यार्चा टिप्न गएका मुगु र डोल्पाका १२ जनाको मृत्यु

कष्टकर यात्रा गरेर यार्चा संकलन गर्न पाटनमा पुगेकाहरू लेक लागेर, हिउँमा चिप्लिएर र बिरामी भएर ज्यान गुमाउन बाध्य छन्

आश्विन ५, २०८१

कृष्णप्रसाद गौतम

12 people from Mugu and Dolpa who went to pick yarcha died

सुर्खेत — भूकम्पले घर भत्किएपछि भारतको मजदुरी छोडेर आएका जाजरकोटको बारेकोट गाउँपालिका–१ का सुरबहादुर बुढालाई यतिबेला परिवारको गर्जो टार्नै धौ–धौ छ । आर्थिक संकट टार्न उनी पत्नी शोभाकला र २ छोरासहित जेठ दोस्रो साता यार्चा संकलनका लागि डोल्पाको नाउरे पाटन उक्लिए ।

खानपान र बन्दोबस्तीका सामानमा नै झन्डै ५० हजार रुपैयाँ खर्चिएको उनको परिवारले १५ दिनमा १ सय २० यार्चागुम्बु मात्रै पाए । ‘कहिले त दिनभरि खोज्दा एउटा पनि यार्चा पाइएन, टिपेका यार्चा पनि पोटिलो पाइएन,’ सुरबहादुरले दुःखेसो पोखे, ‘पाटन बसेर खर्च मात्रै बढ्न थालेपछि असार पहिलो साता फर्कियौँ ।’ गत वर्ष यार्चाबाटै २ लाख कमाएको सुरबहादुरको परिवारले यसपालि भने ९० हजारभन्दा बढी कमाउन सकेन । पाटनमै ६ सयदेखि ८ सय रुपैयाँ प्रतिगोटामा यार्चा बेचेर फर्कियो । यसैपाला भूकम्पले घर भत्काएपछि पाखोमा आफ्ना लागि टहरा र गाईभैंसीका लागि गोठ बनाएका बर्खेबाली पनि लगाउन पाएका छैनन् । 

सुरबहादुरकै छिमेकी धरणीधर बुढाको ३ जनाको परिवारले पनि यार्चा बिक्री गरेर यसपटक ८० हजार मात्र कमायो । ‘नयाँ घर बनाउनका लागि सरकारी प्रक्रिया मिलाउन घरमूली नै चाहिन्छ भनेकाले भारत जान पाइएन, घरखर्च धान्न मुस्किल भएपछि यार्चा टिप्न पाटन गइयो,’ उनले भने, ‘तर दुःखको मोल पनि उठेन, अब त मजदुरीका लागि फेरि भारत जानुको विकल्पै भएन ।’ ४० हजार खर्चिएर पत्नी र छोरासहित गएका उनको परिवारले १ सय ३ वटा यार्चा मात्रै टिप्न सक्यो । ‘पाटनमा यार्चा नै सकिएजस्तो छ, ५/७ वटा पाउन पनि दिनभरि नै लाग्ने,’ भने, ‘त्यसमा पनि भाउ खस्किएको खस्कियै छ ।’ 

कर्णालीका पाटनमा यार्चा टिप्न ठूलो जोखिम मोल्नुपर्छ । तर अधिकांश संकलकले यसपालि सोचेजस्तो यार्चा पाउन सकेनन् । गत वर्ष प्रतिगोटा १ हजार रुपैयाँमा बिक्री भएको यार्चा यसपालि ८ सयभन्दा माथि जान नसकेको डोल्पाको त्रिपुरासुन्दरी–३ का बलबहादुर बुढाले बताए । ‘त्यहाँ जाँदा आउँदाको दुःखको त कुरै नगरौं, पाटन पुग्दा लेक लाग्ने, भीरबाट खस्ने र बिरामी हुनेलगायत जोखिम मोल्दै ज्यानकै बाजी थापेर भीरपहरामा रातारात हिँड्नुपर्छ,’ उनले भने, ‘योपालि पाटनमा यार्चा पनि कम फल्यो, त्यसमा पनि भाउ पाउन गाह्रो, पोहोर—परार त कम्तीमा डेढ महिनासम्म पाटनमा बस्थ्यौं, यस वर्ष भाग्यले पनि साथ नदिएपछि २ हप्तामै फर्कनुको विकल्प भएन ।’

यस वर्ष डोल्पामा डिभिजन वन कार्यालयमार्फत सामुदायिक वनका ४१ वटा र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रका २१ वटा पाटनमा यार्चागुम्बु संकलन भएको थियो । यो वर्ष डिभिजन वनमार्फत ४ किलो र निकुञ्जमार्फत ६४ किलो यार्चागुम्बुको छोडपुर्जी जारी भएको थियो । डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतका अनुसार यस वर्ष व्यापारीले पनि खासै राम्रो भाउ पाएनन् । उनका अनुसार यस वर्ष नेपाल—चीन सीमास्थित मोरिंगा नाकामा चीनले १५ दिने व्यापार मेला लगाएको थियो । ‘त्यहा‘ गएर बिक्री गर्नेले प्रतिकिलो २८ लाखसम्ममा बिक्री गरे भन्ने जानकारी आयो,’ उनले भने, ‘नेपाली बजारमा भने १७ देखि २२ लाखभन्दा बढी मूल्य पाएको छैन ।’ 

12 people from Mugu and Dolpa who went to pick yarcha died

पर्याप्त वर्षा नहुनु, मानवीय गतिविधिका कारण प्रजनन् क्षमतामा कमी, जलवायु परिवर्तनको प्रभावलगायत कारण यार्चाको उत्पादन कम भएको मुनबहादुरको भनाइ छ । उनका अनुसार गत वर्ष डोल्पाका राष्ट्रिय वनहरूबाट ९ किलो र निकुञ्ज क्षेत्रबाट ६७ किलो यार्चा संकलन भएको थियो । यो वर्ष निकुञ्जले यार्चा संकलकबाट १ करोड २५ लाख रुपैयाँ संकलकबाट राजस्व उठाएको छ । त्यस्तै डिभिजन वनले पनि झन्डै ३५ लाख रुपैयाँ राजस्व उठाएको जनाएको छ । यो वर्ष निकुञ्ज क्षेत्रमा ७ हजार ४ सय ७४ र सरकारद्वारा संरक्षित वनहरूमा झन्डै ५ हजार जना यार्चा संकलनका लागि गएका थिए । निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले यो वर्ष यार्चाको उत्पादन कम भएकाले झन्डै एक सय किलो यार्चागुम्बुको उत्पादन घटेको छ । मुगुका पाटनहरूमा यस वर्ष झन्डै ४६ किलो यार्चा संकलन भएको डिभिजन वन कार्यालयको तथ्यांक छ । 

यार्चाको भाउ निरन्तर घटिरहेको डोल्पाको छार्काताङसोङका व्यापारी परबल लामाले बताए । उनका अनुसार गत वर्ष २७ लाख रुपैयाँ प्रतिकिलोमा बिक्री भएको यार्चा यो वर्ष मुस्किलले २२ लाखमा बिक्री भएको छ । कोरोनाअघिसम्म उनले प्रतिकिलो ३२ लाख रुपैयाँमा यार्चा बिक्री गरेका थिए । ‘चीनमा सोझै लगरे बेच्न पाए बढी भाउ पाइन्थ्यो, काठमाडौंमा आएका व्यापारीले जति भने त्यतिमा दिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘पछिल्लो समय बढी गुणस्तरको यार्चा भेटिन छाडेको छ, पोटी नलागेको यार्चाका कारण भाउ निरन्तर घटिरहेको हो ।’ 

यस वर्ष यार्चा संकलकले चिसोका कारण ज्यान गुमाएकाले पनि पाटनबाट धेरै संकलक छोटो समयमै फर्किएका थिए । कर्णाली प्रदेश प्रदेश प्रहरी कार्यालका अनुसार यो वर्ष डोल्पामा ८ र मुगुमा ६ संकलकको लेक लागेर मृत्यु भएको थियो । डोल्पामा यार्चा टिप्न गएकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोतामकोटस्थित विष्टगाउँकी २२ वर्षीया जमुना विष्टसहित ६ जना र मुगुमा छायानाथरारा नगरपालिका–१२ शोभागाउँका २९ वर्षीय मुनबहादुर बुढा, कम्फागाउँका २१ वर्षीय सोबान बुढा र २४ वर्षीय राजबहादुर साउदसहित ६ जनाले ज्यान गुमाएका हुन् । यार्चा टिप्न मुगु र डोल्पाका पाटनमा गएका ४३ जनालाई उद्धार गरिएको थियो भने झन्डै १ सय संकलक बिरामी परेका थिए । ३ वर्षको अवधिमा यार्सा संकलनका क्रममा ३९ जनाले ज्यान गुमाएको कार्यालयको तथ्यांक छ । ‘पाटनमा जाँदा अधिकांश ठाउँ भिरालो र जोखिमपूर्ण छ, बाटोको सामान्य निसानसमेत नभएका ठाउँमा स–साना बुट्यान र घाँस समात्दै हिँड्नुपर्ने बाध्यता छ, त्यसमा पनि बाटोमा अजंगका भीर पर्दा धेरैले त लडेरै ज्यान गुमाउँछन्,’ प्रदेश प्रहरी कार्यालयका एसपी विनोद शर्माले भने, ‘कष्टकर यात्रा गरेर पाटनमा पुगेकाहरू पनि लेक लागेर, हिउँमा चिप्लिएर र बिरामी भएर ज्यान गुमाउन बाध्य छन् ।’ 

12 people from Mugu and Dolpa who went to pick yarcha died

यो वर्ष कर्णालीमा झन्डै १ सय १४ किलो यार्चा बाहिर निकासी भएको प्रदेश वन निर्देशनालयको तथ्यांक छ । जबकि गत वर्ष ३ सय ५ र अघिल्लो आवमा ४ सय १ किलो यार्चा उत्पादन भएको थियो । त्यस्तै कोरोना महामारीअघि २०७५/७६ मा १ हजार २ सय १४ किलो यार्चाको छोडपुर्जी जारी भएको निर्देशनालयको तथ्यांकमा छ । ‘कोरोना महामारीका कारण लगातार ३ वर्ष यार्चा नटिप्दा त्यसको असर प्रजनन् प्रक्रियामा पर्‍यो,’ वनस्पतिविद् कमल शर्माले भने, ‘उत्पादन त वर्षेनि घट्दै गएकै छ, त्यसमा पनि संकलक र व्यापारीहरू बजारको समस्या पनि भोग्न बाध्य छन् ।’ उनका अनुसार अनुकूल वर्षा नहुनु, मानवीय गतिविधि बढ्नु, वन विनाश, जलवायु परिवर्तनको प्रभाव, आगलागीलगायत कारण जडीबुटीको उत्पादन घट्दै गएको हो । खेतीयोग्य जमिनको कमी, भएको जमिनमा सिँचाइको अभाव, अन्य पेसा नहुनु, कुनै पनि आम्दानीका स्रोत नहुनुजस्ता बाध्यताले पहाडी र हिमाली क्षेत्रका बासिन्दा वर्षेनि जोखिम मोलेर यार्चा खोज्न पाटन जान बाध्य छन् ।

मुगुमा कोरोना महामारीअघिसम्म व्यापारीले नाक्चेनाङला नाकामा गएर चिनियाँ व्यापारीलाई यार्चा बिक्री गर्ने गरेका थिए । तर चीनले कोरोनाका कारण बन्द गरेको नाका अझै नखुल्दा काठमाडौं पुर्‍याएर यार्चा बिक्री गर्नुपरेको व्यापारीको गुनासो छ । ‘यताको नाका खुले आउजाउ गर्न छिटो हुन्थ्यो, मूल्यमा पनि चिनियाँ व्यापारीसँग मोलमोलाइ गर्न सजिलो हुन्थ्यो,’ कार्मारोङका व्यवसायी कर्मा तामाङले भने, ‘छुटपुर्जी, विभिन्न प्रदेशमा तिर्नुपर्ने कर, ठाउँठाउँमा हुने चेकजाँचलगायत झन्झटले यहाँबाट यार्चा काठमाडौं पुर्‍याउनै मुस्किल हुन्छ ।’ उनले यस वर्ष नेपालगन्ज हुँदै हवाई मार्गबाट झन्डै ३ किलो यार्चा काठमाडौं पुर्‍याइएको जानकारी दिए । 

मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले कतिपय संकलकको गत वर्ष संकलन गरेको यार्चासमेत बिक्री हुन नसकेको बताए । चिनिया‘ नाका नखुल्दा र त्यहा‘का व्यापारी नआउ‘दा स्थानीय व्यापारीले गत वर्ष यार्चा बिक्री गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार पालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत क्षेत्रमा यार्चा पाइन्छ । यो वर्ष मुगमकार्मारोङका पाटनहरूमा झन्डै ७ हजार संकलकले यार्चा संकलन गरको उनको भनाइ छ । उनका अनुसार संकलकबाट ६९ लाख ५२ हजार रुपैया‘ राजस्व संकलन भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले यार्चा संकलनलाई व्यवस्थित, कम जोखिमयुक्त र उपयुक्त बजारीकरणसहितको बनाउन कार्ययोजना निर्माणको काम भइरहेको बताए । 

12 people from Mugu and Dolpa who went to pick yarcha died

साउनमा मात्रै ८ करोड १९ लाखको निर्यात

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ८ करोड १९ लाख ४० हजार रुपैयाँ बराबरको २ सय ४ किलो यार्चा निर्यात भएको छ । साउनमा मात्रै कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, अमेरिका र भियतनाममा यार्चा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा बढी चीनमा २ करोड ९९ लाख ४१ हजार रुपैयाँ बराबरको १ सय १४ किलो यार्चा निर्यात भएको छ भने हङकङमा ३ करोड ९८ लाख ९२ हजार रुपैयाँ बराबरको ६० किलो यार्चा निर्यात भएको थियो । सबैभन्दा कम मलेसियामा ५ लाख ३५ हजार रुपैयाँ बराबरको २ किलो यार्चा निर्यात भएको छ । मुलुकको मनाङ, मुस्ताङ, बझाङ, दार्चुला, हुम्ला, जुम्ला, रुकुमलगायत जिल्लाका हिमाली पाटन क्षेत्रमा यार्चा पाइन्छ ।

 गत आर्थिक वर्ष ७० करोड १८ लाख ६४ हजार रुपैयाँ बराबरको १ हजार ४ सय ८४ किलो यार्चा निर्यात भएको थियो । गत वर्ष पनि सबैभन्दा बढी चीनमा २५ करोड ३० लाख ८७ हजार रुपैयाँ बराबरको ६ सय ६३ किलो यार्चा निर्यात भएको थियो । गत वर्ष चीन, हङकङ, ताइवान, सिंगापुर, अमेरिका, बेलायत, भियतनाम, कम्बोडिया, अस्ट्रिया, अस्ट्रेलिया, चेक रिपब्लिक, फ्रान्स, ग्रिसलगायत मुलुकमा यार्चा निर्यात भएको थियो । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully