिन्, ‘खेल पनि राम्रो गर्‍यो, परीक्षा पनि । म खुसी छु ।’ विशालले फुटबलसँगै अध्ययनलाई पनि सँगसँगै लगे । उनले ‘बिजनेस स्टडी’ मा स्नातकोत्तर गरेका छन् । ‘बा–आमाले मलाई फुटबल खेल्न दिनुभएको छ भने मैले पनि उहाँहरूलाई सर्टिफिकेट दिनुपर्छ भन्ने थियो । पूरा गरें,’ उनी भन्छन् ।

...

उनको सम्झनामा त्यो २०११ तिर हुनुपर्छ । खेल खेल्दाखेल्दै विशालको हात भाँचियो । जीवनको सबैभन्दा अँध्यारो क्षण लाग्यो विशाललाई । ‘करिअरको पिकमा जाँदै थिएँ । यो दुर्घटनाले कहिल्यै खेल्न सक्दिनँ भनेर निराश भइरहेको थिएँ,’ उनी सम्झन्छन्, ‘तर ममीले मेरो अँध्यारो समयमा पनि आशाको बत्ती बालिरहनुभयो । म ठीक हुँदै गएँ ।’ २०११ मै विशाल राष्ट्रिय टिममा छनोट भए । त्यसअघि पटकपटक अन्तिम चरणबाट बाहिरिँदा उनी विचलित हुन्थे । तर आमाले हिम्मत हार्न दिइनन् । छनोट भएको दिन बाले धाप मार्दै भने, ‘दुःख गरेको परिणाम आयो नि !’

...

छोरालाई सधैं हौसला दिइरहने मिश्री विशालको खेल हेर्नचाहिँ सक्दिन थिइन् । यू–१९ को खेल हुँदा पहिलो पटक उनी छोराको खेल हेर्न रंगशाला पुगेकी थिइन् । तर उनले हेर्न सकिनन् । आँखा छोपेर बसिन् । एक जना आफन्तले भनिदिएछन्, ‘तपाईं त खेल हेर्नै सक्नुहुन्न रहेछ ।’

घरमा पनि विशालको खेल चलिरहेका बेला बा टीभी हेरेर बस्छन् । आमा प्रत्यक्ष हेर्न सक्दिनन् । खेल सकिएपछिको परिणाम मात्र जान्न तम्सिन्छिन् । ‘जितें भने मलाई फोन गर्नुहुन्छ । हार्‍यो भने बुबालाई भन्नुहुन्छ । हत्तपत्त दुःखचाहिँ देखाउनु हुन्न ।’ एक पटक विशालले मनाङ मर्स्याङ्दीबाट लिग जित्दा उत्कृष्ट गोलरक्षक भएर बाइक पुरस्कार पाएका थिए । मिश्रीले छोरालाई मैदानमै अँगालो हालेकी थिइन् । त्यो फोटो पत्रपत्रिकामा पनि छापिएको थियो ।

पत्रपत्रिकामा विशालबारे छापिएका समाचार र फोटाहरू बाले संकलन गर्छन् । त्यसलाई फाइनल बनाएर घरमा राख्छन् । ‘पहिलो पटक समाचार आउँदा मैले गोल खाएको थिएँ । गोल खाएको भनेर टेन्सनमा पत्रिका हेरिरहेथें । बुबा–ममीले नामै फरक राखेछ भनेर काटेर मेरो नाम टालेर राख्नुभएको थियो,’ उनी हार्दा पनि बा–आमाका कारण रमाइलो बनेका क्षणबारे भन्छन् ।

...

सधैं खेलहरू भइरहँदैनन् । कुनै बेला अन्योल भविष्यबारे सम्झँदा विशाल चिडचिडाउँछन् । त्यस्तो बेलामा विकल्पबारे सोच्छन्, ‘म पनि ग्रिलकै काम गर्नुपर्ला ।’ छोराले अरू काम गरेको न बा चाहन्छन् न आमा । ‘हामी तँलाई हेरिहाल्छौं । तँ आफ्नो ठाउँ बना,’ उनीहरू सम्झाउँछन् । आमा त उनलाई पीडामा ओखतीजस्तो छिन् । मन पोलिरहेका बेला स्नेहले सम्झाउँदै शीतल बनाउँछिन् । उनी चाहन्छिन्, ‘छोराका लागि फुटबलको विकल्प फुटबल मात्र हो ।’

तर एक दिन उमेर र समयका कारण फुटबल छाड्नुपर्ने दिन आउँछ नै । त्यतिबेला के गर्ने ? सोच्छन्, ‘विदेश... ?’ आफ्नै मनले पनि सदर गर्दैन त्यो विचार । ‘यदि मनले माने पनि बा–आमा मान्दैनन्,’ उनी भन्छन् ।

विशालकी श्रीमती छिन् । उनीहरूका दुई सन्तान पनि छन् । विशाल न श्रीमती र छोरीहरूको आँखाबाट पर जान सक्छन्, न त आमाबाको ममताबाटै । ‘देशका लागि खेलिरहुँ । भोलि विकल्प पनि यसैले जन्माउला,’ विशाल सोच्छन् । विशाल सानोमा लामो कपाल बनाएर फुटबल खेल्थे । मिश्रीलाई त्यो ‘झ्याप्ले’ कपाल अहिले पनि सम्झना आउँछ । पहिलो त उनी छोराले देशका लागि खेलिरहेको हेर्न चाहन्छिन् । ट्रफीहरू जितेको देख्न चाहन्छिन् । संन्यासका दिन पनि त आउँछन् । त्यतिबेलाको समयबारे कुरा गर्दै छोरालाई भन्छिन्, ‘खेल्न छोड्ने बेलामा सुरुकै जस्तो झ्याप्ले कपाल बना है । मलाई त्यो असाध्यै मनपर्छ ।’

आफ्ना हर सपना पूरा गरेकी आमाका निम्ति उनी सपना अधुरा छाड्दैनन् । भन्छन्, ‘म फुटबल छाड्ने अन्तिम दिनहरूमा उही अवतारमा देखिनेछु ।’

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully