कर्णालीको स्याउ किसानलाई छैन भाउ

आश्विन १२, २०८१

कृष्णप्रसाद गौतम

No price for the apple farmers of Karnali

सुर्खेत — हुम्ला सदरमुकाम सिमकोटसहित ७ वटै गाउँपालिकामा झन्डै ५ सय १८ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । गत वर्ष ४ हजार २ सय २४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर अधिकांश स्याउले बजार पाएन ।

गत वर्ष चैतमा सदरमुकाम सिमकोटसम्म सडक पुगे पनि वर्षाका कारण यातायात सेवा ठप्प हुँदा हुम्ली किसानले यो वर्ष पनि स्याउ बाहिर पठाउन पाएनन् । ‘हाम्रा लागि त सडक आयो भन्नु मात्रै हो, ३ महिनादेखि गाडी चलेका छैनन्, खच्चडमा बोकाएर पठाए पूरै स्याउ कुहिन्छ,’ सिमकोट गाउँपालिका–७ का दशरथ रोकायाले भने, ‘जहाजमा पठाउँदा स्याउको मूल्यभन्दा भाडा महँगो पर्छ ।’ झन्डै २५ रोपनीमा १ सय ५० स्याउका बिरुवा लगाएका उनले सडक असुविधाका कारण उत्पादित स्याउ बर्सेनि कुहिने गरेको गुनासो गरे । 

हुम्लाबाट नेपालगन्जका लागि प्रतिकिलो १ सय ३० र सुर्खेतका लागि १ सय २० रुपैयाँ हवाई भाडा तोकिएको छ । सिमकोट गाउँपालिका–३ बरगाउॅकी निमायाङजुम लामाले बजार नपाएपछि परम्परागत विधिबाट स्याउ स्टोर गरी बढीमा १ महिनासम्म राख्ने गरिएको बताइन् । ‘ठूलो परिमाणमा खरिद गर्न कोही आउँदैनन्,’ उनले भनिन्, ‘स्टोर गरी राखे पनि आधा स्याउ कुहिएरै खेर जान्छ ।’ उनका अनुसार सिमकोट गाउँमा मात्रै झन्डै २५ वटा ठूला स्याउ फार्म सञ्चालनमा छन् । जहाजबाट बाहिर जाने यात्रुसँग सहरमा रहेका आफन्तलाई कोसेलीका रूपमा मात्र स्याउ पठाउने गरिएको उनले बताइन् । 

हुम्लामा अहिले प्रतिदाना ५ देखि १० रुपैयाँमा स्याउ बिक्री भइरहेको छ । जिल्लामा उत्पादित स्याउ चिनियाँ सहर तिब्बत पठाउन सके पनि हुम्ली किसान स्याउबाटै आत्मनिर्भर बन्ने हुम्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नामग्याल तामाङले बताए । ४ सय १२ हेक्टरमा स्याउ खेती गरिएको डोल्पामा पनि अधिकांश स्याउ कुहिएर जाने समस्या छ । गत वर्ष ३ हजार ६ सय ९६ हेक्टरमा स्याउ उत्पादन भए पनि मुस्किलले ५ सय क्विन्टल स्याउले मात्र बजार पाएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख गणेश अधिकारीले बताए । ‘स्याउकै सिजनको बेला सडक बन्द हुँदा समस्या भयो,’ उनले भने, ‘परम्परागत विधिबाट भण्डारण गरिएको स्याउ नकुहिए तिहारसम्ममा व्यापारीले नेपालगन्ज र सुर्खेत पुर्‍याउँछन् ।’ उनले यस वर्ष स्याउको उत्पादन बढेर करिब ४ हजार टन पुग्ने अनुमान गरे । 

कालीकोटको तिलागुफा नगरपालिकाका माथिल्ला भेगहरूबाट पनि स्याउ सडकसम्म पुर्‍याउन समस्या छ । ‘स्याउ राम्रो फल्यो तर सडकसम्मै पुर्‍याउन समस्या छ,’ चिल्खायाका किसान धनबहादुर शाहीले भने, ‘महँगो ढुवानीले लागत उठाउनै मुस्किल भयो ।’ झन्डै ५ सय स्याउका बोट लगाएका उनले गत वर्ष ४ सय २० क्विन्टल स्याउ उत्पादन गरेका थिए । यस वर्ष भने असिनाले क्षति पुर्‍याएपछि ३ सय क्विन्टल मात्र उत्पादन भएको बताए । उत्पादित स्याउ भरियालाई बोकाएर कर्णाली राजमार्गसम्म पुर्‍याउन यहाँबाट ढुवानी नै प्रतिकिलो १० रुपैयाँ तिर्नुपर्छ । 

कालीकोटको फोइमहादेव, चिल्खाया, राचुली, जुविथा, छाप्रे, महावैको ओदानकु, गेला, सुभकालिकाको मुग्राहा, सुकाटिया र भर्ताका कृषकले केही वर्षयता व्यावसायिक स्याउखेती गर्दै आएका छन् । हिउँदमा गाउँसम्मै गाडी पुग्ने भए पनि स्याउको सिजनमा भने सडक अवरुद्ध हुँदा समस्या भएको जुविथाका किसान परेकबहादुर शाहीले दुःखेसो पोखे । ‘जुम्लातिर त व्यापारीहरू गाडी लिएर बारीमै आउँछन्, यहाँ पनि बाह्रै महिना गाडी चले सबै स्याउ बाहिर जान्थ्यो,’ भने, ‘हामीलाई त बजारको उस्तै समस्या, त्यसमा पनि भाउ पाउनै मुस्किल ।’ गाउँमा कोल्ड स्टोरको अभाव, प्याकेजिङ र ग्रेडिङको समस्याले काँचै स्याउ टिप्नुपर्ने बाध्यता भएको उनले गुनासो गरे । गाउँमा प्रतिकिलो ४५ रुपैयाँमा स्याउ बेच्ने गरेको उनको भनाइ छ । कालीकोटमा ६ सय ५ हेक्टरमा स्याउ खेती गरिएकोमा गत वर्ष ५ हजार ८ सय ६० टन स्याउ फलेको थियो । 

No price for the apple farmers of Karnali

कर्णालीका सुर्खेतबाहेक सबै जिल्लामा ३ हजार ४ सय १९ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार गत वर्ष ३१ हजार १ सय २ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष पनि त्यही हाराहारीमा उत्पादन हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । उनका अनुसार भण्डारण समस्या, ग्रेडिङको अभाव, सडक असुविधा, प्याकेजिङमा समस्यालगायत कारण कर्णालीको स्याउ बजार पुर्‍याउन र राम्रो भाउ पाउन समस्या छ । ‘किसानले 

भनेजस्तो बजार र भाउ पनि पाउन सकेका छैनन्, किसानले प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्छन्, सुर्खेतमा १ सय २५ र काठमाडौंमा २ सय ५० रुपैयाँसम्म मूल्य छ,’ उनले भने, ‘व्यवस्थित बजारीकरण नहुँदा किसान कम मूल्य र उपभोक्ता चर्को मूल्यको मारमा छन्, फाइदा जति होलसेल व्यापारी र बिचौलियालाई मात्र छ ।’ गत वर्ष १ हजार १ सय ८१ मेट्रिक टन स्याउ बजार पुग्दा ३३ करोड १५ लाख रुपैयाँको कारोबार भएको उनले जानकारी दिए । ं 

अहिले सुर्खेत र नेपालगन्जबाट खाद्य तथा निर्माण सामग्री बोकेर गएका ट्रक अहिले जुम्ला, मुगु र कालीकोटबाट स्याउ भरेर फर्किन्छन् । कर्णालीमा सबैभन्दा बढी ‘रोयल डेलिसियस’, ‘रेड डेलिसियस’ र ‘गोल्डेन डेलिसियस’ जातका स्याउ खेती गर्ने गरिएको कृषिविज्ञ नवीन शर्माले बताए । तर वर्षभरि दुःख गरेर स्याउ फलाएका किसान बजार अभाव, भण्डारण र प्याकिङ समस्याले मर्कामा परेको उनको भनाइ छ । ‘ढुवानी समस्याले कृषकले न राम्रो मूल्य पाएका छन्, न उपभोक्ताले सस्तोमा स्याउ खान पाएका छन्,’ उनले भने, ‘फाइदा जति बिचौलियाले मात्र लिइरहे ।’ कर्णाली राजमार्ग बेलाबेलामा अवरुद्ध हुँदा कर्णालीको उत्पादन बजार पुर्‍याउन कठिनाइ भएको उनको भनाइ छ । 

दुई सातायता मुगुका किसानलाई पनि स्याउ टिप्ने चटारो छ । दसैंका लागि बजार स्याउ पठाउन बगैँचा खाली गरिरहेको छायानाथरारा नगरपालिका–४ का बाँचे महताराले बताए । उनले ४ ट्रक स्याउ बिक्रीका लागि सुर्खेत र नेपालगन्ज पठाइसकेका छन् । अहिलेसम्म ५० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री गर्दा १ लाख ६० हजार कमाइसकेका उनको बारीमा अझै २ ट्रक स्याउ बाँकी नै छ । एक ट्रक गाडीमा ८० क्विन्टल स्याउ ढुवानी हुन्छ । अहिले उनी मात्र होइन ताल्च, मैतुलेक, घट्टलेख, बाम, फोइपाटा, 

दर्ख्यालबाडा, झापागार्ड, माथितुम, पिना, झयारी, कोटिलालगायत गाउँका किसानहरू स्याउ टिप्ने चटारोमा छन् । ‘स्याउबारीमै सडक सुविधा पुगेपछि ढुवानीमा सहज भएको छ,’ लाल्चका किसान बमबहादुर महतराले भने, ‘दसैंका लागि स्याउको माग बढेको बढ्यै छ, तर अझै पनि हामीले मूल्य भने राम्रो पाउन सकेका छैनौँ ।’ 

मुगुका केही किसानले बिक्री नहुने डरले साउन अन्तिम सातादेखि नै काँचो स्याउ बजार पठाएका थिए । भदौ १५ पछि रसिलो र गुलियो स्याउ उत्पादन हुने भए पनि सबैतिरको स्याउ जाँदा बिक्री नहुने डरले केही स्याउ साउनमै बाहिर पठाउनुपर्ने बाध्यता भएको स्थानीय किसान कर्णबहादुर महताराले बताए । ‘आधा स्याउ त काँचै बजार पठाइयो,’ उनले भने, ‘अहिले पनि ५० रुपैयाँ प्रतिकिलो स्याउ बेच्दा बल्लबल्ल परिश्रमको मोल उठ्छ, खेतीबाट सोचेजस्तो नाफा गर्न सकेका छैनौँ, होलसेल व्यापारी सोझै आएर हामीसँग खरिद गरे केही सहुलियत पाइन्थ्यो ।’ 

कर्णालीमा सबैभन्दा धेरै जुम्लामा करिब ३१ सय हेक्टर क्षेत्रफलमा झन्डै १२ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ । अहिले जुम्लाका गाउगाउँमा स्याउ खेतीको लहर चलेको छ । जुम्लाको गुठीचौर गाउँपालिका–५ का मीनबहादुर भण्डारीले ३ वर्षदेखि झन्डै २२ करोड रुपैयाँको लगानीमा स्याउ बगैँचा बनाएका छन् । झन्डै ४८ हजार बिरुवा रोपेका उनको बगैंचामा गत वर्ष ८० मेट्रिक टन स्याउ फल्यो । उनले स्याउ किन्न व्यापारी बगैँचामै पुग्ने गरेको बताए । फार्मले यो वर्ष २ सय मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य राखेको छ । उनको बगैँचामा फुजी, गाला, किंरड, गोल्डेनलगायत जातका स्याउ उत्पादन भइरहेको छ । 

No price for the apple farmers of Karnali

गुठीचौर–३ का टंक गिरीले पनि झन्डै साढे ७ करोड लगानीमा २२ हेक्टरमा १४ हजार बिरुवाको स्याउ बगैँचा बनाएको दुई वर्ष बित्यो । ‘पहिले सडक थिएन, बजारसम्म स्याउ पुर्‍याउन नसकिएपछि गाईवस्तुको दाना हुन्थ्यो,’ उनले भने, ‘अहिले जुम्ली स्याउको माग अन्तर्राष्ट्रिय बजारसम्म पुगेपछि लगानी गर्न हामी हौसिएका छौँ ।’ गुठीचौर–५ मै सामुदायिक स्याउ उत्पादन समूहमार्फत ६५ हजार वर्गमिटरमा सामूहिक स्याउ खेती भइरहेको छ । झन्डै १ करोड लगानीमा निर्माण भएको बगैँचामा हाल २ हजार ८ सय बिरुवा रोपिएको सञ्चालक धर्म भण्डारीले बताए । उनका अनुसार समूहमा ४० जना किसान आवद्ध छन् । यी ३ वटा बगैँचामा मात्रै झन्डै ३० करोड रुपैयाँ लगानी भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । 

जुम्लालाई साविक जिल्ला विकास समितिको १४ औं जिल्ला परिषद्ले २०५७ सालमा अर्गानिक जिल्ला घोषणा गरको थियो । त्यही वर्ष ‘एक घर ः एक स्याउ बगैँचा’ को अवधारणा पनि अघि सारियो । जुम्लामा १९ हजार घरमध्ये करिब १६ हजार घरधुरीमा स्याउ खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । अहिले जुम्लामा ५० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री भइरहेको किसान मनप्रसाद न्यौपानेले बताए । उपयुक्त भण्डारण र व्यवस्थापनमा जुम्ली स्याउको महत्त्व घट्दै गएको उनको गुनासो छ । ‘जुम्ली स्याउ कर्णालीकै पहिचान हो,’ उनले भने, ‘तर बजारीकरण, भण्डारण र खेतीमा सरकारको सहयोग भएन ।’ 

कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदा यो वर्ष पनि भन्डै २ साता स्याउ बोकेका करिब १ सय ट्रकहरू बाटोमै रोकिए । ‘बाटो बन्द हुने हाम्रो वर्षौंदेखिको नियति हो,’ जुम्लाका व्यवसायी कर्णबहादुर बुढ्थापाले भने, ‘१ दिन गाडी बन्द हुँदा पनि लाखौंको स्याउ कुहिन्छ ।’ उनले आफूले बाहिर लिन लागेको झन्डै ३ मेट्रिक टन स्याउ कुहिएको गुनासो गरे । अहिले उनले किसानबाट प्रतिकिलो ५० रुपैयाँमा स्याउ खरिद गरिरहेका छन् । कार्टुन खरिद र गाडी ढुवानीसहित सुर्खेत र नेपालगन्ज पुर्‍याउँदा प्रतिकिलोमा २० रुपैयाँ खर्च बढ्छ । 

नेपालगन्जका कोल्डस्टोरमा भाडामा राखेर पनि अहिले १ सय रुपैयाँमा स्याउ बिक्री गर्नुपरिरहेको उनले गुनासो गरे । भारतीय स्याउ पनि प्रतिकिलो १ सय २० रुपैयाँमा बिक्री भइरहेकाले समस्या भइरहेको उनी बताउँछन् । उनका अनुसार शीतभण्डारमा राखिएका बाहेक जुम्ली स्याउ दसैं–तिहारपछि सकिन्छ । अर्का व्यापारी मनोज बोहोराले जुम्लामा ५० रुपैयाँ पर्ने स्याउ काठमाडौंमा २ सय ५० सम्ममा बिक्री हुने गरेको बताए । ‘उपभोक्ता र किसानबीच एकै किलोमा २ सय रुपैयाँको फरक छ , ढुवानी, प्याकेजिङ र ग्रेडिङमा बढीमा ५० देखि ७० रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘सबैभन्दा धेरै फाइदा त काठमाडौंका व्यापारी र बिचौलियाले खाइरहेका छन् ।’

कर्णालीमा उत्पादित स्याउले नेपालको बजारको औसतमा १५ प्रतिशत बजार धानिरहेको कर्णाली प्रदेशको कृषि मन्त्रालयका सचिव टीकाराम थापाले बताए । रासायनिक मल, रासायनिक विषादी र कुनै पनि रसायनहरू प्रयोग नभएकाले कर्णालीको स्याउ अर्गानिक भएको उनको भनाइ छ । गुणस्तरीय उत्पादन, ग्रेडिङ, लेबलिङ तथा प्याकेजिङमा ध्यान दिनसके अन्तर्राष्ट्रिय बजारमा पनि माग बढ्ने उनी बताउँछन् । पछिल्लो समय स्याउमा लाइकिरा, झुसिलकिरा र ढुसीजन्य रोगको संक्रमण देखिँदा उत्पादनमा समस्या भएको उनले जानकारी दिए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully