बृखलाल गुरुङले २५ वर्षअघि गैंडाकोट नजिकैको थुम्सीमा ‘पाते ढिँडो’ मार्फत नेपाली परिकार ढिँडो बेच्न थालेका थिए । छाप्रोबाट सुरु भएको उनको ‘ढिँडो यात्रा’ हालै दुई करोडको रिसोर्टमा पुगेको छ ।
चितवन — पछिल्लो समय नेपालीहरूका भान्सामा निकै कम पाक्ने खाना हो, ढिँडो । अझ भनौं, पछिल्लो पुस्ताका कतिपयलाई राम्ररी ढिँडो बनाउन पनि आउँदैन । त्यसैले पनि हो होटल तथा रेस्टुरेन्टमा यो परिकारको माग बढ्दै गएको छ । सामान्यदेखि स्तरीय होटल रेस्टुरेन्टमा ग्राहकको मन जित्ने स्वदेशी परिकारका बनेको छ ढिँडो ।
तर २५/३० वर्षअघि अवस्था भने अर्कै थियो । ‘ढिँडो दुःखी–गरिबको खान्की हो’ भन्ने सामाजिक मान्यता थियो । तर त्यही समयबीच पनि केही सामान्य होटल सञ्चालकहरूले ढिँडो पकाएर बेच्न सुरु गरिसकेका थिए । बृखलाल गुरुङ त्यसैमध्येका एक हुन् । उनले आफ्नो खाजा पसलमा ढिँडो पनि बेच्न सुरु गरे । बृखलालको होटलको नाम अलि फरक भएर पनि होला, सोचेभन्दा राम्रो चल्न थाल्यो ।
त्यसमाथि ढिँडोको स्वाद ग्राहकको जिब्रोमा गड्न थाल्यो । उनले खोलेको ‘पाते ढिँडो’ का पारखी प्रशस्तै भए । पूर्व–पश्चिम महेन्द्र राजमार्गको आडैमा नारायणगढ पारी गैंडाकोट थुम्सीको ‘पाते ढिँडो’ मा पसेर धेरैले यसको स्वाद लिएका छन् । २५ वर्षअघि खुलेको ‘पाते ढिँडो’ ले छाप्राबाट रिसोर्टसम्मको यात्रा तय गर्दै यही मंसिर १७ मा भरतपुरमा पहिलो शाखा खोलेको छ ।
ढिँडो यसबीचमा होटलहरूको लोकप्रिय परिकार त बन्यौ नै । ‘पाते’ शब्दले पनि धेरैको ध्यान तान्यो । भरतपुर र नारायणगढ मै ‘पाते’ राखेर ढिँडो पसल खोल्ने धेरै भए । गैंडाकोट र कावासोतीमै ‘पाते’ नाम जोडेर ढिँडो बेच्न सुरु भएपछि पहिलो पटक ‘पाते’ नाम राखेका बृखलालले आफैंले अन्य शाखा खोल्ने मन बनाए । र भरतपुर महानगरपालिका–१० शिखर चोक दुई करोड रुपैयाँ लगानी गरेर ‘पाते ढिँडो’ खोलेका छन् ।
‘पाते’ भनेको रुखको पात होला भन्ने लाग्ला । तर यो गुरुङ भाषाको शब्द हो । गुरुङहरू माइली छोरीलाई ‘पाते’ भन्छन् । र, पाते लक्षिनका हुन्छन् भन्ने गुरुङ समुदायको विश्वास छ । कुनै बेला गैंडाकोटमा बसोबास गरेका बृखलालको परिवार तनहुँ लाग्यो । बृखलाल जब तन्नेरी भए कमाउन भन्दै विदेश धाए । पछिल्लो पटक उनी ब्रुनाई पुगेका थिए । उनी त्यही छँदा नेपालमा गुरुङ भाषाको चलचित्र ‘पाते’ बनेर चर्चामा आएको थियो ।
सात वर्ष ब्रुनाई बसेर घर फर्केपछि बृखलालले नेपालतिरै केही गर्ने सोच बनाए । ‘मेरो पेसा ड्राइभर थियो । ड्राइभर नै भएर बुढेस कालसम्म काम गर्न सकिन्न भन्ने लाग्यो । त्यसैले के गर्ने होला भन्ने सोच्दा सोच्दै खाजा पसल सुरु गरेँ,’ बृखलालले भने । गैंडाकोटको बाक्लो बस्ती सकिएर जंगल सुरु हुनै लाग्दा आउने ठाउँ हो, थुम्सी । घरहरू खासै नभएको सुनसान थुम्सीमा एउटा चिया पसल थियो । ट्रक रोकेर चिया खान्थे ।
बृखलालले त्यसैको आडको छाप्रोमा ‘पाते ढिँडो’ नाम राखेर २०५६ साल मंसिर १७ बाट ढिँडो बेच्न सुरु गरे । पहिलो दिन उनले एउटा कुखुरा काटेर पकाए अनि ढिँडो ओडले । ‘ढिँडो गुरुङ समुदायको मन पर्ने खाना हो । यसैलाई बेचौं भन्ने लाग्यो । एउटा कुखुरा काटे पनि बिक्री नहुने समय थियो । झन् यो ढिँडो खान को आउँछन् ? ढिँडो नबेच भन्ने साथीहरू पनि थिए,’ बृखलालले भने । तर उनले लोकल कुखुरासँग ढिँडो राख्न छुटाएनन् ।
सुरुमा उनका साथीहरूले भनेजस्तै ढिँडो भनेपछि नाक खुम्च्याउने प्रशस्तै थिए । उनलाई लाग्यो पुरानो गुरुङ शैलीले पकाएर भएन, नयाँ केही गर्नुपर्छ । उनले फरक तरिकाले पिठो बनाएर ढिँडो मस्काउन सुरु गरे । कोदो, मकै, फापरको पिठोको अलगअलग ढिँडो बनाउने या कुनै दुई मिसाएर मस्काउने र पस्कने गर्न थाले । ‘मिहिनेत गर्दै जाँदा ग्राहकलाई ढिँडो खोज्दै आउने बनाउन सात वर्ष लाग्यो,’ उनी भन्छन् ।
उनले पसल सुरु गर्दा लोकल कुखुरा ज्युँदोको ९० रुपैयाँ किलो पर्थ्यो । अहिले ७२० रुपैयाँ छ । उनको रेस्टुराँमा हाल दैनिक कम्तीमा १० किलो लोकल कुखुराको मासु खपत हुन्छ । लोकल कुखुरा मात्रै हैन, माछा र खसीको मासु पनि उत्तिकै बिक्री हुने गरेको उनले बताए । ‘पहिला साइकल मोटरसाइकल चढ्नेहरू आउँथे । अहिले भने निजी गाडीहरू पनि प्रशस्तै रोकिन्छन् । नेतामा प्रधानमन्त्री बनेकाहरूबाहेक अरू आएका छन्,’ बृखलालले भने ।
ढिँडो पारखीहरू बढेपछि ढिँडो रेस्टुरेन्टको आकार पनि फैलियो । डेढ वर्षअघि पुरानो ठाउँ थुम्सीमा ‘पाते ढिँडो एन्ड विच रिसोर्ट प्रालि’ खोलेका छन् । स्तरीय नौवटा कोठा भएको रिसोर्ट ढिँडो बेचैकै आर्जनले खोलेको उनले बताए । हाल महेन्द्र राजमार्गको नारायणगढ–बुटवल खण्ड विस्तारको काम भइरहेको छ । यो काम पूरा भएलगत्तै थुम्सीको रिसोर्टमा कोठाहरू थप्ने योजना बनाएका छन् उनले ।
‘जे कमाएँ यसैमा लगाएको छु,’ उनी भन्छन् । थुम्सीमा २२ जना कामदार छन् । सहरिया समुदायलाई पनि सेवा दिनका लागि ढिँडो र सेकुवासहित अन्य परिकार पस्कने, सेमिनार र मिटिङ हलको सुविधासहित खोलेको भरतपुर शाखामा पनि २० जनाभन्दा बढीले रोजगार पाएका छन् । भरतपुरमा ३५ जनासम्मलाई रोजगार दिने उनको लक्ष्य छ । ‘नेपाली परिकार ढिँडोले ग्राहकको मन जितेकाले यो सम्भव भएको हो,’ उनी भन्छन् ।
