दाङ, अर्घाखाँची र कपिलवस्तुका चुरे शृंखला आसपासमा पर्यापर्यटन र दिगो वन व्यवस्थापनका लागि अध्ययन अनुसन्धान गर्ने उद्देश्यले क्यामरा ट्य्रापिङ गरिएको हो । तीन दिनको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिएर फिल्डमा खटाइएका ४८ जनाले १ सय ४२ वटा क्यामरा जडान गरेका छन् ।
कपिलवस्तु — न विज्ञानमा स्नातक गरेकी लमजुङकी कृपा श्रेष्ठलाई क्यामरा ट्र्यापिङबारे जान्ने इच्छा थियो । त्यही इच्छाले उनलाई क्यामरा राख्ने काममा लागिन् । उनी अहिले दिनभरि यसैमा व्यस्त हुन्छिन् । कृपाले हालै कपिलवस्तु र अर्घाखाँची सीमाको कजरहनको घना वनमा स्वचालित क्यामरा जडान गरिन् । जीपीएस र गुगल नक्साको सहायताले क्यामरा राख्ने प्वाइन्ट पहिचान गरेपछि झारपात फाँडेर खुला ठाउँमा क्यामरा जडान गरिन् । ‘नयाँ भूगोल,’ उनले भनिन्, ‘गाह्रो भए पनि उत्साहित हुँदै क्यामरा जडान गरें ।’
पहाडकी मान्छे तराईको अनकन्टार जंगलमा बास छ । क्यामरा ट्र्यापमा राम्रा–राम्रा वन्यजन्तु परून् भन्ने पनि चाहना छ । तर वनछेउ टेन्टमा सुत्नुपर्दा डर पनि उत्तिकै छ । ‘चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरिरहेकी छु,’ उनले भनिन्, ‘पहिले आफू सुरक्षित । त्यसपछि वन्यजन्तु भनेर लागेकी छु ।’ कृपाजस्तै बर्दियाको मधुवन नगरपालिका, सूर्यपटुवाका नरेश चौधरी पनि अर्घाखाँचीको शीतगंगा नगरपालिकाको पहाडका वनपथ, बाटो, पानीका मूल र दोबाटोमा स्वचालित क्यामरा जडान गर्न व्यस्त छन् । उनी पनि प्वाइन्ट पत्ता लगाउँदै पुग्छन् । उनले ५ दिनमा १८ क्यामरा जडान गरिसकेका छन् । संरक्षणप्रति रुचि भएरै बर्दियाबाट कपिलवस्तु आएर काम गर्दा निकै उत्साहित छन् ।
बाघलगायतका स्तनधारी वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणको काम गर्न समथर फाँटदेखि पहाडका वनपथमा क्यामरा ट्र्यापिङ थालिएको छ । दाङ, अर्घाखाँची र कपिलवस्तुका चुरे शृंखला आसपासका पारिस्थितिकीय अवस्था थाहा भएर पर्यापर्यटन र दिगो वन व्यवस्थापनका काम गर्न अध्ययन अनुसन्धान गर्ने उद्देश्यले पनि क्यामरा ट्र्यापिङ गरिएको हो । डब्लूडब्लूएफको सहयोगमा तराई भूपरिधि कार्यक्रम बाँकेद्वारा तीन जिल्लामा अहिले स्वचालित क्यामरा राख्ने काम लगभग सकिएको छ । दाङको गढवा र राप्ती गाउँपालिका, अर्घाखाँचीको शीतगंगा नगरपालिका तथा कपिलवस्तुको विजयनगर गाउँपालिका, शिवराज र बुद्धभूमि नगरपालिकाको चुरे वन क्षेत्रमा क्यामरा राखिएको छ ।
हरेक दुई किलोमिटरमा एक गरेर १ सय ४२ वटा ग्रिड बनाइएका छन् । एउटा ग्रिडको बिचोबीच पर्ने गरी एउटा क्यामरा राखिएको छ । ग्रिडको बीच पर्ने गरी अक्षांश र देशान्तर दिइएको छ । जीपीएसमा त्यसैलाई फलो गर्दै उनीहरू प्वाइन्ट पत्ता लगाई क्यामरा राख्छन् । १ सय ४२ वटा क्यामरा जडान गरिएको छ । अति विकट र कठिन भौगोलिक स्थानमा पनि क्यामरा राखिएको छ । शीतगंगा नगरपालिकामा ७ नम्बर टोलीले एक दिनभरि हिँडेर एउटा क्यामरा जडान गरेका छन् । तीन वटै जिल्लाको भूभाग समेट्ने गरी ५ सय ६० स्क्वायर किलोमिटर क्षेत्रमा क्यामरा ट्र्यापिङ राखिएको छ ।
क्यामरा राखिएको क्षेत्रमा अहिलेसम्म बाघ देखिएको औपचारिक पुष्टि भएको छैन । तर, बाघ हिँड्ने करिडोर र पाइने धेरै सम्भावना भएकाले क्यामरा राखिएको तराई भूपरिधि कार्यक्रम बाँकेका प्रमुख लक्ष्मण पौड्यालले बताए । ‘यहाँबाट आउन परिणामले वन्यजन्तु र संरक्षणका लागि काम गर्न धेरै सहयोग पुग्छ,’ उनले भने, ‘बाघ नै भए त्यसलाई कसरी व्यवस्थापन गर्ने र अन्य वन्यजन्तु भए त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनाउन सकिन्छ ।’ क्यामरामा काठ, दाउरा र वन्यजन्तुको चोरीसिकार गर्नेको पनि तस्बिर आउने हुँदा चोरीतस्करी र वन्यजन्तुको अपराध गर्नेमाथि पनि निगरानी बढाउन सहयोग पुग्छ । ‘अघिल्लो वर्ष दाङमा बन्दुकसहित हिँडेको मान्छे फेला परेको थियो,’ उनले भने, ‘यस्तो अवस्थामा मान्छे पहिचान हुन्छ ।’ काठ तस्करी र चोरीसिकार गर्न नदिन के कसरी सतर्क रहने भन्ने कुरा पनि निर्देश गर्छ ।
कृपा श्रेष्ठको टोलीले क्यामरा राखेको पहिलो दिनमै कपिलवस्तुको गब्दहवा गाउँनजिकै वन क्षेत्रबाट हुँदै आवतजावत हुने मुख्य बाटोमा वयस्क चितुवाको तस्बिर खिचेपछि निकै उत्साहित बनेका छन् । ‘चितुवा हट्टाकट्टा छ,’ उनले भनिन्, ‘गाउँनजिकै साँझ साढे ७ बजे क्यामरामा चितुवा परेपछि गाउँले पनि सतर्क भएका छन् ।’ ‘जनावर र गाईहरू मारेको सुनिन्थ्यो,’ स्थानीय यज्ञ बेल्बासेले भने, ‘अब त चितुवाले मारेको ढुक्क भयौं । अब गाउँलेले सतर्कता अपनाउनुपर्छ ।’
४८ जनालाई ३ दिनको क्यामरा ट्र्यापिङबारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिएर फिल्ड पठाइएको थियो । क्यामरा ट्र्यापिङ गर्न जानेका चितवनदेखि कैलालीसम्मका वैज्ञानिक, सम्बन्धित क्षेत्रका स्थानीय र डिभिजन वनका वन रक्षक सहभागी छन् । प्रत्येक टोलीमा दुई जना वैज्ञानिक, एक स्थानीय र एक जना सम्बन्धित वन डिभिजनका कर्मचारी छन् । टोली ४० दिनसम्म वन छेउछाउ सुरक्षित स्थानमा टेन्ट राखेर बस्नेछन् । आफूले राखेका क्यामराले काम गरे/नगरेको नियमित अनुगमन गर्छन् । क्यामराको सुरक्षा अवस्था हेर्छन् ।
क्यामराबाट मेमोरी कार्ड निकालेर ओटीजी डिभाइसमार्फत मोबाइलबाट तत्कालै वन्यजन्तु परे नपरेको हेर्न सकिन्छ । तस्बिरमा मिति र समय सबै रेकर्ड आउँछ । रातमा अटोमेटिक रूपमा फ्ल्यास बलेर फोटो खिच्छ । कुन ग्रिडमा खिचियो क्यामराको सिरियल नम्बरले ठेगाना थाहा हुन्छ । यसरी उनीहरू एक/दुई दिन बिराएर अवस्था पत्ता लगाउँदै रिपोर्टिङ गर्छन् ।
बाटो, नदी खोला किनार, दोबाटो फायरलाइनमा क्यामरा राखिएका छन् । डाँडाको बाटो भन्ज्याङ, गोरेटो ट्र्याक, नुन र पानीको स्रोत भएको ठाउँमा क्यामरा राखिएको छ । यी ठाउँबाट वन्यजन्तु ओहोरदोहोर बढी गर्छन् । बाटोदेखि ४/५ मिटर दायाँबायाँ र भुइँदेखि ४५ देखि ६० सेन्टिमिटर माथि रूख वा लौरो गाडेर राखिने गरिएको छ । क्यामराको सेन्सरले हावा र तापक्रमसँग हुने परिवर्तनसँग फोटो खिच्न थाल्छ ।
क्यामरा ट्रयापिङपछिको नतिजाले वन्यजन्तुको अवस्था, वन व्यवस्थापन र संरक्षण नीति योजना बनाएर काम गर्न सहयोग पुग्ने डब्लूडब्लूएफका वाइल्डलाइफ फिल्ड बायोलोजिस्ट शशांक पौडेलले बताए । वन्यजन्तुको बासस्थान र पर्यापर्यटनको विकासका योजना बनाएर अघि बढ्न पनि सहयोग पुग्ने उनको भनाइ छ । वन्यजन्तुको अवैध चोरीसिकार तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पनि यो अध्ययनले सहयोग पुग्छ ।
गत वर्ष दारुको दक्षिणी क्षेत्रको आठ सय स्क्वायर किलोमिटरमा क्यामरा ट्र्याप गरिएको थियो । ती क्षेत्रमा पहिलो पटक बाघ क्यामरा ट्र्यापमा परेको थियो । त्यस्तै हुँडारलगायत २८ वटा स्तनधारी वन्यजन्तु क्यामरा ट्र्यापमा आएका थिए । अर्को वर्ष दाङको उत्तरी क्षेत्रका १ हजार २ सय ४० स्क्वायर किलोमिटर क्षेत्रमा क्यामरा ट्र्याप गरिने योजना छ ।
