ट्युसन पढ्न सुर्खेत झर्छन् कर्णालीका विद्यार्थी

विषयगत शिक्षकको अभाव र विद्यालयले समयमै कोर्स पूरा गर्न नसक्दा कर्णालीका हिमाली र पहाडी जिल्लाबाट १०, ११ र १२ कक्षाका विद्यार्थी हरेक वर्ष ट्युसन पढ्नकै लागि वीरेन्द्रनगर आउँछन्

फाल्गुन २२, २०८१

तृप्ति शाही

Karnali students come to Surkhet for tuition

वीरेन्द्रनगर — कालीकोट रास्कोट नगरपालिका–२ स्थित मोतीराम माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने मदन आचार्य दुई महिनादेखि कर्णालीको राजधानी वीरेन्द्रनगरमा छन् । विद्यालयमा नियमित पढाइ नभएपछि परीक्षाको तयारीका लागि ट्युसन पढ्न उनी सुर्खेत झरेका हुन् । विषयगत शिक्षकको अभाव र विद्यालयले समयमै कोर्स पूरा गर्न नसक्दा कर्णालीका हिमाली र पहाडी जिल्लाबाट १०, ११ र १२ कक्षाका विद्यार्थी हरेक वर्ष ट्युसन पढ्नकै लागि वीरेन्द्रनगर आउने गरेका छन् ।

व्यवस्थापन संकाय पढिरहेका आचार्यले विद्यालयमा कोर्स पूरा नहुने छाँट देखेपछि ट्युसनको बाटो रोजेको जनाए । विद्यालयमा नियमित पठनपाठन भए पनि पाठ्यक्रम पूरा नहुने समस्याले धेरै विद्यार्थी ट्युसन पढ्नकै लागि सुर्खेत बस्नुपरेको उनको भनाइ छ । ‘बोर्ड परीक्षामा राम्रो अंक ल्याउनैपर्‍यो,’ आचार्यले भने, ‘स्कुलमा कोर्स नसकिने भएपछि ट्युसन पढ्न आएँ ।’ 

आचार्य पढ्ने विद्यालयमा साउन–भदौतिर मात्र पढाइ सुरु हुन्छ । त्यसैले उनीजस्ता धेरै विद्यार्थीलाई कोर्स पूरा नहुने चिन्ताले सताएको मात्रै छैन, परीक्षामा पास नहुने डरले पनि मनमा डेरा बसाएको छ । विद्यालयले समयमै पाठ्यक्रम पूरा नगर्दा विद्यार्थीहरू विकल्पमा ट्युसन कक्षा खोज्न बाध्य भएका हुन् । यसले विद्यार्थीको अतिरिक्त समय र अभिभावकलाई आर्थिक भार बढाएको छ । ‘कोठा भाडा लिएर बस्नुपर्दा आर्थिक रूपले पनि समस्या झेलिरहेको छु । एकल आमाले खेतीकिसानी गर्दै पढाउन पठाउनुभएको छ,’ आचार्यले भने । 

कर्णालीमा विषयगत शिक्षकको अभावले गर्दा विद्यार्थीहरू पढ्न सहर पस्नुपर्ने बाध्यता रहेको सुर्खेतको नेवारे माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापा बताउँछन् । भौगोलिक विकटताले गर्दा जाडोयाममा लामो समय विद्यालय बिदा हुनु पनि विद्यार्थीले ट्युसन पढ्न आउनेको अर्को कारण हो । ‘विद्यालय प्रशासनले आवश्यक शिक्षक व्यवस्थापन गर्ने र कोर्स पूरा गर्नेतर्फ ध्यान दिन सकेको भए बालबालिका यसरी घर छाडेर आउनुपर्ने थिएन । ट्युसनप्रति अभिभावक र बालबालिकालाई मनोविमर्शको आवश्यकता पनि छ,’ उनले भने ।

प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय मानिने वीरेन्द्रनगरको जननमुना माध्यमिक विद्यालयमा समेत एक वर्षयता विषयगत शिक्षक खोजी

गाउँमा राम्रो पढाउने शिक्षकलाई विश्वास नगरेर वा रहरै रहरमा बजारका ट्युसन सेन्टर धाउने प्रवृत्ति पनि रहेको थापाको भनाइ छ । वीरेन्द्रनगर झरेका कतिपय विद्यार्थीमा कहाँ/कोसँग पढ्ने भन्ने जानकारी नभएको पाइएको थापा बताउँछन् । ‘गाउँमै शिक्षकको व्यवस्थापन भएको भए, विद्यालयले अंग्रेजी, विज्ञान र गणित विषयका कक्षा बिहान–साँझ पनि चलाइदिएको भए विद्यार्थीले सहर बसेर कोठादेखि अन्य खर्च गरेर पढ्ने अवस्था बन्द हुने थियो ।’ 

शिक्षा प्रणालीको यस्तो स्थितिले विद्यार्थीलाई विद्यालयभन्दा बाहिरको शिक्षामा निर्भर बनाइरहेकाले यसबारे सरोकारवाला निकायले उचित नीति ल्याउनु आवश्यक रहेको थापाले जनाए । यति बेला ट्युसन पढ्न कर्णालीका हिमाली तथा पहाडी जिल्लाका विद्यार्थी धेरैजसो सुर्खेत झरेका छन् । जाडो बिदाले पढाइ अवरुद्ध हुने समस्याका कारण विद्यार्थी ट्युसन कक्षामा निर्भर हुन बाध्य भएका हुन् ।

जुम्लाको सेतीबाडा माध्यमिक विद्यालयका उपेन्द्र उपाध्याय पनि त्यही भीडमा छन् । उपेन्द्र वीरेन्द्रनगर आएको तीन महिना बितिसक्यो । कक्षा १२ को बोर्ड परीक्षामा राम्रो अंक ल्याउन उनले अंग्रेजी तथा लेखा विषयको ट्युसन पढिरहेका छन् । ‘मंसिरदेखि माघ २५ सम्म चिसो बिदा भयो । शिक्षक पनि बिदामा छन् । परीक्षाको मुखैमा घरमै बस्दा फेल हुने डर लागेर ट्युसन पढ्न झरेको हुँ,’ उपाध्यायले भने । हुम्ला, मुगु, डोल्पा, दैलेख, कालीकोटलगायत जिल्लाका धेरै विद्यार्थी छन् । स्थानीय विद्यार्थी भने गुणस्तरीय शिक्षाको खोजीमा काठमाडौं उक्लने गरेको ट्युसन सेन्टर सञ्चालकहरूको भनाइ छ । 

अघिल्लो दशकमा स्थानीय विद्यार्थी धेरै आउँथे । तर पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट आउनेको संख्या बढेको वीरेन्द्रनगरको अल्फा मल्टिपल एकेडेमीका सञ्चालक तथा अंग्रेजी शिक्षक घनश्याम खड्काले बताए । वीरेन्द्रनगरका सरकारी विद्यालयले पनि अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि यहाँका विद्यार्थी काठमाडौं जाने तर कर्णालीका दुर्गम जिल्लाका विद्यार्थी वीरेन्द्रनगर झर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । 

Karnali students come to Surkhet for tuitionवीरेन्द्रनगरको अल्फा मल्टिपल एकेडेमीमा ट्युसन पढिरहेका विद्यार्थी । तस्बिर : तृप्ति/कान्तिपुर

वीरेन्द्रनगरको अल्फा मल्टिपल एकेडेमीमा मात्र कक्षा १० का पाँच सयभन्दा बढी विद्यार्थी ट्युसन पढिरहेका छन् । सेन्टरमा अंग्रेजी, गणित, विज्ञान, लेखालगायत विषय पढाइन्छ । ७५ प्रतिशत विद्यार्थी कर्णालीका हिमाली र पहाडी जिल्लाबाट आएका छन् भने सुर्खेतका विद्यार्थीको संख्या २५ प्रतिशत मात्रै रहेको एकेडेमीका सञ्चालक खड्काले जनाए । वीरेन्द्रनगरकै अर्को ट्युसन सेन्टर न्यु लर्डबुद्ध एन्ड कम्प्युटर इन्स्टिच्युटमा पनि पढ्न आउने धेरैजसो विद्यार्थी कर्णालीका हिमाली र पहाडी जिल्लाकै भएको अंग्रेजी शिक्षक विमल कठायतले बताए । कक्षा १० को ट्युसन पढ्न आएका १ सय ३० भन्दा बढी विद्यार्थीमा १ सय जना अन्य जिल्लाकै रहेको उनको भनाइ छ । 

शिक्षक अभावले थपिएको समस्या 

कर्णालीका विद्यालयमा शिक्षक अभावको समस्या झन् जटिल बन्दै गएको छ । विषयगत शिक्षकको माग पूरा नहुँदा दुर्गम मात्र होइन, सुगम क्षेत्रका विद्यालयमा समेत असर परेको छ । प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय मानिने वीरेन्द्रनगरको जननमुना माध्यमिक विद्यालयमा समेत एक वर्षयता विषयगत शिक्षक खोजी भइरहेको छ । 

शिक्षकको दरबन्दी पूर्ति नहुँदा विद्यार्थी ट्युसनको भर पर्न बाध्य छन् । ट्युसन कक्षामा मात्र निर्भर रहनुपर्ने बाध्यता अन्त्य गर्न शिक्षा मन्त्रालय, विद्यालय प्रशासन र सरोकारवाला निकायले तत्काल समाधान खोज्नुपर्ने मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले बताए । असल शिक्षाका लागि विकल्प खोज्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी भएकाले स्थानीय तह पनि जिम्मेवार बन्न आवश्यक छ । शिक्षा संकाय कमजोर विद्यार्थीले पढ्ने हो भन्ने किसिमको पनि छ । यसमा पनि ध्यान दिन जरुरी छ । शिक्षा क्षेत्रमा आकर्षण हैन विकर्षण छ । यसमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ,’ उनले भने । 

कर्णाली प्रदेशका सामुदायिक विद्यालयमा विज्ञान र गणित विषयका शिक्षकको अभाव गम्भीर समस्या बन्दै गएको छ । स्थानीय पत्रिकामा तीन पटकसम्म विज्ञापन निकाल्दा पनि शिक्षक नपाएपछि विद्यालयहरूले नयाँ विज्ञापन खुलाउनसमेत छाडेका छन् । विद्यालयले आधारभूत तहका लागि गणित र विज्ञान विषयका शिक्षक खोजे पनि पाउन नसकेको वीरेन्द्रनगरको जननमुना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले बताए । 

‘हामीलाई नगरपालिकाले स्वयंसेवक शिक्षक राख्न भनेर बजेट दिएको थियो तर माध्यमिक तहका लागि नेपाली विषय शिक्षकसमेत पहिलो विज्ञापनमा नपाएपछि दोस्रो विज्ञापनमा मात्र पायौं । गणित र विज्ञान विषयका शिक्षक अझै पाएका छैनौं,’ कोइरालाले भने । कर्णालीमा विज्ञान र गणित विषयका शिक्षकको हाहाकार रहेको सामुदायिक विद्यालय व्यवस्थापन समिति कर्णाली प्रदेशका संयोजकसमेत रहेका कोइरालाले जनाए । 

‘धेरै विद्यालयले विज्ञापन गर्दा पनि शिक्षक पाएका छैनन् । विज्ञान र गणित पढेकाहरू अन्य पेसामा जान थालेपछि जनशक्ति अभाव भयो । शिक्षक सेवा आयोगबाट विज्ञान र गणित विषयमा नाम निकालेर आएका शिक्षक पनि अन्य सेवामा जाने गरेका छन्,’ उनले भने । हालै मात्र आधारभूत तहका लागि १ नम्बरमा नाम निकालेर आएका एक शिक्षकले जननमुना मावि रोजेका थिए । ‘तर एक महिनापछि खरिदारमा नाम निकालेर शिक्षण पेसा छाडे । विज्ञान पढेकालाई अन्य क्षेत्रमा राम्रो अवसर पाइने भएकाले शिक्षण पेसामा रहनै चाहँदैनन्,’ कोइरालाले थपे । 

कर्णालीमा २ हजार ९ सय ८३ सामुदायिक विद्यालय छन् । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कर्णालीमा ६ लाख २६ हजार १० विद्यार्थी अध्ययनरत छन् । तर शिक्षक दरबन्दी पर्याप्त छैन । ‘विषयगत शिक्षक धेरै कम छन् । हामीकहाँ न्यूनतम दरबन्दीमा पनि धेरै कम छ,’ सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथ्यांक तथा अनुसन्धान शाखाका अधिकृत बलवीर सुनारले भने । 

कर्णालीमा प्राथमिक तहमा ८ हजार ७ सय ९३ शिक्षक आवश्यक भए पनि ८ हजार १ सय ४९ मात्र दरबन्दी छ । अझै ६ सय ४४ शिक्षकको अभाव देखिन्छ । निम्नमाध्यमिक तहमा ४ हजार ५ सय ६० शिक्षक आवश्यक भए पनि १ हजार ८ सय ६१ मात्र दरबन्दी छ । जसमा २ हजार ६ सय ९९ शिक्षकको आवश्यकता छ । माध्यमिक तहमा ३ हजार २५ शिक्षक आवश्यक भए पनि १ हजार २ सय ७६ मात्र दरबन्दी छ । अझै १ हजार ७ सय ४९ शिक्षक अपुग छन् । उच्च माध्यमिक तहमा १ हजार ३६ शिक्षक आवश्यक भए पनि ५ सय ७९ मात्र छन् । ४ सय ५७ शिक्षकको अभाव छ । १७ हजार ३ सय ८४ शिक्षक दरबन्दी आवश्यक भए पनि हाल ११ हजार ८ सय ६५ मात्र दरबन्दी छ, जसका कारण ५ हजार ५ सय ४९ शिक्षक अपुग छन् । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully